सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिलाई रामकुमारीको सल्लाह : महामहिम ! पहिले देशभित्रकै मजदुरको चिन्ता गरी बक्स्योस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीकोबारेमा मात्रै चिन्ता लिएकोमा व्यंग्य गरेकी छन् । राष्ट्रपति भण्डारीले अमेरिकामा कोरोना तीव्र गतिमा फैलिएर धेरैको ज्यान लिन थालेपछि त्यहाँका नेपालीबारे बुधबार चासो राखेपछि सांसद झाँक्रीले त्यसबारे कटाक्ष गरेकी हुन् । उनले लकडाउनका कारण देशभित्रै नागरिकको बेहाल भएका बेला विकसित देशमा रहेकाहरुको धेरै चिन्ता आवश्यक नरहेको उल्लेख गरेकी छन् ।

‘महामहिम ! अमेरिका, क्यानाडा, युरोप, अष्टेलिया, जापान, कोरिया लगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस्,’ उनले कटाक्ष गर्दै भनेकी छन्, ‘नेपालका विभिन्न जिल्लामा निर्माणका काममा गएका मजदुरहरु लकडाउनमा अलपत्र परेर समस्यामा छन् । व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दिने की ?’ अमेरिकामा कोरोना तीव्रगतिमा फैलिएसँगै राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिएर धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले त्यहाँका नेपाली समुदायको अवस्थाबारे जानकारी लिएकी थिइन् । राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गरेको जनाएका थिए । राष्ट्रपतिले नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गरेको कार्कीले बताएका थिए । अमेरिकामा करिब पाँच लाख नेपाली र नेपालीमूलका बासिन्दा छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार ०७:५६