विश्व अहिले कारोना भाइरस (कोभिड–१९)को चरम मारमा छ । मानव बस्ती रहेको पृथ्वीका सबै ठाउँमा पुग्न लागेको कोरोनाबाट मानव जाति हायलकायम भएको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी घोषणा गरी सचेत रहन सबै देशलाई चेतावनी दिएको छ । संयुक्त राष्ट्र सङ्घले यसलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सङ्कट भनेको छ । पैसा, प्रविधि र दक्ष जनशक्तिले सम्पन्न रहेका देशहरु पनि कोरोनाविरुद्धको युद्धमा निरीह देखिन थालेका छन् ।
केही अघिसम्म कोरोनालाई सामान्य भन्दै अभिव्यक्ति दिनुहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब यसलाई खतराको सङ्केत भन्न थालेका छन् । विश्वलाई तर्साएको कोरोना भाइरसबाट नडराउने कोही छैन । खतरा नभएको पनि कोही छैन । नेपालमा पनि जुनसुकै बेला कोरोनाको डरालाग्दो सङ्क्रमण हुन सक्छ भन्ने सोचेर नै सरकारले तयारीलाई तीव्र बनाएको छ । छिमेकी देश चीनले सम्हाल्दै लगेको छ । तर हामीसँग खुला सीमा रहेको भारतमा सङ्क्रमण फैलिदै जानु हामीमाथिको अर्को दबाब हो । त्यसैले हामी डराउनैपर्छ ।
हालसम्म नेपालमा डरलाग्दो सङ्क्रमण देखिएको छैन । अहिलेसम्म देखिएका सबै सङ्क्रमण विदेशबाट आएका हुन् । नेपालमै रहेका कसैलाई पनि सङ्क्रमण भएको छैन । सङ्क्रमण फैलिएमा सबैभन्दा जिम्मेवार सरकार नै बन्नुपर्छ । त्यसैले सरकारले प्रयोग गरेको परीक्षण किट्स र दिएको प्रतिवेदनलाई विश्वास गर्नुपर्छ । त्यही विश्वासमा अडेरभन्दा अब विदेशबाट कोरोना सङ्क्रमणलाई भित्रिन नदिने हो भने नेपालमा कोरोना फैलिने सम्भावना ज्यादै न्यून छ ।
बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्ययम र विश्व स्वास्थ्य सङ्गठनले समेत कोरोनाको लक्षण १४ दिनभित्र देखिने र धेरैजसोमा पाँचदेखि आठ दिनमा देखिने बताएका छन् । यस हिसाबले बाहिरबाट आउनेहरुमा अब भाइरस देखिने सम्भावना निकै कम हुँदै गएको छ । हुन त तीन हप्तापछि पनि सङ्क्रमण देखिएका उदाहरणहरु छन् । तर त्यो निकै कम सम्भावना हो । त्यसैले एकान्तबासमा बस्दै गर्दा अर्को हप्ता नेपालमा सयौंको सङ्ख्यामा सङ्क्रमण देखिन सक्छ भन्ने जुन आकलन थियो त्यो गलत साबित हुन थालेको छ ।
चीनमा भाइरस फैलिदै गर्दा जुन किसिमको मौसम थियो । अहिले युरोपमा त्यस्तै मौसम हुनु र त्यहाँ सङ्क्रमण बढिरहनुले मौसमले समेत सङ्क्रमण फैलिनुमा भूमिका खेल्छ भन्ने विश्वास बढेकोले नेपालमा ठूलो महामारी नआउला भन्ने लाग्न थालेर पनि नेपालीमा केही खुसी थपिएको छ । मौसमबारे यो अनुमान अन्तर्राष्ट्रियस्तरका विज्ञहरुले पनि गरिरहेका छन् । सरकारले थपेको ‘लकडाउन’को अवधिसम्म सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको देखिँदैन । तर पनि नेपालले कोरोनाविरुद्धको पूर्वतयारीलाई मजबुत बनाउँदै लगेको छ ।
कोरोनाविरुद्धको अभियानमा आमनागरिकको साथ छ । केही मानिस लखरलखर सडकतिर निस्किए पनि धेरैले ‘लकडाउन’ हाम्रै लागि हो भन्ने बुझेका छन् । अब सरकारले ‘लकडाउन’ खोलेपनि अझै केही समय मानिसहरु अत्यावश्यकबाहेक घुमफिर तथा भिडभाडमा जाँदैनन् । त्यसैले सङ्क्रमण एक्कासी बढ्ने खतरा निकै कम छ । अहिले हामीसँग एउटै खतरा छ, विदेशबाट आउने नेपाली भारतबाहेक तेस्रो मुलुकबाट आउने व्यक्तिहरु आउने सम्भावना छैन । यद्यपी भारतसँगको खुला सीमाका कारण संक्रमणको केही जोखिम भने पक्कै छ । किनकी भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
