बाँके । तीन दिनदेखि सीमा नाकामा अलपत्र परेका नेपालीको जनजीवन कष्टकर बन्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै सुरक्षाका लागि आफै जन्मभूमि नेपाल आएका उनीहरु तीन दिनदेखि नेपाल–भारत सीमा क्षेत्रको खुला आकाशमुनी कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
यसरी विभिन्न नाका हुँदै नेपालगन्जमा आएका नेपाली नागरिक तीन दिनदेखि खुल्ला आकाशमुनी बसिरहेका छन् । चिसो खेत र सडकको सुताई, रातभर लामखुट्टेको टोकाई र भोको पेटले उनीहरु झन् बिरामी पर्ने खतरा बढेको छ । उनीहरु नेपाल–भारत सीमानाका दशगजा छेउमै रहेका रुखमुनी रात कटाउन बाध्य भइरहेका छन् ।
आफुहरु क्वारेन्टाइनमा बस्न तयार रहँदासमेत बाँके प्रशासन र यहाँका जनप्रतिनिधीले बेवास्ता गरेको उनीहरुको दुखेसो छ । कतिपय व्यक्ति बिरामीसमेत परेका छन् । तर, उनीह रु उद्दार गरी उचित व्यवस्थापनका लागि बाँकेस्थित संघीय तथा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधी, बाँके प्रशासन लगायतका सरोकारवाला निकायहरुको ध्यान जान सकेको छैन ।
सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गराएर व्यवस्थितरुपले क्वारेन्टाइनमा राख्नुपर्ने पक्षमा उपमहानगरपालिका छ । तर, स्थानीय प्रशासनले प्रवेश गराउन माथिबाट आदेश नभएको भन्दै उपमहानगरपालिकाको कुरा सुन्न चाहेको छैन । यसले सीमा नाकामा रहेका नेपालीहरुको उद्दारमा समस्या हुँदा अवस्था झनै कष्टकर बनेको छ ।
सरकारले सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपालमै ल्याएर ब्यवस्थितरुपले क्वारेन्टाइनमा राख्नु नै उपयुक्त हुने इन्सेकका प्रस्तावित लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनुभयो । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा अझै ५० जना अट्न सक्ने उपमहानगरपालिकाले जनाएको छ ।
बाँकेका स्थानीय तहमा बनाइएका क्वारेन्टाइनहरु बिहीबारसम्म खाली नै रहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि आवतजावत गर्न नदिन माथि (गृह मन्त्रालय)बाटै कडाई गरिएको बताए । उनकाअनुसार अहिलेसम्म कसैलाई पनि आवतजावत गर्न नदिने भन्ने माथिको निर्देशन छ ।
स्थानीय प्रशासनलाई माथिको आदेश नआएकै कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकले दुख पाउँदै आएका छन् । विहीबार पनि नेपालीहरु सीमा नाकामै बेवारिसे छन् । प्रजिअ खड्काकाअनुसार भारतले रुपैडिहाको क्वारेन्टाइनमा राख्न लैजान खोजे पनि उनीहरु जान मानेका छैनन् ।
अघिल्लो राती जयसपुर र हिरमिनियाको खेतमा सुतेका नेपालीलाई भारतको क्वारेन्टाइन लैजाने अधिकारीहरुले सहमति गरे पनि उनीहरु जान नमानेर दशगजामै बसेका हुन् । नेपाल र भारतका अधिकारीहरुबीच नाकामा अलपत्र परेका नेपालीलाई आधा आधाको व्यवस्थापन गर्ने सहमति भएको थियो ।
त्यो सहमति अनुसार जयसपुर र हिरमिनियामा रहेका नेपालीलाई जमुनाहा नाकामा ल्याइयो । त्यसपछि शुरुवातमा नेपालीले गए सबै एकै ठाउँमा जाने अडान कसे । नेपाली अधिकारीले भारतीय पक्षलाई त्यो कुरा सम्झाए । सबैलाई लैजान भारत तयार भयो । तर, दशगजामा पुगेपछि नेपालीहरुले फेरि विचार बदले, भारत जान्न भन्न थाले ।
