सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरस ल्याबमा जन्मियो या प्रकृतिमा ? चमेरादेखि मानिससम्म यसको यात्रा

‘जेनेटिक इन्जिनियरिङ’, ‘रोबोटिक्स’ र ‘आर्टिफिशियल इन्टेलिजेन्स’को अति विकसित २१ औं शताब्दीको यस उन्नत वैज्ञानिक युगमा कोभिड–१९ अर्थात सार्स–सीओभी २ जस्तो भाइरसको संक्रमण सम्भवतः कुनै वैज्ञानिक त्रुटिको परिणाम अथवा आविष्कार पनि हुनसक्छ । गत वर्षको २०१९ को डिसेम्बर महिनादेखि चीनको वुहान प्रान्तबाट सुरु भएको यस भाइरसको उद्गम र प्रभावबारे धेरै नै समानान्तर सिद्धान्त सार्वजनिक भइरहेका छन् । कोरोनाको उत्पत्तिबारे ‘बायो टेरोरिजम’ जस्तो संवेदनशील र विवादास्पद सिद्धान्त चर्चामा आउनु पनि स्वाभाविक नै हो । खासगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएपछि यस महामारीप्रति मानिस सतर्क हुँदै गईरहेका छन् ।

चीन, रुस, विभिन्न अरबियन देश र सिरियाले चीनमा फैलिएको कोरोना भाइरसका लागि अमेरिका र इजराइललाई दोष दिइरहेका छन् भने अमेरिकाले स्पष्टरूपमा यसका लागि चीनलाई नै आरोपित गरिरहेको छ । दुबैथरी आरोप प्रत्यारोपका बीच सबैभन्दा रोचक कुरा के हो भने आफ्नो आरोपलाई पुष्टि गर्नसक्ने प्रमाण कसैसँग पनि छैन । सबैसँग आ–आफ्नो ढपली, आ–आफ्नो राग पाराका एकहोरो तर्कमात्रै छन् । धेरै जनालाई स्मरण होला सन् १९८० ताका रुसले एचआइभी भाइरसका लागि पनि अमेरिकालाई आरोपित गरेको थियो । अहिलेसम्मको वैज्ञानिक अनुसन्धान अनुसार कोरोना भाइरसको उत्पत्ति चिनियाँ शहर वुहानको समुद्री जीव तथा जानवर बजारबाट भएको हो। चीनको यो बजार जंगली जीवहरु जस्तै, सर्प, रैकून (Raccoon-mammal native to North America) र दुम्सीजस्ता जीवहरुको अवैध व्यापारका लागि चर्चित रहेको थियो ।

अरब जगतको मिडियाले भने अमेरिका र इजराइलले चीनविरुद्ध मनोवैज्ञानिक तथा आर्थिक युद्धको उद्देश्यले सार्स–सीओभी २ नामक यस जैविक हतियारको प्रयोग गरेको आरोप लगाएका छन् । सार्स–सीओभी २, कोभिड–१९, नोभेल कोरोना भाइरस आदि शब्द सर्वसाधारणका लागि नयाँ हुनसक्छन् तर विज्ञान क्षेत्रसँग सम्बधित र विज्ञानमा रुचि राख्नेहरुका लागि कोरोना भाइरस कुनै नयाँ शब्द होइन । सन् २००२ देखि २००३ का बीचमा जसरी ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स)ले विध्वंश मच्चाएको थियो, त्योभन्दा ठूलो महामारी बनेर अब नोभेल कोरोना भाइरस आएको छ । सन् २००३ को मे १६–१७ तारिखमा विश्व स्वास्थ्य संगठनले सार्स महामारीबारे स्विटजरल्याण्डको जेनेभामा पहिलो अन्तर्रा्ष्ट्रिय बैठक आयोजना गरेको थियो। उक्त बैठकका दुई प्रमुख उद्देश्य निम्न बमोजिम रहेका थिए,

