बझाङ । कोरोना संक्रमण फेलिन नदिन सरकारले पुरै देश लकडाउन गरेसँगै गाउँघरमा खाद्यान्न अभाव भएको छ । बझाङको बुंगल नगरपालिका–६ को बड्डी ज्यावनमा खाद्यान्न अभाव भएको छ । बर्षको एक बालीमात्रै उब्जनी हुने भएकाले बजारबाट ल्याएको दाल, चामल र नुनतेल पनि सकिएको छ ।
बजार पुग्न तीन घन्टा पैदल हिड्नुपर्ने र बजारमा पनि लकडाउन भएकाले पसलहरु बन्द भएपछि छाक टार्न समस्या भएको स्थानीय दिपक बोहराले बताए । २४ परिवारको बसोवास रहेको बड्डी ज्यावनमा हिमाली भेगतिर बसोवास रहेकाले गहुँ बालीमात्रै उब्जनी हुन्छ । ‘अहिले गहुँ सकियो, पसलबाट ल्याएको खाद्यान्न पनि सकियो अब खाने अन्न छैन,’ बोहराले भने ।
यता बुंगल नगरपालिकाका मेयर धनबहादुर विष्टले भने ज्याला मजदुरी गर्नेहरुको फारम संङ्कलन गर्ने कार्य भइरहेको र वडाबाट सिफारिस गरेर पठाएमा नगरपालिकाले राहतको ब्यवस्था गर्ने बताए । उनले खाद्यान्नको लागि प्रदेशमा समेत पहल गरेको र केहि दिनमै खाद्यान्न पुगेपछि बड्डी ज्यावनमा खाद्यान्न वितरण गर्ने बताए ।
सत्यराज सिंह ।