बाँके । कोरोना भाइरसका कारण देश लकडाउन छ । देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ । जिल्लामै रगतको अभाव देखिएपछि यतिबेला नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताको संख्या बढ्दै गएको छ ।
‘निगरानी समुह’ बाँकेको पहलमा रक्तसञ्चार केन्द्रमा देखिएको रगत अभाव कम गर्ने उद्देश्यले स्वयंसेवी रक्तदाताहरुलाई आव्हान गरेर रक्तदानका लागि प्रेरित गरिरहेको छ । निगरानी समुहका अध्यक्ष कमल न्यौपानेले अनौपचारिकरुपमा रक्तदाताहरुलाई रक्तसञ्चार केन्द्रमा पुर्याएर रक्तदानमा सहयोग गरिरहेको बताए ।
‘हामीले निरन्तर आह्वान गरिरहेका छौं, लकडाउनको अवस्था सामान्य नहुँदासम्म स्वयंसेवी रक्तदाता खोजेर रक्तदानमा सहयोग गर्छौ, निगरानी समुहका महासचिव काशीराम शर्माले भने । उनका अनुसार बाँकेमा रगत अभाव हुन नदिन कोरोना र लकडाउनको जोखिम मोलेरै रक्तदाताहरु आइरहेका छन् । दुई दिनमा दर्जन बढीले रक्तदान गरिसकेका छन् ।
कोरोना संक्रमणका कारण सरकारले लकडाउन र बाँके प्रशासनले जनता कफ्र्यू जारी राखेको अवस्थामा पनि ती युवाहरु रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गरेको निगरानी समूह बाँकेका अध्यक्ष कमल न्यौपाने बताउँछन् । रक्तदाता ऋषिराज देवकोटाले रगत अभाव भइरहेको बेला रगत दान गरेर मानवीय सेवामा लाग्न आग्रह गरे ।
उनले स्वास्थ्य जोखिमको घडीमा रगत आवश्यक पर्ने भएकाले ब्यक्तिगत तथा संस्थागत नियमित रक्तदाताले रगत दान गर्न जोड दिए । कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै रक्तदाता अनिल आचार्यले बाँकेमा देखिएको रगत अभाव कम गर्नका लागि रक्तदान गर्न आम नागरिकलाई अपील गरे ।
लकडाउन र कोरोना भाइरसको सन्त्रासका कारण नियमित रगतदाताले समेत रक्तदान नगरेकाले रगत अभाव देखिन थालेको छ । रगत अभावबाट सिर्जना हुने समस्या समाधानका लागि रगत दान गर्नुको विकल्प नभएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मी बताउँछन् । लकडाउन सुरु भएपछि संस्थागतरुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो ।
रेग्मीका अनुसार संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको छ । यतिबेला रक्त सञ्चार केन्द्रमा इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखिएको रक्त प्राविधिक सुनिता कुमाल श्रेष्ठ बताउँछिन् । उनले जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था रहेको बताइन् ।
सत्यपाटी ।