‘भारतबाट धेरै हण्डर, दुख झेलेर नेपालमा आइपुगेका छौं । फेरि भारत जाँदैनौँ,’ नेपालीहरुले एकै स्वर भने । त्यसपछि नेपाली र भारतीय अधिकारीहरुलाई आपत आइलाग्यो । एसपी, प्रजिअले सम्झाइरहे, उनीहरुले इन्कार गरिरहे । त्यसबीचमा प्रदेश सांसद कृष्णा केसी नमूना पनि पुगिन् । सबैले मिलेर राती पौने एघार बजेसम्म सम्झाए ।
नेपालीहरुले भारतीय क्वारेन्टाइनमा जान मान्दै मानेनन् । उनीहरु भारतबाट आएको तीन दिन भइसकेको छ । यो तीन दिन उनीहरुले सडक र खेतमा मै रात बिताएका छन् । अब ११ दिन भारतीय क्वारेन्टाइनमा गएर सुरक्षित बसिदिन र त्यसपछि घरघरमा पठाइदिन्छौँ भनेर नेपाली अधिकारी र सांसदले सम्झाउँदा नेपालीहरुले भारत नजाने अडान दोहोर्याइरहे ।
रुकुमका सन्दीप केसीले भने, ‘धेरै दुःख पाएर आफ्नो भूमिसम्म आएका छौं । फेरि भारत जाँदैनौँ ।’ उनीहरुले जतिदिन बसे पनि खेतमा सुत्ने बताए । ‘जति दिन बस्नुपर्छ । हामी खेतमै बस्छौं । जंगलमा राखिदिनुस् । तर, भारत जाँदैनाँै, उनीहरुले एक स्वरमा भनिरहे,’ प्रदेश सांसद केसीले भनिन्, ‘जति सम्झाए पनि जान्नौँ भनेपछि के गर्ने लठ्ठी हान्नुभएन । त्यही दशगजामै छन् ।’
खासमा नेपाल र भारतका अधिकारीका बीचमा नेपालमा भएका भारतीयलाई नेपालले क्वारेन्टाइनमा राखिदिने र भारतबाट आएर नाकामा अलपत्र परेकालाई भारतले क्वारेन्टाइनमा राखिदिने सहमति भएको थियो । जति सम्झाउँदा पनि केही सीप नलागेपछि अधिकारीहरु एघार बजे राती नाकाबाट फर्किएका थिए । त्यसपछि नेपालीहरु दशगजामै सुते ।
प्रजिअ खड्काले भने, ‘रुपैडिहास्थित क्वारेन्टाइनमा जान भन्दा नेपालीहरुले मानेका छैनन् । यहाँ हामीले व्यवस्थापन गर्न सक्ने अवस्था छैन । उनीहरु नाकामै बसिरहेका छन् ।’ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले क्वारेन्टाइनमा ल्याएर राख्ने उपमहानगरको योजना रहेपनि प्रजिअले नमान्दा समस्या भइरहेको बताए ।
सीमा नाकामा झण्डै २०० जना नेपालीहरुको दैनिकी तीन दिनदेखि अस्तव्यस्त बनेको छ । उनीहरुले खाना र औषधी त परै जाओस् मागअनुसार पानीसमेत पीउन नपाएको गुनासो छ । कोरोना भाइरसको सन्त्रासले भारतका विभिन्न ठाउँबाट नेपालीहरु अनेक दुख भोग्दै जमुनाह नाकामा आइपुगेको भारतको अहमदावादबाट आएका दैलेखका ज्ञानु रेग्मी बताउँछन् ।
उनकाअनुसार नेपाल–भारत सीमानाका दशगजासम्म आइपुगेपछि घर जानका लागि बाँके प्रशासनले अनुमति नदिएपछि तीन दिनदेखि नेपालीहरु जमुनाह सीमामा अलपत्र परेका छन् । भारतको रुपैडिहामा सयौंको संख्यामा रहेका नेपाली नागरिकले नेपालगन्ज नाकाबाट सहजै प्रवेश गर्न नपाएपछि अन्य अबैध नाकाबाट भए पनि नेपाल छिरेका छन् ।
नाकातिर नै रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा बनाइएको छ । नेपाली अधिकारीहरुले उनीहरुलाई त्यहाँसम्म ल्याउन सकेका छैनन् । ‘माथिको आदेश’ नहुँदासम्म केही गर्न नसकिने अधिकारीहरुले बताइरहेका छन् । स्रोतका अनुसार, माथिबाट जहाँ छन्, त्यही राख्नु भन्ने निर्देशन रहेको छ ।
बाँकेको नरैनापुर, साइगाउँ, खयरभट्टी लगायतका छोटी नाकाबाट नेपालीहरु नेपालगन्जमा प्रवेश गरिरहेका छन् । नेपालगन्जसँगै जोडिएको जयसपुरको अबैध नाकाबाट दुई दिनअघि सीमा प्रवेश गरेका १६४ जनालाई भने सीमा क्षेत्रमै रोकिएको थियो । यसरी अवैध नाकाबाट सीमा प्रवेश गर्ने नेपालीहरुका कारण कोरोना संक्रमणको जोखिमसमेत बढेको छ ।
सत्यपाटी ।