सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा छैटौं व्यक्तिमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

बाँके । नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै अब नेपालमा ६ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन् । कोरोना संक्रमित बाग्लुङ्गकी ६६ बर्षिया महिला रहेको जनाइएको छ ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ,’ उनले भने, ‘यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो ।’ ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका हुन् । यसअघि सोही जहाजमा आएका दुई जनामा पनि कोरोना संक्रमण देखिएको थियो ।

दुबै संक्रमित टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन । यसअघि नेपालको पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् । दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् ।

उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यतिबेला देशभर त्रासको वातावरण बनेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १८:००