बाँके । नेपालगन्जमा कोरोना परीक्षण प्रयोगशाला तत्काल स्थापना गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमक्ष माग गरेका छन् । सोमबार मुख्यमन्त्री पोखरेलसँगको भिडियो कन्फ्रेन्समा नगरप्रमुख राणाले नेपालगन्जमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् । सो क्रममा मुख्यमन्त्री पोखरेलले नेपालगन्जमा छिट्टै आवश्यक जनशक्ति र पूर्वाधार तयार गरि प्रयोगशाला सञ्चालनमा आउने जानकारी दिए ।
मुख्यमन्त्रीले पिपिई, लगायतका अन्य मेडिकल सामाग्री पनि छिट्टै पठाइने बताए । कोरोना संक्रमण भित्रिन नदिनका लागि नेपालगन्ज उपमहानगरपालिकाले गरेका कामको बारेमा जानकारी लिदै मुख्यमन्त्री पोखरेलले कोरोनाको संक्रमण भित्रिन नदिन सबैपक्ष मिलेर लाग्नुपर्नेमा जोड दिए । सो क्रममा नगरप्रमुख राणाले नेपालगन्जले कोरोनाविरुद्ध गरिरहेको प्रयास र पहलकदमी बारे जानकारी दिदै आवश्यक मेडिकल सामाग्रीको अभाव भएको बारे मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको बताए ।
आजै बसेको प्रदेश ५ सरकारको मन्त्रीपरिषद् बैठकले पनि प्रदेशभर तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको निर्णयअनुसार भैरहवाको गहुँबाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जको भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । तीन दिनभित्र प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गरिने जनाइएको छ ।
सत्यपाटी ।