पहाडी भेग र दुर्गममा त ठिक छ, सकभर आफै नभए चिनेको मान्छेले उब्जाएको तरकारी खान पाइन्छ । तर काठमाडौं, तराई र सिमाक्षेत्रका सहरी बासिन्दाले बजारकै फलफुल र तरकारी खानुपर्छ, बाध्यता छ । फलफुल त केहीदिन नखाई बस्न सकिएला तर तरकारी त दिनहुँजसो खानैपर्छ । यसरी बजारबाट ल्याइने अधिकतम तरकारी सिमापारीकै हुन्छ, टिपेर प्याकेजिङ गर्दादेखि बिक्रीवितरण गर्दासम्म धेरै जनाको हात परेको हुन्छ र संक्रमित हुने सम्भावना रहन्छ ।
यसलाई काँचो खान त झनै जोखिम हुन्छ । फलफुल तरकारीमा मान्छेलाई हानी गर्ने भाइरस त हुँदैनन् भनिन्छ तर हातबाट सरेका भाइरस जिवित रहने र सम्पर्कमा आउनेलाई सर्ने अवस्था रहन्छ । यस्तो जोखिम कम गर्न अलिकति ध्यान दिनुपर्छ । यसलाई घाममा सुकाउने, उमालेर खाने र निर्मलीकरण (डिसइन्फेक्ट) गर्न सकिन्छ । संसारमै निर्मलीकरणको प्रमुख स्रोत घामको किरण मानिन्छ, तर बढी समय लाग्ने हुदा सबैलाई उपयुक्त नहुन सक्छ ।
तसर्थ बजारबाट फलफूल तरकारी ल्याउँदा ल्याउँदै हात र फलफूल तरकारी दुबै थोरै फिटकिरी, क्लोरिन (बिलिचिङ) या साबुन, स्पिरिट, अल्कोहल जे मिल्छ त्यसमा हालेर धुने, यस्तो पानीमा १०–१५ मिनेट डुबाउने गर्दा भाइरस करिब सबैजसो निष्क्रिय हुन्छ भन्ने कुरा आएको छ । बगेको पानी या प्रयाप्त पानीमा धुदा किटाणु या विषाणु निष्क्रिय हुन्छ र खानको लागि सुरक्षीत हुन्छ । यसरी सफा गरि फलफूल तरकारी खादा जोखिम कम हुने कुरा विज्ञान सम्मत हो, सबैले मान्दा राम्रो हुन्छ । सफा तरकारी स्वस्थ पनि हुन्छ ।
बिष्णु पोखरेल ।