बाँके । कोरोना भाइरसको जोखिम हुन नदिन अहिले सिङ्गो देश लकडाउनमा छ । लकडाउनको फाइदा उठाउँदै लागुऔषध तस्करहरु भने सक्रिय भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सबै निकायहरु सक्रिय भइरहेका बेला लागुऔषध तस्करहरु सक्रिय भएका हुन् ।
लकडाउनको फाइदा उठाउँदै तस्कर लागुऔषध ओसारपसार तथा कारोबारमा सक्रिय एक जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि लागुऔषध तस्करहरुको सक्रियता खुलेको छ । लकडाउनको फाइदा उठाउँदै प्रशासन तथा प्रहरीको आँखा छलेर भातरबाट नेपाल ल्याउँदै गरेको कोरेक्ससहित एकजनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
बाँकेको नेपाल–भारत सीमानाका डुडुवा गाउँपालिका–६, हिरमिनियास्थित ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शुक्रबार बेलुका प्रतिबन्धित लागुऔषध कोरेक्ससहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२० राँझाका २० वर्षिय दिलिप बर्मा रहेका छन् ।
उनका साथबाट ९६ बोतल (९ लिटर ६०० मिलिलिटर) कोरेक्स नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । भारतबाट नेपालतर्फ आउँदै गरेका बर्मालाई चेकजाँचका क्रममा लुकाइछिपाई ल्याएको ९६ बोतल कोरेक्ससहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।
सत्यपाटी ।