सूचनाको शक्ति - The Power Of Information

        

खजुरा र नरैनापुरमा राहत वितरण

बाँके । बाँकेको खजुरा गाउँपालिकाले लकडाउनको कारण दैनिक चुलो बाल्न नसक्नेहरुका लागी राहत वितरण सुरु गरेको छ । गाउँपालिकाद्वारा वितरण गरिने २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल सहित वडा वडामा राहत सामाग्री पठाउन थालिएको छ ।

खजुरा गाउँपालिकामा वडा नम्बर १ देखि ८ सम्मका अति विपन्न, विपन्नहरुलाई राहत वितरण दिन सुरु गरिएको हो । १६ सय ९८ जना परिवारलाई राहत वितरण गरिने कार्यक्रम अन्तरगत आज खजुरा गाउँपालिकाले वडास्तरबाट वितरण सुरु गरेको छ ।

खजुरा गाँउपालिकाको वडा नम्बर ३, ४ र ५ वडामा यसअघि राहत पठाईसकिएको खजुरा गाउँपालिकाका सूचना अधिकारी दील बहादुर पौडेलले जानकारी दिए । यसरी हरेक वडामा पठाइने राहत सामाग्रीलाई वडा कार्यालयले छनोट गरेको घर परिवारलाई वितरण गरिने गरि प्रक्रिया मिलाइएको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बताए ।

उनका अनुसार यसरी राहतवितरण गर्दा सामाजिक दुरी कायम गर्दै एक पटकमा १० परिवारलाई वितरण गरिने गरि व्यवस्था मिलाइएको जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीका अनुसार राहत वितरणका लागी यस अघिनै राहत वितरण मापदण्ड पारित गरेको बताए ।

नरैनापुरका ६ वटै वडामा राहत वितरण शुरु

बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि राहत वितरण शुरु भएको छ । पालिकाका ६ वटै वडामा राहत वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा साबुन वितरण गरिएको खरालले बताए ।

उनका अनुसार ६ वटा वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिँदैछ । ‘६ वटै वडामा एक साथ राहत वितरण शुरु गरेका छौं, सामाजिक दूरी कायम गरेर वडा कार्यालय मार्फत् वितरण भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘देखाउनकै लागि अनावश्यकरुपमा राहत बाँडेको फोटो सामाजिक सञ्जालमा नराख्न जनप्रतिनिधी सबैलाई निर्देशन दिएको छु ।’

अध्यक्ष शाहले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुदेखि लिएर गरीब, विपन्न र असहायहरुको तथ्यांक तयार गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताए । आवश्यकता अनुसार राहत वितरणको दायरालाई फराकिलो बनाउँदै लैजाने लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १६:४०