बाँके । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ । कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।
मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् ।
https://www.facebook.com/mohpnep/posts/865720930583094
आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए । नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।
यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको भने यो पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले भने, ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो ।’
‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’ कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले बताएका छन् । यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए ।
सत्यपाटी ।