सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : नेपालगन्जका होटेल सुनसान

बाँके । पर्यटनलाई आधार बनाएर नेपालगन्जमा खुलेका ठूला सुविधा सम्पन्न होटलको कारोबार लकडाउनपछि शून्यमा झरेको छ । नेपालगन्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधासम्पन्न होटल खुलेका छन् ।

होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेका अनुसार एक दशकयता नेपालगन्जमा पाँच, चार र तीनतारे सहितदर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । सोल्टी, स्नेहा, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन हटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको अध्यक्ष काफ्ले बताउँछन् । ‘पछिल्लो समय झण्डै रु ५ अर्ब बढी लगानीका यी होटलहरु लकडाउनका कारण थला परेको अवस्थामा पुगेका छन्,’ उनले भने ।

साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगन्जका होटल व्यवसायीलाई राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्याराबाट उम्कन नपाउँदै लकडाउनले थप कठिन मोडमा पुर्याइदिएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश ५ र यसको राजधानी बुटवल हुनुले नेपालगन्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्दै आएको थियो ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले होटल व्यवसायीको पीडामा नुन छर्कने काम गरेको अध्यक्ष काफ्लेको भनाइ छ । कर्मचारीलाई तलब खुवाउन सञ्चालकलाई सकस पर्न थालेको छ । ‘बैंकको ऋण कसरी बुझाउने पिरलो छँदैछ । सरकारलाई गुहार्नुबाहेक हामीसँग अरु विकल्प नै छैन,’ उनले भने । सरकारको बैंकको किस्ता चैतपछि बुझाउन सकिने र घरभाडा मिनाहा गर्ने निर्णय झट्ट सुन्दा व्यवसायीलाई राहत दिनेजस्तो बुझिए पनि यसको कार्यान्वयन पक्ष निकै जटिल हुने उनको ठम्याइ छ ।

नेपालगन्जका ठूला सुविधासम्पन्न होटलको मुख्य स्रोत मानिएको मानसरोवरका अधिकांश भारतीय तीर्थयात्री ट्राभल एजेन्सीमार्फत आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा अपेक्षित रुपमा लाभ लिन नसकेको अवस्था पनि यहाँका होटल व्यवसायीले भोग्दै आएका छन् । अध्यक्ष काफ्लेका अनुसार सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ मा साना, ठूला सबै प्रकृतिका होटल करिब दुई हजार हाराहारी छन् । रासस

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १६:२५