सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : ‘अटेरी र अराजक’हरुको शहर नेपालगन्ज

बाँके । नेपालगन्ज चिरपरिचित शहर हो । प्राचीन शहर, गर्मीको शहर तथा विभिन्न सम्प्रदाय बसोबासको शहरजस्ता उपनामले धेरैको मन–मस्तिष्कमा नेपालगन्ज कतै नै कतै आइहाल्छ । नेपालगन्ज सांस्कृतिक, राजनीतिक तथा आर्थिकरूपमा नेपालगन्जको पहिचान छुट्टै छ । सद्भावको शहर पनि हो नेपालगन्ज । तर, पछिल्ला दिन विश्वभर फैलिदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपालगन्ज सहरले आफ्नो अर्को परिचय पनि थपेको छ ।

यतिबेला नेपालगन्जलाई ‘भेडा’को शहरका रुपमा पनि आमनागरिकले परिभाषित गर्न थालेका छन् । प्रस्तावित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण शहरको रूपमा रहँदै आएको नेपालगन्जको नाम देशको नामसँग मिल्दोजुल्दो छ, तर, यसको इतिहास भने सिंगो देशको भन्दा फरक छ । विगतको इतिहास खोतल्दा राणा प्रधानमन्त्री जंगबहादुरले तत्कालीन ‘इस्ट इण्डिया कम्पनी’का शासकलाई रिझाएबापत पाएको भूमी हो, नेपालगन्ज । तर, अहिले कोरोनाको संक्रमणले यसलाई ‘भेडा’को शहरका रुपमा परिचित बनाउँदैछ ।

किनकी सरकारले कोरोनाको संक्रमणसँगै नेपालगन्जसहित देशभर लकडाउन घोषणा गरेको छ । बाँके प्रशासनले जनता कफ्र्यू पनि । तर, यहाँका नागरिकले हरेक दिन सरकारको लकडाउन र प्रशासनको जनता कफ्र्यू तोड्दै आइरहेका छन् । सरकारले आमनागरिकलाई घरभित्रै बस्ने भनेको छ । तर, नेपालगन्जका स्थानीयले सरकारको उक्त कुरा अटेरी गरिरहेका छन् । यसले पनि आम नेपालबासीले नेपालगन्जका जनता भेडाजस्तै अटेरी भएको संज्ञा दिदैं आएका छन् ।

साममजिक सञ्जाल फेसबुक, ट्वीटरमा समेत नेपालगन्जियाले सरकारको निर्देशन तोडेरे भेडाको जस्तै पारा देखाएको भन्दै चर्चा परिचर्चा हुँदै आएको छ । बिशेषगरी, नेपालगन्जको त्रिभुवनचोक, सदरलाइन, फुल्टेक्रा रानीतलाउ लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालगन्जियाले सरकारको लकडाउन तोडेका छन् । सुर्खेतरोड लगायतका अन्य क्षेत्रमा लकडाउनको पालना केही हदसम्म भएको देखिएको छ । तर, पनि तरकारी लगायतका उभोग्य बस्तु खरिदका निहुँमा आमनागरिक रानीतलाउ तथा त्रिभुवनचोक आसपासमा भीडभाड हुनेक्रम रोकिएको छैन । यसले गर्दा पनि देशमा ‘नेपालगन्जीयाको असली रुप’ प्रदर्शन भइरहेको छ ।

नेपाल पनि कोरोनाको जोखिममा देखिएपछि सरकारले देशलाई एकैसाथ लकडाउन गरेको छ । यस्तो अवस्थामा आफनो सुरक्षाका लागि पनि आमनागरिक घरभित्रै बस्नुपर्नेमा नेपालगन्जबासीले सरकारी निर्देशनको उल्लघंन गरिरहेका छन् । नेपालगन्जीयाको यस्तो पाराले त यहाँका नागरिक र भेडामा केही फरक देखिएन । भारतको उत्तरप्रदेशको बहराइच जिल्लाको रुपैडिहासँग जोडिएको छ । भारतमा यसको जोखिम छ । त्यसैले पनि नेपालगन्जबासी आफै सचेत हुनुपर्नेमा सरकारकै निर्णय अटेरी गर्नु राम्रो होइन । सरकारले आमनागरिकमा कोरोना संक्रमण नहोस् भनेर लकडाउन घोषणा गरेको हो ।

यो सरकारको सकारात्मक काम हो । यसलाई आमनागरिकले उत्तिकै सहयोग गर्नु समाजसेवी गीता आचार्य बताउँछिन् । उनकाअनुसार आमनेपाली आफैमा सचेत हुनुपर्छ । सरकारले नागरिककै सुरक्षााका लागि भनेको हो । त्यसैले सबैभन्दा पहिला नागरिक नै आफूमा सचेत भइ सुरक्षित बन्न सके कोरोना भाइरसको संक्रमण सजिलै बच्न र बचाउन सकिने उनको भनाई छ । उनले कोरोनाको संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन केही दिन घर बाहिर ननिस्कन नेपालगन्जबासीलाई आग्रह गरेकी छन् । लकडाउनको बेलामा भनेको नमानेर काम नभए पनि रमिता हेर्न जाने लहर नेपालगन्जमा बढिरहेको उनी बताउँछिन् ।

