सूचनाको शक्ति - The Power Of Information

        

कोरोना ‘लकडाउन’ : बसुदिदीलाई प्रदिपको पत्र

आदरणीय दिदी,

दयाकी प्रतिमूर्ति बसुन्धरा भुसाल ज्यू,

सप्रेम नमस्कार…

अहिले विश्व कोरोना भाइरसको महामारीबाट अक्रान्त छ र सबै त्रसित छन् । यो अवस्थाबाट नेपाल पनि अछुतो रहन सकेन । जसले गर्दा धेरै दिनदेखि नेपाल लकडाउनको स्थितिमा छ । लकडाउनले गर्दा सम्पूर्ण क्षेत्र ठप्प छ । चलचित्र पनि ठप्प रहेको अवस्था छ । चलचित्र क्षेत्र ठप्प रहँदा विशेषगरी न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने चलचित्र क्षेत्रका प्राविधिकहरू निक्कै मारमा छन् ।

अहिलेको अवस्था हेर्दा लकडाउन अझै बढ्ने देखिन्छ र त्यो अवस्थामा ति प्राविधिकहरूको अवस्था झन नाजुक बन्दै जानेमा कुनै शंका छैन । तथापी ति प्राविधिकहरूलाई व्यक्तिगतरूपमा सकेको सहयोग गर्ने प्रतिवद्वता चलचित्रकर्मीहरूले गरिरहनुभएको छ । तपाई यस्तो व्यक्तित्व हुनुहुन्छ, जसले सदैव चलचित्रकर्मीहरूको सहयोगमा अग्रपंक्तिमा रहनुभएको छ । जसको जति वर्णन गरे पनि कम हुन्छ ।

अहिले तपाई चलचित्र विकास बोर्डको चलचित्रकर्मी कोषको अध्यक्षजस्तो गरिमामय पदमा हुनुहुन्छ । त्यो कोष तपाईजस्तो सक्रिय र मानवताले भरिपूर्ण व्यक्तिको नेतृत्वमा भएको कारणले नै कोषमा बृद्वि हुँदै गएको हो । मैले महसुस गरेको छु, कतै पनि लाज नमानी जोसँग पनि कोषको लागी हात फैलाउनु भएको र त्यो कुनै आफ्नो लागी नभई चलचित्रकर्मीलाई अप्ठेरो परेको वेला सहयोग गर्नलाई हो । तपाईले गर्नुभएको यो कार्यप्रति नमन गर्न चाहन्छु ।

दिदी, अहिले समस्त न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरू अप्ठेरोमा परेको छ । दिदीबाट धेरैले आशा गर्नुभएको छ । यो अवस्थामा सहयोग गर्नेहरूबाटै आशा गर्ने हो । तपाई हरेक दुखीहरूको आशाको किरण हुनुहुन्छ । त्यसैले पनि तपाईमा आशा देखेका छन् । यो अवस्थामा तपाईको विशेष पहलमा स्थापित चलचित्रकर्मी कल्याणकारी कोषबाट ति अप्ठेरोमा परेको प्राविधिकहरूलाई सहयोग प्राप्त भयो भने यो अवस्थामा दैनिक गुजारामा सहज हुनेथियो र आफु चलचित्र क्षेत्रमा लागेकोमा गौरवान्वित हुने थिए र आगामी दिनमा अझै मेहनतका साथ चलचित्र क्षेत्रमा योगदान दिनेछन् ।

अन्यथा फेरि यो क्षेत्रमा नआउने सम्भावना रहन सक्दछ । जसले गर्दा चलचित्र क्षेत्रले ठुलो क्षति व्यहोर्नुपर्ने निश्चित छ । चलचित्रकर्मी कल्याण कोष चलचित्रकर्मीहरूको सहयोगको लागि नै स्थापित भएको हो जस्तो लाग्दछ । चलचित्रकर्मीहरू बिपत्तमा पर्दा नै यो कोषको आवश्कता पर्ने हो । तसर्थ अहिले न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरू अप्ठेरो परेको बेला चलचित्रकर्मी कल्याणकारी कोषबाट ति प्राविधिकहरूलाई दैनिक गुजाराको व्यवस्था गरिदिन हुन अनुरोध गर्दछु ।

मौकामा हिरा फोड्नुपर्छ भनेझैं अति नै आवश्यकतामा रहेको ति प्रविधिकहरूलाई त्यो कोष परिचालन गर्नु आवश्यकता हो । अन्यथा यो कोषप्रति नै ति प्राविधिकको आशा एवम् विश्वास गुम्नेछ । आशा एवम् विश्वास छ, दयाकी प्रतिमूर्ति बसुदिदीको सकारात्मक पहल हुनेछ । दिदी, भाईले गनगन गर्यो नभन्नु होला । चलचित्रकर्मी कल्याणकारी कोषप्रति बिश्वास होस् भन्ने मेरो विशेष उद्देश्य हो । र अन्त्यमा कोरोना भाइरसदेखि सुरक्षित रहनुहोला भन्ने अनुरोध गर्दछु । धन्यवाद ।।

तपाईको प्यारो भाई
प्रदिपकुमार उदय

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतवार १७:४३