सूचनाको शक्ति - The Power Of Information

        

विवादमा तानिएपछि पत्रकारविरुद्ध कर्मचारी उक्साउँदै गाउँपालिकाका अधिकृत

बाँके । सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनकबहादुर हमाल सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । देश बिदेशबाट आएका र कोरोनाको शंका गरिएका ब्यक्तिहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा नबसे उसका लागि नेपाल सरकारले एक गोली खर्च गर्नुपर्ने भने भन्दै फेसबुकमा विवादास्पद अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका हुन् ।

शनिबार आफ्नो फेसबुकमा स्टाटसम लेखेका थिए, ‘देश बिदेशबाट आएका ब्यक्तिहरु, कोरोनाको शंका गरिएका ब्यक्तिहरु अनिवार्यरूपमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले बनाएको क्वारेन्टाइनमा बस्नैपर्ने ब्यबस्था लागु गर्नुपर्यो । यदि कसैले मान्दैन भने नेपाल सरकारले उसको लागि एक गोली खर्च गर्नुपर्ने भो । किनकी उसको कारण धेरै मानिसहरूले ज्यान गुमाउने छन् र ठुलो जनधनको क्षति हुनसक्ने सम्भावना पनि बढ्नेछ ।’

सरकारको प्रतिनिधिका हैसियतमा रहेका जिम्मेवार सरकारी अधिकृतले बिदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्नुको सट्टा गोली हान्न सुझाएको भन्दै अहिले उनको चर्को आलोचना भइरहेको छ । नाम नलेख्ने सर्तमा सत्यपाटीसँग कुरा गर्दै सिम्ताका एक जना स्थानीयले भने, ‘यस्ता अधिकृतलाई नेपाल सरकारले सरकारी सेवाबाटै बर्खास्त गर्नुपर्छ ।’ तसरकारका अधिकृतस्तरका प्रतिनिधिले जथाभावी बोल्न नहुने धेरैको सुझाव छ ।

उनले फेसबुकमा लेखेको स्टाटस भने अहिले हटाएर माफीसमेत मागिसकेका छन् । प्रमूख प्रशासकीय अधिकृत हमालले गल्ती स्वीकार गरेर माफी मागे पनि गाउँपालिकाका सूचना अधिकारी प्रकाश चन्द र कर्मचारी चन्द्रबहादुर शाही भने फेसबुकमा विवादास्पद अभिव्यक्ति दिँदै पत्रकारलाई ‘पत्रुकार’ भन्दै तथानाम लेखिरहेका छन् । नेपाल सरकारकै जिम्मेवार अधिकृतले कोरोना शंका गरिएका र क्वारेन्टाइनमा बस्न नमान्ने नागरिकलाई गोली हान्नुपर्ने भन्दै सुझाएपछि प्रमूख प्रशासकीय अधिकृत हमाललाई सरकारी सेवाबाटै बर्खास्त गर्न गाउँपालिकाबासीहरुको माग छ ।

माफी मागिसकेका प्रमूख प्रशासकीय अधिकृत हमाल सूचना अधिकारी प्रकाश चन्द र कर्मचारी चन्द्रबहादुर शाहीका कारण थप विवादित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण कार्यकारी अधिकृत हमालको माफी माग्दासमेत आलोचना भइरहेको छ । आफू मातहतका कर्मचारीले विवादलाई साम्य बनाउनुको साटो थप उछालेको भन्दै प्रमूख प्रशासकीय अधिकृतले दोहोरो भूमिकामा देखिएका छन् ।

प्रमूख प्रशासकीय अधिकृत हमालले मातहतका कर्मचारीलाई आफ्नो पक्षमा प्रयोग गर्दै पत्रकारविरुद्ध तथानाम बोल्न लगाएको गाउँपालिका स्रोतले बताएको छ । स्रोतका अनुसार चन्द र शाही गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी र प्रमूख प्रशासकीय अधिकृत हमालका विस्वास पात्र मानिन्छन् । आफुले माफी मागेर मौन बसेजस्तो गरेका प्रमूख प्रशासकीय अधिकृत हमालले पत्रकारविरुद्ध चन्द र शाहीलाई प्रयोग गरेको गाउँपालिकाका एक कर्मचारीले बताए ।

प्रमूख प्रशासकीय अधिकृत हमालको अभिव्यक्तिपछि गाउँपालिकाका कर्मचारीहरु विभाजित देखिएको स्रोतले बतायो । हमालले आफु निकटका कर्मचारीलाई पत्रकारका विरुद्धमा लाग्न उक्साहट गरेकै कारण चन्द र शाहीले सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिएको गाउँपालिका स्रोतको दावी छ । प्रमूख प्रशासकीय अधिकृत हमालले भने पत्रकारका विरुद्धमा लाग्न उक्साहट गरेको भन्ने आरोप अस्वीकार गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनीक भवन निर्माण गर्दा तोकिएको स्थानभन्दा बाहिरको भूभागमा अनावश्यक डोजर चलाएर आर्थिक हिनामिना गरेको भन्ने उजुरीका आधारमा गाउँपालिकालाई पत्रसमेत काटेको थियो । अहिले सो विषयमा अनुसन्धान भइरहेको समेत अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १०:०८