
बाँके । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संघीय सरकारले देशभर लकडाउन गरेको छ । दुई सातादेखि बाँके प्रशासनले जनता कफ्र्यु लगाएको छ । तर, सरकारकै निर्देशन प्रस्तावित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अनुगमनका नाममा भीडभाड उल्लंघन गरिरहेका छन् ।
सामाजिक विकास मन्त्री बरालले लकडाउन मात्रै होइन कोरोना भाइरसबाट बच्न सरकारले लागु गरेको सामाजिक दूरीको खुलारुपमै धजिया उडाएका छन् । बाँकेको खजुरा गाँउपालिकास्थित क्यान्सर अस्पतालमा रहेको आइसुलेसन वार्ड अनुगमन गर्ने नाममा सरकारको निर्देशन मन्त्री लगायत सरोकारवालाहरुद्वारा उल्लंघन गरिएको हो ।
कोरोना भाइरसको जोखिमले देशमात्र नभइ विश्वनै संकटमा परेको अवस्थामा लावालस्करसहित भीड जम्मा गर्दै सरकारकै उच्च पदस्थ ब्यक्तिले सरकारद्वारा जारी निर्देशन र व्यवस्थालाई खुलेआम चुनौति दिएका छन् । सकारले कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गर्दै २५ जनाभन्दा बढि भेला हुन नपाउने ब्यवस्था गरेको छ ।
तर, सामाजिक विकासमन्त्री बरालले बाँकेको खजुरामा रहेको क्यान्सर अस्पताल र भेरीमा निर्मित आइसुलेसन वार्डको अनुगमन गर्ने क्रममा केन्द्र सरकारकै निर्णयलाई चुनौति दिँदै उल्लंघन गरेका छन् । प्रदेशकै सामाजिक विकास मन्त्री सामाजिक दूरी कायम गराउदै समाजलाई कोरोनाजस्तो महामारिबाट बचाउनुपर्नेमा आफै समाजप्रति गैरजिम्मेवार हुँदै समाजमा कोरोना भाइरसको जोखिम फैलाइरहेका छन् ।
सामाजिक दूरी कायम गर्न नसक्ने प्रदेशका सामाजिक विकास मन्त्रीको यस्तो कार्यले सरकारले कोरोनाबाट बच्न गरेको प्रण र प्रयासहरु बालुवामा पानि हालेसरह भएको छ । सामाजिक दूरीविना क्यान्सर अस्पतालभित्र गरिएको कार्यक्रममा ५० भन्दा बढिको सहभागिता थियो । जहाँ मन्त्रीसँगै खजुरा गाँउपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाँउपालिका प्रमुखदेखि जिल्लास्थित उच्च पदस्थ तथा मन्त्रीसँगै आएको टोलीले भरिभराउ थियो ।

अनुगमनका नाममा सामाजिक दूरी नै कायम नगरेको भन्दै यतिबेला मन्त्री बराल तथा कार्यक्रममा उपस्थित ब्यक्तिको आलोचना भइरहेको छ । शक्ति र सत्ताका आडमा चर्चा बटुल्न पछि नहट्ने गैरजिम्मेवार मन्त्रीलाई सामाजिक बहिस्कार गर्नुपर्ने खजुराका मनोज थापाले बताए । उनले भने, ‘कोरोनाको संक्रमणका अवस्थामा पनि लावालस्करसहित अस्पताल पुगेका मन्त्रीले आफ्नै सरकारको निर्देशन पालना गर्दैनन् भने आमनागरिकले कसरी पालना गरुन् ?’
यस्तै खजुरा गाँउपालिकाका स्थानीय केदार खनालले कोरोना र सरकारको निर्देशन तल्लो तह, ज्यालामजदुरी गर्ने ब्यक्तिलाई मात्र रहेछ, यस्ता उच्च पदस्थलाई लाग्दो रहनेछ । त्यही प्रष्ट देखिएको बताए । ‘संक्रमणको जोखिममा मन्त्रीले यसरी भिडभाड गराएर के सावित गर्न खोजेका हुन् ? यस्ता पनि सामाजिक विकास मन्त्री जो सामाजिक दूरी नै उल्लंघन गर्छन्,’ कडा प्रतिक्रिया दिँदै खनालले भने, ‘निर्देशन दिने ब्यक्तिलाई कोरोना लाग्दोरैनछ ।’
‘कोरोना भाइरस संक्रमणका बीच अनुगमनका नाममा अनावश्यक भीड जम्मा गर्दै मन्त्री बरालले के सावित गर्न खोजेका हुन् ?’ खजुराका ऋषि पोखरेलले प्रश्न गर्दै भने, ‘मन्त्री बराललाई कानून लाग्दैन, कोरोनाको संक्रमण उनलाई हुँदैन ? उनको यो गैरजिम्मेवारी र लापरबाहीबाट यदि कसैमा कोरोना संक्रमण भयो भने सजायका भागेदार मन्त्री नै हुनुपर्छ ।’ सरकारकै निर्देशन पालना गराउनुपर्ने अवस्थामा आफै उल्लंघन गर्दै हिँडेका मन्त्री बराललाई कारबाही गरिनुपर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् ।
उक्त अनुगमनमा उनीसँगै प्रदेश सासंद कृष्णा केसी ‘नमुना’, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगर, भेरी अस्पतालका मेसु प्रकाश थापा, खजुरा गाँउपालिकाका प्रमुख किस्मत कक्षपति लगायतको पनि स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो । मन्त्रीसँगै उपस्थित भएका कसैले पनि सरकारको लकडाउन र सामाजिक दूरीको पालन गरेका छैनन् ।

मन्त्री बरालद्वारा भेरी र क्यान्सर अस्पतालको अनुगमन
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालको अनुगमन गरेका छन् । भेरी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गर्ने स्वास्थ्य उपकरण पोर्टेबल आरटी पिसिआर राखिने भए पनि त्यसको पूर्वतयारीका लागि मन्त्री बरालले अनुगमन गरेका हुन् । पिसिआर मेसिन राख्ने ठाउँको अनुगमन गर्दै मन्त्री बरालले अस्पताल र मेसिनका बारेमा जानकारी लिएका छन् ।
मेसिनका बारे जानकारी दिँदै भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले द्रुतगतिमा काम भइरहेको र अबको एक हप्ताभित्रमा पिसिआर मेसिनबाट काम शुरु गर्ने गरी तयारी गरिएको बताए । कोरोना भाइरस परिक्षण गर्ने स्वास्थ्य पिसिआर मेसिन लगायतका स्वास्थ्य सामाग्री आपूर्तिका लागि कोटेशन माग गर्दै तीन दिनको सूचना प्रकाशित गरिएको र तीनवटा कम्पनीको कोटेशन प्राप्त भएको डा.थापाले बताए ।
भेरी अस्पतालमा कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफैं खर्च बेहोर्ने निर्णय गरिसकेको छ । मन्त्री बरालले आजै (शनिबार) खजुरामा रहेको क्यान्सर अस्पतालको पनि अनुगमन गरेका छन् । प्रदेश सरकारले खजुरा क्यान्सर अस्पताललाई पूर्ण आइसोलेसन अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ । मन्त्री वरालसँगै प्रदेश सांसद कृष्ण केसी ‘नमुना’, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, भेरी अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ लगायत भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालको तयारी र ब्यवस्थापनको अनुगमन गरेका थिए ।
सत्यपाटी ।