सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बढ्दैछन् स्वयंसेवी रक्तदाता

बाँके । कोरोना भाइरसका कारण देश लकडाउन छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै बढेको त्रासका कारण बाँकेमा रगत अभाव हुँदै गएको छ । कोरोनाको त्राससँगै संस्थागतरुपमा रक्तदानका कार्यक्रमहरु आयोजना नहुँदा पछिल्लो समय बाँकेमा रगत अभाव हुँदै गएको हो । अहिले रगत अभावलाई पूर्ति गर्न स्वयंसेवी रक्तदाताको संख्या दैनिकजसो बढिरहेको छ ।

संस्थागतरुपमा रक्तदानका कार्यक्रमहरु आयोजना नहुँदा जिल्लामा रगत संकलन कम हुँदै गएपछि रक्तदान गर्ने स्वयंसेवी रक्तदाताको संख्या बढ्दै गएकोले केही सहज भएको नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमूख उपेन्द्र रेग्मीले बताउनुभयो । रगत अभाव हुन नदिन कोरोना र लकडाउनको जोखिम मोलेरै रक्तदाताहरु आइरहेका छन् ।

लकडाउन र कोरोना भाइरसको सन्त्रासका कारण नियमित रगतदाताले समेत रक्तदान नगरेकाले रगत अभाव देखिन थालेको छ । रगत अभावबाट सिर्जना हुने समस्या समाधानका लागि रगत दान गर्नुको विकल्प नभएको केन्द्रका प्रमुख रेग्मीको भनाई छ । लकडाउन सुरु भएपछि संस्थागतरुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो ।

‘निगरानी समुह’ बाँकेको पहलमा नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव एवं सत्यपाटी पब्लिकेशनका अध्यक्ष काशीराम शर्मा र निगरानी समुहका अध्यक्ष एवं सद्भाव दैनिकका कार्यकारी सम्पादक कमल न्यौपानेले रगत अभाव हुन नदिन सव्यंसेवी रक्तदाताहरुलाई रक्तदानका लागि आह्वान गर्दै तीन दिनदेखि सक्रियरुपमा लागिपरेका छन् ।

पत्रकारद्वयको सक्रियतामा तीन दिनमा दुई दर्जन बढीले रक्तदान गरिसकेका छन् । रक्तसञ्चार केन्द्रमा देखिएको रगत अभाव कम गर्ने उद्देश्यले स्वयंसेवी रक्तदाताहरुलाई आव्हान गरेर रक्तदानका लागि प्रेरित गरिरहेको निगरानी समुहका अध्यक्ष न्यौपानेले बताए । पत्रकारद्वयले रक्तदाताहरुलाई रक्तसञ्चार केन्द्रमा पुर्याएर रक्तदानमा सहयोग गरिरहेको बताए ।

‘हामीले निरन्तर आह्वान गरिरहेका छौं, लकडाउनको अवस्था सामान्य नहुँदासम्म स्वयंसेवी रक्तदाता खोजेर रक्तदानमा सहयोग गर्छौ,’ पत्रकारद्वयले भने, ‘बाँकेमा रगत अभाव हुन नदिन कोरोना र लकडाउनको जोखिम मोलेरै रक्तदाताहरु आइरहनुभएको छ । आज तेस्रो दिनसम्म दुई दर्जन बढीले रक्तदान गरिसक्नुभएको छ ।’

कोरोना संक्रमणका कारण सरकारले लकडाउन र बाँके प्रशासनले जनता कफ्र्यू जारी राखेको अवस्थामा पनि ती युवाहरु रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गरेको निगरानी समूह अध्यक्ष न्यौपानेको भनाई रहेको छ । ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रहरी सहायक निरिक्षक यज्ञराज पन्तले रगत अभाव भइरहेको बेला रगत दान गरेर मानवीय सेवामा लाग्न आग्रह गरे ।

रक्तदाता जुना पौडेलले स्वास्थ्य जोखिमको घडीमा रगत आवश्यक पर्ने भएकाले ब्यक्तिगत तथा संस्थागत नियमित रक्तदाताले रगत दान गर्न जोड दिइन् । कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै उनले बाँकेमा देखिएको रगत अभाव कम गर्नका लागि रक्तदान गर्न सबैलाई आग्रह गरिन् ।

संस्थागत रक्तदान नभएपछि रक्तसञ्चार केन्द्रले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको छ । यतिबेला केन्द्रमा इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखिएको रक्त प्राविधिक सुनिता कुमाल श्रेष्ठ बताउँछिन् । उनले जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था रहेको बताइन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १५:४९