बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाको क्वारेन्टाइनमा रहेका सयौं नेपालीलाई भारतीय प्रहरीले रातारात सीमानाका कटाएको छ । भारतको रुपैडिहास्थित क्वारेन्टाइनमा रहेका सयौं नेपालीलाई भारतीय प्रहरी र एसएसबीले ट्रयाक्टरमा हालेर रातारात सीमानाका कटाएपछि यतिबेला सयौं नेपाली अलपत्र परेका छन् ।
भारतका विभिन्न ठाँउमा मजदूरीका लागि गएका नेपालीहरु स्वेदश फर्किने क्रममा लकडाउन भएपछि यसअघि उनीहरुलाई भारतको सीमासुरक्षा एसएसबी, प्रहरी र स्थानीय प्रशासनले रुपैडिहास्थित क्वारेन्टाइनमा राखेका थिए । तर, भारतले नेपालीहरुलाई भेडाबाख्रा कोचेसरह ट्रयाक्टरमा राखेर रातारात नेपाल–भारत सीमानाका दशगजा क्षेत्रमा छाडिदिएको छ ।
भारतीय पक्षबाट लखेटिएका नेपाली यतिबेला बाँकेका विभिन्न स्थानमा अलपत्र परेका छन् । यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नंं.१०, भृकुटीनगरमा ५१ जना, वडा नंं.१७, परसपुरको ढोडेगाँउमा ४८ जना र खजुरा गाउँपालिका वडा नं.१, राधापुरमा २१ जना नेपाली अलपत्र अवस्थामा परेका छन् ।
सो क्षेत्रमा भारतबाट लखेटिएका नेपालीहरु अलपत्र अवस्थामा भोकभोकै बसिरहेका छन् । भारतबाट लखटिएका नेपालीमध्ये ढोडेगाँउस्थित एक आँप बगैचामा कतिपय नेपालीले आश्रय लिइरहेका छन् । भारतबाट लखेटिएका नेपाली यी क्षेत्रमा प्रहरी नियन्त्रणमा रहेका छन् भने उनीहरुलाई नेपाल–भारत सीमानाका जमुनाहस्थित सुख्खा बन्दरगाहमा लैजाने तयारी भइरहेको बुझिएको छ ।
यतिबेला बाँके प्रशासनले जमुनाह नाका शीलबन्दी गरेको छ । केहीदिन यता उक्त नाकाबाट आवतजावतमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । तर, बाँकेको जमुनाहदेखि पश्चिम जानकी गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय प्रहरी र एसएसबीले नै मध्यरातमा नेपालीहरुलाई सीमा नाका कटाएपछि उनीहरु अलपत्र परेका हुन् ।
बैदेशिक रोजगारमा भारतका विभिन्न शहरमा गएका नेपालीहरुलाई भारतीय सरकारले लकडाउन घोषणा गरेपछि नेपाल फिर्ता पठाउने क्रम रोकिएको छैन । आफू काम गरिरहेको होटल, उद्योग र कम्पनी बन्द भएको र मालिकले कोरोना भाइरस रोकथाम नहुदाँसम्म नेपाल फर्कन दबाब दिएपछि दिल्ली लगायतका ठाउँबाट आएको उनीहरु बताउँछन् ।
बाँकेको विभिन्न ठाँउमामा अलपत्र अवस्था रहेका नेपालीका खबर पाएसँगै बाँके प्रशासनले उनीहरुको उद्दारका लागि सक्रियता देखाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालगन्ज र आसपासका क्षेत्रमा कडाई गर्नुका सीमा नाका भएर नेपालगन्ज प्रवेशमा रोक लगाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।
नेपालगन्ज र जानकी गाउँपालिकामा भेटिएका नेपालीहरुलाई के गर्ने भन्नेबारे जिल्लास्थित सुरक्षा संयन्त्र र सरोकारवालासँग छलफलपछि व्यवस्थित गरिने प्रजिअ खड्का बताउँछन् । यसअघि हिजो (सोमबार) मात्रै नेपाल–भारत सीमा नाकामा १५ जना नेपाली नेपाल–भारत सीमा क्षेत्रको साइगाँउस्थित दशगजामा अलपत्र परेका थिए ।
सत्यपाटी ।