बाँके । बैदेशिक रोजगारका क्रममा भारत गएका नेपालीहरु फर्किने क्रम बढेसँगै बाँके लगायत आसपासका पहाडी तथा हिमाली जिल्लाहरु पनि कोरोना संक्रमणको उत्तिकै जोखिममा देखिएका छन् । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका आम नेपाली भारतमा कोरोनाको संक्रमण उच्च देखिएसँगै नेपाल फर्किने क्रम बढेको हो ।
यसअघि भारतमा रहेका नेपालीहरु बाँकेको जमुनाह नाका हुदै नेपालगन्ज र देशका विभिन्न नाकाबाट नेपाल प्रवेश गर्न थालेपछि नेपाल सरकारले देशभर लकडाउन घोषणा गर्दै सीमानाका बन्द गरेको छ । सरकारको उक्त निर्णयसगैं कोरोना भाइरसको उच्च जोखिममा नेपालगन्ज देखिएपछि बाँके प्रशासनले जिल्लाभर जनता कफ्र्यू समेत घोषणा गरेको थियो ।
त्यसको भोलीपल्ट भारतीय सरकारले पनि भारतमा कोरोनाको जोखिम देखिएको भन्दै २१ दिने लकडाउन गरेको थियो । उक्त लकडाउन विहीबारसम्म पनि कायमैछ । तर, भारतका विभिन्न शहरबाट नेपाल आउने नेपालीहरुको संख्यामा भने कमी आएको छैन । भारतमा कामदारका रुपमा रहेका नेपालीहरु बाँकेको जमुनाह नाकाका साथै आसपासका छोटी नाकाहरुमा दैनिकजसो लस्कर लागेरै भित्रिन थालेका छन् ।
नेपाल–भारत सीमामा नेपालीको भीडभाड बढेसँगै बाँकेको नेपालगन्जमा रहेको उज्यालो लालीगुराँस गार्मेन्ट तथा पूर्णतारा फाउण्डेशनले यसरी नेपाल आएका नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क मास्क वितरण गरेको छ । पाँच दिनदेखि जमुनाह नाकामा रहेका करिब ३०० नेपाली नागरिकलाई उक्त संस्थाकी अध्यक्ष ताराकुमारी खत्री रोकायाले दशगजामा मै पुगेर निशुल्क मास्क वितरण गरिरहेकी छन् ।
भारतमा कोरोना भाइरसको जोखिम बढेको र नेपाली दाजुभाइहरु त्यहीबाट नेपाल आएको कारण उनीहरुमा पनि स्वास्थ्य समस्या हुन सक्ने भन्दै केही हदसम्म राहत हुने अपेक्षा सहित उक्त मास्क वितरण गरिएको अध्यक्ष तारा बताउँछिन् । उनले सीमा नाकामा सुरक्षाका लागि खटिएका झण्डै १५० सुरक्षाकर्मी र भारतबाट आएका नेपाली नागरिकलाई गरी ७०० थान मास्क वितरण गरेको बताइन् ।
नेपालगन्जमा माक्सको अभाव बढेसँगै उक्त संस्थाले स्थानीयस्तरमै सुती (कटन) कपडाको डबल कोडेट मास्क उत्पादन थालेको थियो । मास्क उत्पादन र बजार अभावलाई ध्यान दिएर उहाँले कोरोना भाइरसको संक्रमण देखिन थालेसँगै नेपालगन्ज र आसपासका पालिकामा समेत मास्क वितरण गर्दै आएको बताइन् । ‘बजारमा मास्कको अभाव देखिन थालेपछि हामीले उत्पादन सुरु गरेका हौं,’ अध्यक्ष ताराले भनिन् ।
कोरोना संक्रमणविरुद्ध तारासँगै उत्सुकताका साथ सक्रियता देखाएकी भावना रोका पनि आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सचेतना फैलाउँदै मास्क वितरणजस्ता अभियानमा सक्रियरुपमा लागेकी छन् । ‘अहिले आफूले सावधानी अपनाउँदै अरुलाई सचेतना फैलाउनुपर्ने समय हो, भावनाले भनिन्, ‘कोरोनाविरुद्धको अभियानमा बच्न र बचाउन सचेतना फैलाउनुनै अहिलेको पहिलो र महत्वपूर्ण काम हो ।’
सत्यपाटी ।