सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : कारागारमा स्वास्थ्य सुरक्षा चुनौती

बाँके । कोरोना भाइरस (कोभिड-१९)का कारण बाँके जिल्ला कारागारका कैदीबन्दीको स्वास्थ्य सुरक्षाको चिन्ता बढेको छ । मानववस्तीको बीचमा रहेको कैदीबन्दीको आचरण सुधारका लागि विसं. २००० मा स्थापना गरिएको यो कारागारमा अहिले ८२० कैदीबन्दी छन् । सो कारागारका जेलर देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार कारागार विभागवाट ३०० कैदीबन्दी राख्न सकिने क्षमता तोकिएको छ ।

क्षमताभन्दा अधिक कैदीबन्दी राखिएपछि अहिले उनीहरुको स्वास्थ्य सुरक्षाको चुनौती पनि बढेको छ । ‘कैदीबन्दीको खानपानदेखि सबैखाले सुरक्षाको चुनौती पहिले पनि थियो । तर, कोभिड-१९ को महामारी विश्वव्यापी भएपछि ऊनीहरुको स्वास्थ्य र सुरक्षा चिन्ता बढेको हो,’ जेलर श्रेष्ठको भनाइ थियो । जेलर श्रेष्ठका अनुसार ५२ महिला, दुइ नाबालक र ७६६ पुरुष गरी ८२० कैदीबन्दी कारागारमा छन् ।

कारागारका स्वास्थ्यकर्मीले ऊनीहरु सबैको ज्वरो लगायत कोरोना लक्षणको जाँच गरिसकेका छन् । कारागार प्रशासनले ज्वरो जाँच्ने उपकरण आफैं खरिद गरेको जनाएको छ । कारागारले अहिले कैदीबन्दीसँग उनीहरुका आफन्तसँगको भेटघाट रोकेको छ भने आफन्तीले ल्याएको खाना सेनेटाइज गरेर मात्र दिने गरिएको छ । कुनै कैदीबन्दी बिरामी भएमा तुरुन्त नजिकको भेरी अस्पताल लग्ने गरिएको जेलर श्रेष्ठले बताए ।

अहिलेसम्म कोरोनाको सङ्क्रमणवाट सबै कैदीबन्दी सुरक्षित भएपनि कारागारले धान्नै नसक्ने सङ्ख्यामा कैदीबन्दी भएपछि उनीहरुको स्वास्थ्य चिन्ताको विषय जटिल देखिएको छ । यसैगरी, नेपालगन्ज वडा नंं १० मा मानववस्तीको बीचभागमा रहेको बाँके कारागारको भौतिक अवस्था पनि अहिले जिर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुइ भवन र पर्खाल एकदमै पुराना भैसकेका छन् । कारागारमा कैदीको सङ्ख्या पनि बढदै गएको छ ।

कारागारको वरिपरिको वातावरण पनि एकदमै फोहर छ । कारागारबाट निस्केको फोहर कारागार हाताभित्र फालिन्छ । ढल निकासको व्यवस्था छैन । फोहर बढी भएकोले कैदीहरु पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । फोहरकै कारण कैदीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ ।

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । ‘क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनावस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो,’ जेलर श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार ०८:२६