
सम्माननीय प्रधानमन्त्रीज्यु,
सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै सिध्र स्वास्थलाभ कामना गर्दछु ।
विश्वब्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसंग जुध्न यतिबेला अन्य सबै राजनैतिक विमती थाती राखेर हामी यहाँको साथमा उभिएका छौं । र , सरकारमा संगै नरहेर पनि संगै लड्न सकिन्छझ भन्ने संस्कार साथ यो संकटको घडी सरकारलाई साथ दिन सबै दल,संस्था र समुदायलाई अपील गरिरहेका छौं । प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको म प्रस्ट्याउन चाहन्छु ।
ढिलासुस्ती, लापरबाही, अनियमितता र भ्रष्टाचारलाई पनि समर्थन गर्नु चाहिँ होइन । बरु सबै कमजोरीबारे प्रश्न उठाएर, तिनको निदान खोज्न घच्घच्याएर फेरिपनी सघाउनु संकटमुक्ती प्रतिको इमानदारीता हो । हाम्रो आग्रह छ यो प्रकरणमा चिनको सफलता एवं इटली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिउं । हामी थप चुक्यौं भने भीषण स्थिति ब्यहोर्नेछौं, सहि ढंगले जुट्यौं भने नेपाल र नेपालीको रक्षा गर्न समर्थ हुनेछौं । थोकमा मृत्यु हेर्ने कि एकएकलाई जोगाउने ? यो यक्ष प्रश्न इतिहासकै सबैभन्दा गम्भीर प्रश्न बन्न पुगेको छ ।
प्रधानमन्त्रीज्यु,
उपप्रधानमन्त्रीको नेतृत्वमा जारी अभियानले यथासक्य प्रयत्न निस्चय नै गरिरहेको छ । हामी त्यसलाई प्रोत्साहित गरिरहेकै छौं तर यस्तो संकटको घडी हरेक कदमको समिक्षा हरेक दिन गर्न एवं बिज्ञ र आफू बाहिरको मत निरन्तर आत्मसात गर्न अत्यावश्यक हुन्छ ।
हाम्रो आग्रह छ लक डाउनको दोस्रो चरणको यो घडी हालसम्मको प्रगति र कमजोरीको वस्तुनिस्ठ समिक्षा गरौं, कमजोरी अन्त्य गरौं र अब पछिल्लो कदम निकै ब्यवस्थित र प्रभावकारी ढंगले अघि बढाऔं । यो संक्षिप्त पत्रमा पृष्ठभुमि देखि समग्र विश्लेषणमा म जान चाहन्न ितत्कालीन परिस्थिति,प्रश्न र चुनौती बारे आम नेपालीको भावना प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट यहाँको ध्यानाकर्षण गराउन चाहन्छु ।
समिक्षा १ – परिक्षण र उपचारमा गम्भीर लापरबाही
१. परिक्षण, परिक्षण र परिक्षणका लागि विश्व स्वास्थ संगठनले जोड दिएको छ । तर अझै पनि ७ प्रदेशको कम्तिमा ७ ठाउँमा परिक्षण गर्न सक्ने गरि क्षमता विस्तार गरिएको छैन । संक्रमण फैलनबाट रोक्न परिक्षणको व्यापक दायरा विस्तार गर्नैपर्ने बिषयमा यतिका समयसम्म प्रगति नहुनुलाई गम्भीरतापुर्वक लिएर प्रदेश हुँदै सबै जिल्लामा विस्तार गर्न यहाँबाट तत्काल परिणाममुखी पहलको अपेक्षा छ ।
२. हालसम्म पांच नेपालीमा कोरोना संक्रमण देखिएको मध्ये एक स्वस्थ भएर फर्किए भने चार उपचाररत छन् । तर उनीहरुको परिवारका सदस्यको परिक्षण गर्न सरकारको सम्बन्धित निकायले थाहा छैन कुन साइतको प्रतीक्षा गरेको छ । उनीहरुसंगै हवाई या सडक यात्रा या घुलमिल गरेका अन्य नागरिकको खोजविन शुरु गरियो तर परिक्षणको दायरामा ल्याइएको छैन । समुदायमा कोरोना फैलन छुट दिएझैं स्थिति हो यो । यहाँको जानकारीमा यो बिषयको गम्भीरता पुगेको छ कि छैन ?
