
काठमाडौं । राजधानीबाट प्रकाशित हुने एक अनलाइन ‘काठमान्डुप्रेस’मा प्रकाशित सामग्री हटाइएको विरोधमा नेपाल पत्रकार महासंघको कदमप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति प्रकट गरेका छन् । थापाले यो घटनामा प्रधानमन्त्रीको सचिवालय दोषमुक्त रहेको दाबी गर्दै अनावश्यक विरोधमा नलाग्न पत्रकार महासंघलाई धम्की दिएका छन् । उनले यस प्रकरणमा माफी माग्न समेत पत्रकार महासंघलाई सचेत गराउन चाहेको बताएका छन् ।
यद्यपि उनले समाचार हटाइएको घटनामा प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलिको संलग्नताबारे कुनै प्रतिक्रिया दिएका छैनन् । काठमान्डुप्रेसको वेब डेभलपर्स शिरान टेक्नोलोजिज्ले उक्त समाचार डिलिट गरेको पनि स्वीकार गरेको छ । घटनामा शिरानले माफी पनि मागेको छ । पत्रकार महासंघले काठमान्डुप्रेसको समाचार सामग्री हटाइएकोबारे आपत्ति प्रकट गर्दै विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिका हस्ताक्षरकर्ता पत्रकार महासंघका महासचिव रमेश विष्टको नाम उल्लेख गर्दै प्रधानमन्त्रीका सल्लाहकार थापाले माफी माग्न सचेत गराउन चाहेको व्यहोरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
https://www.facebook.com/permalink.php?story_fbid=144918823681397&id=105043977668882
‘पत्रकार महासंघ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र संगठन होइन । त्यसमा हाम्रो रगत, पसिना र उर्बर युवावय समय लगानी भएको छ । आज त्यसको नेतृत्वमा रहेका कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको संघर्षमा कम योगदान गरेका छैनौं । र, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन । सबैका खुट्टी र हैसियत देखेरै हामी यहाँ क्रियाशील छौं । कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस संगठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकांक्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिहरूलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न ध्यानाकर्षण गर्दछौं’, थापाले फेसबुकमा लेखेका छन् ।
यद्यपि प्रेस सल्लाहकार थापाले काठमान्डुप्रेसमा प्रकाशित समाचार सामग्रीबारे आफूले उक्त सञ्चारगृहका सम्पादक कसमस विश्वकर्मासँग कुरा गरेको र कुराकानीका क्रममा तथ्यहीन समाचार प्रकाशन गरिएको भन्नेबारे चासो राखेको स्वीकार गरेका छन् । काठमान्डुप्रेसले मेडिकल सामग्री खरिद प्रकरणमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोराहरुमार्फत अनियमितता भएको र यसमा प्रधानमन्त्रीका आइटी सल्लाहकार विज्ञ अस्गर अलिको समेत मूख्य भूमिका रहेको समाचार प्रकाशन गरेको थियो । उक्त समाचार प्रकाशन भएपछि सम्पादकको जानकारी बिनै साइटबाट हटाइएको थियो ।
यसैबीच काठमान्डुप्रेसको वेब डेभलपर्स शिरान टेक्नोलोजिजले काठमान्डुप्रेस डटकममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु चीनबाट खरिद गरिएका मेडिकल सामग्रीमा संलग्न रहेको भन्ने समाचार आफूले डिलिट गरेको स्वीकार गरेको छ । ‘काठमाडौँ प्रेस डटकम न्यूज पोर्टलमा चैत १८ गते प्रकाशित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा प्रकाशित समाचार चैत १९ गते केही समयका लागि यसको वेबसाइटबाट हटेको अनपेक्षित घटनाप्रति हामी सिरान टेक्नोलोजीज प्रालि माफी माग्न चाहन्छौँ,’ शिरान टेक्नोलोजिजले काठमान्डुप्रेसलाई पठाएको पत्रमा उल्लेख छ ।


#देश सञ्चार
सत्यपाटी ।