सूचनाको शक्ति - The Power Of Information

        

चोर बाटोबाट भित्रिन्छन् कामदार, स्वास्थ्य सुरक्षामा चुनौती

बाँकेको साईगाँउस्थित दशगजामा अलपत्र परेका नेपालीहरु ।

बाँकेको साईगाँउस्थित दशगजामा अलपत्र परेका नेपालीहरु ।

बाँके । छिमेकी मुलुक भारतको दिल्ली, कानपुर र पञ्जाबबाट चोर बाटो हुँदै नरैनापुर भित्रिएका कामदार, उनीहरुको स्वास्थ्य जाँचपछि घरमा बस्न चिकित्सकले सल्लाह दिएका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै भारतले गरेको लकडाउनपछि ज्यालादारीमा काम गरिरहेका नेपाली मजदूरहरु भारतका विभिन्न सहरबाट फिर्ता हुन थालेका छन् ।

सो क्रममा उत्तर प्रदेश सरकारले भारतको विभिन्न राज्यबाट उत्तर प्रदेशका लागि सञ्चालन गरेको बस सेवामा कुनै प्रकारले बसेर नेपालका विभिन्न नाकामा आइपुगेका मजदूरहरुलाई ब्यवस्थापन गर्न सुरक्षा चुनौती हुँदै गएको पाइएको छ । तर पनि नागरिक स्वास्थ्यलाई मध्य नजर गरेर योजनाहरु अघि बढाइएका छन् ।

बाँके नरैनापुर गाउँपालिकाले नरैनापुरमा स्थापना गरेको १० बेडको क्वारेन्टाइन र नेपालगन्जस्थित सञ्चालन गरेको ५० बेडको क्वारेन्टाइन भरिएको गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बताए । हामीलाई ब्यवस्थापन गर्नमै समस्या उत्पन्न भइरहेको छ, नेपालगन्ज न्युज संग कुरा गर्दै, उनले भने ।

नरैनापुर गाउँपालिकाले भारत संग जोडिएका सबै नाका गत शनिवारबाट नै सिल गरेको छ । भारतीय क्षेत्रमा कोरोना संक्रमण तीब्र रुप लिँदै गएपछि भारतीय क्षेत्रबाट हुने सबै आवागमन अनिश्चित समयका लागि रोकिएको हो । तर पनि, घर आउने कामदारलाई सरकारले रोक्न सकिरहेको छैन ।

नरैनापुर भारतीय क्षेत्र श्रावस्ती र बहराइचसँग प्रत्यक्ष जोडिएको र सो क्षेत्रमा कोरोना संक्रमित विरामी फेला परेको सूचना भारतीय स्वास्थ्य संस्थाले जारी गरेपछि त्यस क्षेत्रमा सुरक्षा निगरानी र सतर्कता बढाइएको छ । भारतको दिल्ली, पञ्जाब, महाराष्ट्र, हरियाना, मध्यप्रदेश, उत्तरप्रदेश लगायत राज्यबाट त्यहाँ काम गरिरहेका नेपाली नागरिक फर्कने क्रम जारी छ ।

नरैनापुरमा गाउँपालिकाले हालसम्म ४२ जनालाई नेपालगन्जस्थित क्वारेन्टाइनमा र ५४ जनालाई घरकै क्वारेन्टाइनमा ब्यवस्थापन गरेको छ । यसअघि १५० बढिको स्वास्थ्य जाँच गरि उनीहरुलाई क्वारेन्टाइन गरिएको थियो । कामदारहरु मुख्य नाका नभई विभिन्न भित्रीबाटो प्रयोग गरि आउन लागेकोले सुरक्षा चुनौती बढ्दै गएको छ ।

‘हाम्रो काम भित्रिने कामदारलाई स्वास्थ्यको जिम्मा लगाउने हो,’ इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज एवं प्रहरी निरिक्षक मानबहादुर बिसीले भने, ‘तर आवश्यकता बमोजिम भित्रिएका ब्यक्तिहरुको ब्यवस्थापन हुन नसक्दा चुनौतीपूर्ण बनेको छ ।’ भारतीय क्षेत्रबाट फर्किने सबै कामदारको स्वास्थ्य जाँच गराउन स्वास्थ्यकर्मीहरु परिचलन गरिएको छ ।

दिल्लीबाट ३ दिनअघि पैदल हिँडेका नरैनापुर ५ का मनिराम यादवले भन्नुभयो, त्यहाँ कम्पनी र काम सबै बन्द भएपछि फर्कनुको विकल्प थिएन । उहाँसँगै नरैनापुर वडा नं. ५ र वडा नं.६ का ५४ जना फर्किएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगिसकेको छ ।

अझै भित्रिंदै सयौं नेपाली

भारतले गत मंगलबारदेखि देशलाई पूर्णरुपमा लकडाउन गरेको छ । मानिसलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन बन्देज छ । तर, त्यसको पालना भने हुन सकेन । भारतमा आन्तरिक र विदेशी कामदारहरु आफ्नो गन्तव्यमा फर्किन पाएनन् । भारतबाट भारतकै विभिन्न ठाउँ तथा नेपालबाट त्यहाँ गएका लाखौं कामदारहरुको भीड बसपार्कमा लाग्न थाल्यो ।

मानिसहरु हिडेर तथा बसको सहायताबाट अहिले पनि घर फर्किरहेका छन् । भारतको केन्द्र सरकारले राज्य सरकारलाई सीमा बन्द गर्न भने पनि घर फर्किनेहरुका कारण त्यो प्रभावकारी हुन सकेको छैन । लकडाउनको झण्डै एकसाता हुँदा पनि सयौं नेपाली अझै फर्किरहेका छन् । सोमबार विहानै भारतको रुपैडिहामा नेपाली बाँकेको जमुनाह हुँदै नेपाल प्रवेश गरेका छन् ।

भारतीय अधिकारीहरुले नेपाली अधिकारीको समन्वयमा उनीहरुलाई नेपाल पठाउने गरेको रुपैडिहाबाट पत्रकार सन्तोष शुक्लाले बताएका छन् । भारतबाट फर्कनेहरुले अनेकौं दुःख भोगेर नेपाल फर्किएको बताएका छन् । कतै हिडेर त कतै बसको यात्रा गरेर उनीहरु रुपैडिहासम्म आइपुगेका हुन् ।

नेपाल प्रवेश गरेका नेपालीलाई प्रशासनले बसमार्फत सम्बन्धित जिल्ला पठाइदिने गरेको छ । भारतबाट फर्किने नेपालीलाई रोक्न नसकिने र उनीहरु भित्रिदा जोखिम बढिरहेको अवस्था अझै विद्यमान रहेको छ । भारतबाट भित्रिने नेपालीलाई यहाँ आएपछि निगरानीमा राख्न अत्यावश्यक रहेको छ । यद्यपि, आउने सबैको सीमामा स्वास्थ्य चेकजाँच भने हुँदै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार ०९:३२