३. यसबीचमा उपत्यका र बाहिरका अस्पतालमा केही बिरामीमा कोरोना आशंका गरियो, मृत्यु पश्चात् मात्रै परिक्षणको रिपोर्ट आयो । बुटवलको एक अस्पतालमा लास उठेन,बिराटनगरमा चार अस्पताल दौडाउंदा दौडाउंदै एक महिलाको मृत्युु भयो । कोरोनाबाहेक अन्य रोगले पनि मृत्यु हुन्छ, तर सुरक्षीतरुपले परिक्षण गर्न पीपीई नपाउँदा कयौं ठाउँमा कोरोनाको सन्त्रासले बिरामी हेर्न स्वास्थकर्मी हच्केका छन् । प्रधानमन्त्रीकै जिल्लामा चार बर्षे बालकको ज्वरो जचाँउन जांदा एक अस्पतालको गेटबाटै अभिभावक फर्काइए । यस्तो स्थिति समाधान गर्न यहाँको ध्यान तत्काल जान जरुरी भएको छ ।
४. यसबीचमा विदेशबाट जति नेपाली आए, तीमध्ये थोरैमात्र क्वारेन्टाइनमा छन् । बांकी कहाँ छन्, सरकारसँग तथ्यांकसम्म छैन । क्वारेन्टाइन, परिक्षण र उपचारको ब्यवस्थित कार्ययोजना कठोरतापूर्वक कार्यान्वयन गरेर समुदायलाई आश्वस्त राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।
समिक्षा २ – लज्जास्पद अभाव र अनियमितताको प्रश्न
५. कोरोना भाइरस प्राणघातक रहेको सूचना विश्वब्यापी भएको चार महिना पुगिसक्दापनि पीपिइ,परिक्षण कीट,भेन्टिलेटर लगायत अत्यावश्यक सामग्रीको पर्याप्त जोहो नगरिनु सरकारको गैह्रजिम्मेवारी थियो । यो प्रकरणको चार गल्ती क्रमशः स्मरण गराउन चाहन्छु ।
क) समयमै सामग्री आयातको योजना, तयारी र प्रक्रिया नथाल्नु ।
ख) लक डाउनमा पुगेपछि आकस्मिक रुपले खरिद योजना बनाउंदा आवश्यक पारदर्शी प्रक्रिया अवलम्बन नगरिनु ।
ग) बजार मूल्यभन्दा अत्यधिक रकम निकासा गराएर राज्यकोषको दुरुपयोग गरिनु ।
घ) विश्व स्वास्थ संगठनको मापदण्ड बाहिरका कतिपय कमसल सामग्री खरिद गरिनु ।
सम्माननीय प्रधानमन्त्रीज्यु,
हामी यतिबेला यहाँको नेतृत्वमा आजको संकटबाट पार पाउन हरसंभव साथ दिन तत्पर रहेका छौं । सरकार ,प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रती नागरिकको असन्तोषलाई न्यून गर्ने अवसरपनि हो । तर नागरिक पंक्तिबाट जब ञकात्रोमा पनि कमिसन ? भनेर प्रश्न आउँछ, तब हामी नाजवाफ बन्छौं । प्रधानमन्त्रीज्यु समक्ष दुई विकल्प रहेकोे म सुझाउन चाहन्छु । एक, ढाकछोप गर्ने र त्यसको छिटा ब्यहोर्ने, दुई सिंगो देशको आग्रह सुनेर निस्चित आरोपीहरुलाई पदमुक्त गर्दै अनुसन्धानलाई सघाउने ।
समिक्षा ३ – राहत अपर्याप्त, प्याकेजमा उदार बनौं
६. सरकारले ल्याएको राहतको प्याकेजलाई सकारात्मकरूपमा लिंदै त्यो अपर्याप्त रहेकोे ध्यानाकर्षण हामीले गरिसकेका छौं । प्रधानमन्त्रीज्यु हरेक बर्ष असार मसान्तमा हामीले फ्रीज हुन लागेको बजेट कनिका झैं छर्ने गरेका छौं, यसपालि त्यो नछरौं । अहिले नागरिक जोगाऔं, पछि पुल हालौंला, बाटो बनाऔंला । ज्यालादारी श्रमिककोमा राहत पुर्याउने तीब्रतामा ध्यान पुगोस् । रोजगार कार्यक्रमका नाममा अघिल्लो बर्ष पानी बगायौं हामीले, अहिले बेरोजगार एवं शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहतको योजनातर्फ त्यो कार्यक्रमलाई किन नमोड्ने ?
