सूचनाको शक्ति - The Power Of Information

        

कोरोना त्रास : विदेशबाट आएका नागरिक खोज्दै स्थानीय तह

बाँके । कोरोना भाइरस संक्रमणबाट जोगिन यहाँका स्थानीय तहहरुले विशेष सावधानी अपनाइरहेका छन् । यहाँका आठ वटै स्थानीय तहले विदेशबाट आएका नागरिकलाई खोजेर सेल्फ क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा राख्नका लागि अभियान नै थालेका छन् ।

स्थानीय तहहरुले विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर कोरोनाविरुद्ध उच्च सतर्कता अपाउन थालेका हुन् । हालसम्म नेपालमा विदेशबाट आएका नागरिकमा कोरोना संक्रमण भेटिएपछि स्थानीयहरुले त्यस्ता नागरिकका लागि घरघरमै चेकजाँचका लागि स्वास्थ्यकर्मी खटाएर विशेष निगरानी थालेका हुन् ।

नेपालगन्ज उमपहानरपालिका र कोहलपुर नगरपालिकासँगै खजुरा, जानकी, डुडुवा, नरैनापुर, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई खोजेर सेल्फ क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा राख्नका लागि अभियान नै चलाएका छन् ।

खजुरा गाउँपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर गाउँमै बसेकामध्ये मैटहवा रहेको क्वारेन्टाइनमा २१ जना र क्षेत्री कृषि अनुसन्धान केन्द्रमा क्वारेन्टाइनमा १५ जना गरी ३६ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य अधिकृत पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको वडा नंं. १ मा ९ जना, वडा नंं. २ मा ६ जना र वडा नंं. ४ मा १७ जना गरी ३२ जनालाई ‘होम क्वारेन्टाइन’मा राखिएको छ भने ज्वरो र रुघाखोकी देखिएका तीन जनालाई नेपालगन्जको क्वारेन्टाइनमा पठाएको छ । खजुरा गाउँपालिकाले ४० वेडको क्वारेन्टाइन निर्माण गरिसकेको र थप २० वेडको बनाउने तयारीसमेत थालेको छ ।

त्यस्तै डुडुवा गाउँपालिकाले दुई स्थानमा गरी बेतहनी र साहपूर्वामा ११÷११ बेड गरी २२ बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ भने ८ बेड थप गर्ने तयारी गरेको स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य अधिकृत धनबहादुर बुढाले जानकारी दिए । उनले विदेशबाट आएकाहरुको तथ्यांक लिने काम भइरहेको पनि जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिकाले भने सबै वडामा आवश्यकताका आधारमा क्वारेन्टाइन निर्माण सुरु गरेको छ । स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य निरिक्षक विष्णुप्रसाद चुडालीका अनुसार भौगोलिक हिसाबले गाउँपालिका धेरै ठूलो रहेकाले एक स्थानमा क्वारेन्टाइन निर्माण गर्न अपायक पर्ने भएपछि वडा वडामा निर्माण गर्ने तयारी थालिएको छ ।

उहाँले विदेशबाट आएकोहरुको तथ्यांक संकलन गरेर होम क्वारेन्टाइनमा राख्ने कार्यलाई प्राथमिकता दिएको बताए । बैजनाथ गाउँपालिकाले भने बनकटवामा रहेको स्वास्थ्य चौकीमा आइशोलेसन वार्ड तयार गरेको छ भने विदेशबाट आएकाहरुको स्वास्थ्य जाँच गर्न गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

सबै वडामा स्थान छनौट गरेर सम्बन्धीत वडाले व्यवस्थापन गर्नेगरी क्वारेन्टाइन निर्माण सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य निरिक्षक धननाथ योगीले जानकारी दिए । उनका अनुसार विदेशबाट आएका तीन जना आशंकीतलाई नेपालगन्जको क्वारेन्टाइनमा रिफर गरिएको छ ।

त्यस्तै कोहलपुर नगरपालिकाले पनि क्वारेन्टाइन निर्माणको कामलाई तीव्रता दिएको छ भने जानकी गाउँपालिकाले १० बेडको क्वारेन्टाइन तयार गरिसकेको छ । विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको छ । नरैनापुर गाउँपालिकाले नरैनापुरमा १० बेडको क्वारेन्टाइन निर्माणसँगै नेपालगन्जस्थित होटल ह्यातलाई पनि क्वारेन्टाइनका लागि तयार गरिसकेको छ ।

यता नेपालगन्ज उपमहानगरपालिकालाई भने क्वारेन्टाइन व्यवस्थापनमा चुनौति थपिँदै गएको छ । अन्य स्थानीय तहबाट आशंका गरिएका व्यक्तिलाई नेपालगन्ज रिफर गरिदिँदा व्यवस्थापनमा थप चुनौति देखिएको उपमहानागरपालिका स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकार िदिए ।

उनका अनुसार नेपालगन्जको होटल समरथ इनमा तयार गरिएको क्वारेन्टाइनमा बाहिरबाट आएका १४ जनालाई नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गरिरहेको छ । जनस्वास्थ्य अधिकृत चन्दले अब आउने आशंकीतलाई महेन्द्र बहुमुखी क्याम्पसमा राख्ने तयारी भइरहेको बताउँदै उपमहानगरभित्र अहिलेसम्म आशंकीत व्यक्ति भने नभेटिएको जानकारी दिए ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई खान, बस्न, स्वास्थ उपचार र सुरक्षाको प्रवन्ध मिलाइएको छ । तर बाहिरबाट रिफर भएर आउने व्यक्तिका कारण व्यवस्थापनमा कठिनाई भइरहेको उनले बताए । कोरोनाको संक्रमण विदेशमा फैलिएपछि नेपाली घर फर्किएका छन् । उनीहरु घर फर्किदा कोरोना पनि सँगै लिएर आउन सक्ने जोखिम बढेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १०:५६