यसले हामी सीमा क्षेत्रका नागरिकहरु कोरोना संक्रमणको उच्च जोखिममा छौं । यद्यपी हाम्रा नाकासँग जोडिएका क्षेत्रमा सरकारले उच्च संवेदनशीलता अपनाएकै छ । यहाँका स्थानीय सरकारले भारतबाट नेपाल आउने नेपालीहरुमाथि उच्च निगरानी राखेर कोरोना परिक्षण लगायतका कामहरु गरिरहेका छन् । अहिले बाँकेको नेपाल–भारत सीमा नाका जमुनाहा नाकालाई उच्च निगरानीमा राखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले भारतबाट आउने नागरिकहरुलाई दशगजामा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको छ । केहीलाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनाविरुद्धको महाअभियानमा होमिएका उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणालाई विहानदेखि साँझसम्मको दैनिकी कोरोनाविरुद्धकै महायुद्धमा वितिरहेको छ । नेपालगन्जको मानचित्र परिवर्तनमा जुटेका कर्मशील मेयर डा.राणालाई अहिले विकासभन्दा नेपालगन्जमात्र नभई समग्र कर्णाली प्रदेशलाई नै कोरोनाको संक्रमण हुन नदिने अदष्य जिम्मेवारी छ । किनकी भारतबाट जमुनाहा नाका हुँदै नेपाल भित्रिने अधिकांश नागरिक कर्णाली प्रदेशका छन् ।
यहाँबाट उनी सहजै भित्रिएमा बाँके, बर्दिया मात्रै नभई सिंगो कर्णालीमा कोरोना संक्रमण बढ्न सक्ने आशंका छ । त्यसैले पनि नेपालगन्जका मेयर डा.राणालाई आफ्नो नगर, जिल्लामात्रै होइन सिङ्गो कर्णाली प्रदेशलाई नै जोगाउनुपर्ने जिम्मेवारी छ । आशाको लहरमा दौडिएको नेपालगन्जलाई कोरोनाको कहरले प्रभावित पारेको छ । यहाँका सडकहरु चौडा र चिल्ला बन्दै थिए । भित्रि गल्लीहरु पक्की बन्दै थिए । सडक किनार सफा बन्दै थिए । दशकौंदेखि रोकिएको विकासले गति लिइरहेको थियो, बिडम्बना कोरोनाले विकासलाई एकाएक प्रभावित बनाइदियो ।
विकासप्रेमी मेयर डा.राणाको दैनिकी एकाएक मोडिदियो । विकासे रणनीति बनाउन छाडेर कोरोनाविरुद्ध दिनदिनै नयाँ रणनीति बनाउनुपरेको छ । गतिशील नेपालगन्जलाई एकाएक कोरोनाले रोकिदिएको छ । पाँच वर्षअघि नेपालगन्ज पुगेका र अहिले आउने जो कोहीले यो परिवर्तन महसुस गर्न सक्ने विकास भएको छ । डा.राणाकै सक्रियताले त्यसयता नेपालगन्जको विकासका लागि सबै दल, कर्मचारी र नागरिकहरु एकमत भएर अघि बढेका छन् । हाल नेपालगन्जमा जनसंख्या बढ्दै गएको छ ।
पहाडी भेगबाट बसाइँ सरेर नेपालगन्ज झर्ने क्रम तीव्र भएको छ । नेपालगन्जलाई शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग व्यापारको हब बनाउन प्रयास भैरहेको छ । ठूलो संख्यामा खुलेका अस्पतालहरु, होटलहरु, शैक्षिक केन्द्रहरु तथा उद्योग व्यापारलाई सधैँ चलायमान बनाइराख्नकै लागि आफू केन्द्रित भएका छन् । यद्यपी कोरोनाले केही असर गरेको छ । तर, यो कहर लामो समय भने टिक्नेवाला छैन । एक महिनायता रोकिएको नेपालगन्जको विकासे गति केही महिनापछि फेरि पुरानै लयमा फर्किएर आफ्नो रफ्तारलाई कायम गर्नेछ ।
अहिले मेयर डा.राणालाई क्वारेन्टाइन व्यवस्थापन, उनीहरुको खानपानको व्यवस्था, त्यहाँ राखिएकाहरुको स्वास्थ्योपचार, स्वास्थ्यकर्मीको खटनपटनमा भ्याईनभ्याई छ । अहिले उपमहानगरले कोरोनाविरुद्धका कामहरु बाहेक अरु सबै सेवाहरु बन्द गरेको छ । अहिले पुरै उपमहानगरपालिकाको पुरै ताकतलाई कोरोनाविरुद्धको महायुद्धमा होमिन मेयर डा.राणाको निर्देशन छ । पहाडी, मुस्लिम र मधेशी समुदाय सबैलाई कोरोनाको महायुद्धमा साझेदार भएर अघि बढ्न मेयरले आग्रह गरिरहेका छन् ।
कोरोनाविरुद्धको महाअभियानमा यहाँका राजनीतिक पार्टी, बोर्ड वा कर्मचारी र नागरिक सबैलाई मेयर डा.राणाले एकजुट गराइरहेका छन् । डा.राणा अहिले कोरोनाविरुद्धको महायुद्धमा ‘रे अफ होप अर्थात् आशाका किरण’ हुन् । उनले जनप्रतिनिधिले गर्नुपर्ने दायित्व र कर्तव्यलाई बुझैरै आफूलाई कोरोना संक्रमण रोक्न आफ्नो रापलाई फैलाउँदै गरेको कोरोनाको भुङ्ग्रोमा हाम फालेका छन् । जसले बाँकेबासी मात्रै नभएर छिमेकी जिल्ला दाङ्ग र बर्दियामात्रै नभएर सिंगो कर्णाली प्रदेशका नागरिकहरुलाई कोरोना संक्रमणबाट जोगाउन अहम् भूमिका निर्वाह गरिरहेका छन् ।
काशीराम शर्मा ।