७. तेर्हेयाउन चाहन्छौं ब्यवसायीहरुको बैंक ब्याज घटाएर राहत अनुभूति गराउन सरकार किन गम्भीर नभएको ? प्रधानमन्त्रीज्युको निर्देशन सम्बन्धित मन्त्रालयलाई जाओस् । २० लाखसम्म ऋण लिएका साना ब्यवसायिको हकमा ३ महिनासम्मको ब्याज समेत मिनाहा गरियोस् । आज यिनलाई जोगाए भोलिको अर्थतन्त्र यिनैले उठाउने छन् प्रधानमन्त्रीज्यु ।
८. छापा माध्यम क्रमशः बन्द हुंदैछन्, ब्यवसाय चौपट भएपछि रेडियो, टिभी र अनलाइन पनि बिज्ञापन न्युनता हुँदै शुन्यताको मारमा पर्नेछन् । श्रमजीवी पत्रकारको चुल्हो क्रमशः लक्ड हुन सक्छ लकडाउन लम्बिए । राज्यको चौथो अंगलाई बचाउन लोकतान्त्रिक संविधान भएको मुलुकमा गम्भीर ध्यान पुग्नुपर्यो ।
प्रधानमन्त्रीज्यु, अनि ‘काठमाण्डौंप्रेस’माथि प्रधानमन्त्रीकै निकटस्थको साइबर अपराधलाई अनुसन्धान र कार्वाहीको दायरामा सुम्पन जरूरी आग्रह म यसैमा गाँस्न चाहन्छु ।
समिक्षा ४ – नेपाली डायस्पोरा बारे सोचौं
९. नेपाल बाहिर पनि अर्को नेपाल छ प्रधानमन्त्रीज्यु, चालिस लाखको संख्यामा फैलिएको । हिजो निरन्तर रेमिटेन्स पठाएर देशको अर्थतन्त्र जोगाउने त्यो डायस्पोरालाई आज देशै संकटमा छ भनेर भुल्न मिल्दैन ।
क) अरु देशले आफ्ना नागरिक लगे र लगिरहेका छन् नेपालबाट । परदेशबाट घर फर्कन हाम्रा जो चाहन्छन् तिनलाई देशले ल्याउन सक्दिन भन्नुहुन्न । सोचौं, परामर्श गरौं र धैर्यसाथ आवश्यक निर्णयमा पुगौं ।
ख) सिमानामा आइपुगेर नारा लगाइरहेका अनुहार हेर्नोस् प्रधानमन्त्रीज्यु उनीहरु हिजो मत दिन आएका थिए, तपाईंलाई प्रधानमन्त्री बनाएर फर्किएका थिए, दशैंमा आउन कतिले सकेनन्, कोरोना संकटमा आउँदा देश छिर्न सकेनन् । अलिअघिसम्म हजारौंलाई अव्यवस्थित ढंगले प्रवेश गराएका थियौं, आज सानो संख्यामा सिमानामा आइपुगेका नेपालीलाई ब्यवस्थितरुपले प्रवेश गराउने दायित्व देशको हो ।
संकटमा परदेशीलाई त सेवा पुर्याउनुपर्छ भने संकटमा आफ्नो देशमा शरण नपाउनु भन्दा ठूलो अन्याय के हुन सक्दछ । अत्यन्तै कारुणिक यो यथार्थप्रति प्रधानमन्त्रीज्युको गम्भीर ध्यानाकर्षण गराउँदछु । हामी फेरि पनि यो संकटमा यहाँको साथमा छौं, दृढ ढंगले परिस्थितिको नेतृत्व गर्न यहाँलाई प्रतिपक्षी दलको हरसम्भव साथ र सहयोग रहनेछ । जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता, नेपाली काँग्रेस
विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली काँग्रेस ।