
बाँके । भारतबाट फर्किएका १८१ जना नेपालीलाई दशगजामा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा राखिएको छ । नेपाल–भारत सीमा नाका जमुनाहमा तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको हो ।
भारतमा कोरोना संक्रमण बढेसँगै सुरक्षाका लागि आफैं जन्मभूमि नेपाल आएका उनीहरु तीन दिनदेखि खुला आकाशमुनी कष्टकर जीवन बिताइरहेका थिए । उनीहरुलाई भारतको नानपारास्थित भारतीय क्वारेन्टाइनमा राख्न पहल गरे पनि भारतमा बस्न अस्वीकार गरेपछि दशगजामा क्वारेन्टाइन निर्माण गरेर राखिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले जानकारी दिए ।
दजगजामा नेपाली सेनाले ४५ वटा अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ । एउटा त्रिपालमूनि चार जनाका दरले राखिएको उपमहानगरपालिकाका मेयर डा.राणाले जानकारी दिए । उनका अनुसार उनीहरुको खाना नास्ता, स्वास्थ्य चेकजाँच, सरसफाईको व्यवस्थापन उपमहानगरपालिकाले गर्नेछ भने सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी झण्डै ६० जना सुरक्षाकर्मीलाई खटाइएको छ ।

दशगजास्थित क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य चेकजाँचका लागि उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाइएको मेयर डा.राणाले जानकारी दिए । क्वारेन्टाइनमा स्वास्थ्य परिक्षणका साथै मास्क, प्राथमिक उपचार, औषधी वितरणको सबै व्यवस्था मिलाइएको बताउँदै उनले त्यहाँ कुनै किसिमको व्यवस्थापकीय कमजोरी हुन नदिन उपमहानगरपालिकाका कर्मचारीहरुलाई निर्देशनसमेत दिएको जानकारी दिए ।
यस्तै आजै डुडुवा गाउँपालिकाले पनि २५ जनालाई क्वारेन्टाइनमा राखेको छ । डुडुवा–६ हिरिमिनियास्थित उद्युमगन्ज नाका हुँदै नेपाल प्रवेश गरेका २५ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको हो । योसँगै बाँकेमा मात्रै क्वारेन्टाइनमा बस्नेको संख्या ४५३ पुगेको छ । यसअघि २४७ जनालाई विभिन्न २० वटा क्वारेन्टाइनमा राखिएको बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।











सत्यपाटी ।