यो लकडाउन कसैको लागि गरिदिएको हैन उनले भिनन् ‘कसैलाई दुःख दिनको लागि गरेको पनि हैन हामी सबै सुरक्षित र स्वस्थ रहनको लागि गरिएको हो ।’ उनले थपिन ‘दुई चार दिन मिठो नखाएर मान्छे मर्दैन तर कोरोना भाइरस लाग्यो भने समस्या हुने देखिन्छ । त्यसैले अटेरी नगरौ घरमै बसौ सरकारलाई सहयोग गरौं ।’ इन्सेकका प्रदेश संयोजक भोला महत सरकारको निर्देशनलाई सबैले पालना गर्नुपर्ने बताउँछन् । यो गम्भीर क्षण भएकाले सबै अनुसाशीत भै अति आवश्यकीय काम बाहेक घरबाट बाहिर ननिस्किएर सरकारको लकडाउनलाई सहयोग गर्न उनले आम नेपालगन्जबासीलाई आग्रह गरेका छन् ।

‘नेपालगन्जका जनता अबिबेकी पनि हैनन्’ नेकपा बाँके जिल्ला कमिटी सदस्य प्रमोद धितालले भने ‘अटेरी र अराजक चाहिँ पक्कै हुन् ।’ उनकाअनुसार आमनागरिकले सरकारको निर्णय र अलकडाउनको पालना गर्नुपर्ने आवश्यकता देखिएको छ । बाँकेको खजुराका युवा नेता सतिश निरौला नेपालगजबासीले हरेक दिन पाँच बजेपछि सरकारको लकडाउन तोड्नुले नेपालगन्ज एकदमै खतरा जोनमा रहेको बताएका छन् । यसरी सरकारको निर्देशन विपरित आमनागरिकले घर छोडेर बाहिर आउने गर्दा कोरोनाको जोखिम नेपालगन्जमा बढ्ने देखिएको उनको भनाई छ । उनले आम नागरिकलाई घरभित्रै बस्न अनुरोध पनि गरेका छन् ।

कोरोना भाइरस संक्रमणको संख्या बढेसगैं बाँकेमा कोरोना आशंकितको संख्या बढेको छ । बाँकेका विभिन्न पालिकामा रहेको अस्थायी क्वारेन्टाइनमा ५० जना राखिएको पाइएको छ । नेपालगन्जको धम्बोझीस्थित सामथ्र्य इन होटलमा रहेको अस्थायी क्वारेन्टाइनमा १४ जना, बाँकेको जानकी गाँउपालिकाको राधापुरमा रहेको क्वारेन्टाइनमा २१ जना, जानकी गाँउपालिकाको क्वारेन्टाइनमा १५ जना गरि ५० जना रहेका छन् । बाँकेलाई कोरोनाको जोखिमबाट बचाउँनका लागि सबैभन्दा पहिला नागरिकले राज्यको नीती नियम पालना गरी सरकारले तोकेको समयसम्म घरभित्र बस्नुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।

कोराना भाइरसरको संक्रमण रोकथामका लागि बाँके प्रशासन र प्रहरीले योजनाबद्धरुपमा अभियान अघि बढाएको उनले बताएका छन् । सरकारले गरेको लकडाउन घोषणा र बाँके प्रशासनले गरेको जनता कफ्र्युको कार्यान्वयन पक्षलाई खदिँलो बनाउदै लैजाने बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । सुरुवाती दिनमा नागरिक आफै सचेत होलान् भनेर प्रशासनले कडाई नगरेको बताउँदै उनले नागरिक सचेत र जिम्मेवार नभएका कारण बिहीबारदेखि प्रशासनले कडाईका साथ आफ्नो निर्णय र घोषणालाई कार्यान्वयन गर्दै आएको बताए ।

नागरिकको भिड हुने भनिएका त्रिभुवन चोक, रानी तलाउ, सदरलाईन, फुल्टेक्रा रोड, अस्पताल रोड, धम्बोझी, पुष्पलाचोक, बसपार्क रोड लगायतका क्षेत्रमा प्रहरीको सक्रियता बढेसँगै नागरिकबाट लकडाउन घोषणा उल्लंघनमा केही कमी आएको र आगामी दिनमा पनि प्रहरीले कोरोना भाइरसबाट बाँकेबासीलाई जोगाउन अझै सक्रियता बढाउने प्रहरी निरीक्षक हरी बस्नेत बताँउछन् । कोरोना संक्रमणबाट आफू पनि बच्न र अरूलाई पनि बचाउँन सरकारको लकडाउन नीति पूर्णरूपमा कार्यान्वयन गरि केही दिन घरभित्रै बस्न सके नेपालगन्जबासी यसको संक्रमणबाट सहजै बच्न सक्नेमा दुइमत छैन् । यसैले आमनागरिकलाई आग्रह छ । ‘घरभित्रै बसौं, आफू बचौं अरूलाई नि बचाउँ, सरकारको अभियानलाई सहयोग गरौं ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १२:०२