सूचनाको शक्ति - The Power Of Information

        

साइगाउँमा अलपत्र १५ नेपालीलाई रुपैडिहा क्वारेन्टाइनमा पुर्‍याइयो

बाँकेको साईगाँउस्थित दशगजामा अलपत्र परेका नेपालीहरु ।

बाँकेको साईगाँउस्थित दशगजामा अलपत्र परेका नेपालीहरु ।

बाँके । पारी भारतले लकडाउन गरेको छ । वारी बाँके प्रशासनले जनता कफ्र्यु गरेको छ । संघीय सरकारले नेपालगन्जसहित देशभर लकडाउन पनि जारी राखेको छ । नेपाल–भारत सीमानाका जमुनाहमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीका साथै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणका लागि खटिएका छन् ।

बाँके प्रशासनले जमुनाह नाका शीलबन्द गरेको छ । केही दिनयता उक्त नाकाबाट कुनै पनि ब्यक्तिलाई प्रबेश रोक लगाइएको छ । तर, बाँकेको जमुनादेखि पश्चिम जानकी गाँउपालिकाको सीमाक्षेत्र साइगाँउमा सोमबार दिउँसो भारतबाट आएका नेपालीहरुको ठूलो जमघट भेटियो । साइगाँउ नेपाल–भारत सीमा क्षेत्रसँगै जोडिएको खुल्ला गाँउ हो ।

सोमबार विहानदेखि दिनभर साइगाउँमा भारतबाट आएका नेपालीहरु अलपत्र परे । उनीहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने वा उनीहरुको स्वास्थ्य परीक्षण गर्नेतर्फ जानकी गाँउपालिका र स्थानीय प्रशासनले पनि सोमबार साँझसम्म चासो नदिएपछि उनीहरुलाई सोमबार बेलुका ५ बजे भारतीय प्रहरीले साईगाँउबाट फिर्ता लिएका छन् ।

उनीहरुका विषयमा कुनै चासो नदेखाएपछि भारतीय प्रहरीले रुपैडिहामा रहेको भारतीय क्वारेन्टाईनमा राख्ने भन्दै उनीहरुलाई रुपैडिहातर्फ लगेका हुन् । रुपैडिहामा रहेको भारतीय क्वारेन्टाइनमा २ दर्जन बढि नेपालीहरु रहेको भारतीय प्रहरीले जनाएको छ । साइगाउँमा रहेका १५ जना नेपालीलाई पनि क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य परीक्षण गरिने भएको छ ।

साइगाउँमा भारतबाट आएका १५ जना नेपाली अलपत्र अवस्थामा रहँदासम्म नेपालका तर्फबाट कुनै ब्यवस्थापनका लागि आवश्यक पहल हुन सकेन । दुवै देशका सरकारले लकडाउन गरिरहेको अवस्थामा यसरी नेपालीहरु सीमा नाका भएर नेपाल प्रवेश गर्नुले नेपालगन्ज र आसपासको क्षेत्र अझै पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको देखिन्छ ।

बैदेशिक रोजगारमा भारतका विभिन्न शहरमा गएका नेपालीहरुलाई भारतीय सरकारले लकडाउन घोषणा गरेपछि नेपाल फिर्ता पठाउने क्रम रोकिएको छैन । आफू काम गरिरहेको होटल, उद्योग र कम्पनी बन्द भएको र मालिकले कोरोना भाइरस रोकथाम नहुदाँसम्म नेपाल फर्कन दबाब दिएपछि आफूहरु रातारात पैदल हिँडेर नेपाल आउने गर्छन् ।

जमुनाह नाकाबाट नेपाल भित्रिन बाँके प्रशसानले नदिने खबर सुनेपछि आफूहरु नेपाल–भारत प्रबेशको छोटी नाका हुदै साइगाँउ पुगेको उनीहरु बताँउछन् । सोमबार विहान साइगाँउ प्रबेस गरेका नेपालीहरुले साँझसम्म पानीसमेत पीउन नपाएको, दिनभर भोकै खुल्ला आकाशमुनी घाम तापेर बस्नुपरेको बताए ।

उनीहरुले आफूहरुको स्वास्थ्य परीक्षण गरि क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था भए राख्ने र नभए घर जाने वातावरण मिलाईदिन जानकी बाँके प्रशासनसँग आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बाँके प्रशासनले पछिल्ला दिनमा नेपालगन्ज र आसपासका क्षेत्रमा कडाई गर्नुका साथै कुनै पनि ब्यक्तिलाई नेपाल–भारत सीमानाका भएर नेपालगन्ज प्रवेशमा रोक लगाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।

साइगाँउमा भेटिएका नेपालीहरुलाई पनि गाउँपालिकाको क्वारेन्टाइनमा राख्न सक्ने अवस्था नभएकोले उनीहरुलाई के गर्ने भन्नेबारे जिल्लास्थित सुरक्षा संयन्त्र र स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको छलफल गरेर निष्कर्षमा पुगिने प्रजिअ खड्काले बताए । यसको रोकथाम र नियन्त्रणका लागि बाँके प्रशासनले सीमा नाकामा कडाई मात्र होइन सीमासँग जोडिएका छोटी नाकाहरुमा सुरक्षाको ब्यवस्था गर्नुपर्ने आवश्यक देखिएको छ ।

यसतर्फ बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का, प्रहरी प्रमुख वीरबहादुर ओली र समग्र जिल्लास्थित उच्च सुरक्षा निकायले गम्भीरतापूर्वक तत्कालै ध्यान दिइ ती छोटी नाकाहरु समेत शील गर्नुपर्ने नेपालगन्जबासीको माग छ । प्रजिअ खड्का छोटी नाका सुरक्षाका लागि जिल्लास्थित सुरक्षा संयन्त्रसँग छलफल गर्ने र यसका लागि आवश्यक पहल अघि बढाउने बताउँछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १८:०९