१. यस भाइरसद्वारा उत्पन्न महामारीलाई लिएर बृहद दस्तावेज (सेन्सस डकुमेन्ट) तयार गर्नु ।
२. महामारी विषयक अनुसन्धानको योजना तर्जुमा गर्नुका साथै यस विषयक जानकारीमा रहेका त्रुटी खोजेर तिनको निवारण गर्नु ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार यस कोरोना भाइरसको परिवार ठूलो छ । यस परिवारमा रहेका सदस्यमध्ये ६ वटा भाइरस मानिसका लागि खतरा हुन् । यिनले मानिसलाइ संक्रमित गरी रोग फिँजाउन सक्छन् । चीनमा गत वर्ष देखापरेको नोभेल कोरोना भाइरस कोरोना भाइरस परिवारको सातौं सदस्य भएको पुष्टि भएको छ । यस कोरोना भाइरस परिवारका सदस्य भाइरस SARS-COV, MERS-COV र SARS-COV-2 (अहिलेको महामारीको कारक भाइरस)ले मानिसमा गम्भीर रोग संक्रमण गर्न सक्छन् । परिवारका अन्य सदस्य भाइरस HKU1, NL63, OC43 र 229E भने मानिसका लागि त्यति घातक छैनन् । अहिलेसम्मको वैज्ञानिक अनुसन्धान अनुसार (फिँजाइएको हल्ला विपरीत, केही देशले गरेको दावी विपरीत) सार्स–सीओभी २ भाइरसलाई प्रयोगशालामा बनाउन सकिन्न ।

साथै जैविक युद्धको उद्देश्य राखेर यो भाइरस कुनै देशले विकसित गरेको भनी चलाइएका दुष्प्रचार पनि यस बारेमा भएका अनुसन्धानले खारेज गरेको छ । अहिलेसम्मको अनुसन्धान अनुसार यो पशुजन्य भाइरस नै हो । अहिलेको हाहाकार मचाउने सार्स (सीओभी २ पनि बीटा ऋइख्क कैटेगरी भित्रपर्छ, यस अन्तरगत आउने भाइरस अल्ट्राभाइलेट किरण (UV Rays) र गर्मीप्रति संवेदनशील हुनछन् । हुनसक्छ, भोलिका दिनमा सार्स–सीओभी २ भाइरस निर्मूल गर्न मानिस निर्मित अल्ट्राभाइलेट किरण उत्सर्जित गर्ने उपकरणको प्रयोग प्रचलनमा आओस् । वैज्ञानिक अनुसन्धानका अनुसार सार्स (सीओभी २ को स्पाइक प्रोटीनको ‘रिसेप्टर बाइन्डिङ डोमेन’ (आरबीडी) मानव कोशिकाको बाहिरी भागको मोलिक्युलर संरचना ACE2 (Angiotensin-co0nverting enzyme 2) लाई प्रभावित गर्नका लागि विकसित भएको हुनसक्छ ।

यो संरचना शरीरको रक्तचापलाई नियंत्रित गर्नका लागि सहयोगी ‘रिसेप्टर’ हो । सार्स (सीओभी २ को बाहिरी स्पाइक प्रोटीनयुक्त संरचना मानव कोशिकालाई बाँध्न यति प्रभावकारी छ कि वैज्ञानिकहरु यस निष्कर्षमा पुग्न बाध्य भए, यो वास्तवमै प्राकृतिक चयनको परिणाम हो, कुनै आनुवांशिक इन्जिनियरिङको प्राविधिबाट निर्मित संरचना होइन । कोभिड–१९ संक्रमणको पहिलो घटनाको प्रत्यक्ष सम्बन्ध वुहानको ‘हुनान सीफूड होलसेल मार्केट’सँग रहेको तथ्य प्रमाणित भइसकेको छ । यसले पनि प्रमाणित गर्छ कि यो संक्रमण पशुबाट हुदै मानिससम्म पुगेको थियो । तर पछि तीव्र रुपमा यस भाइरसको संक्रमण मानिसमा फैलिएपछि यो तथ्य पनि प्रमाणित भयो, यो संक्रमण मानिसबाट मानिसमा पनि सर्छ, अब त हामी सबैलाइ थाहा छ कोभिड–१९ संक्रमण फैलाउने सबैभन्दा ठूलो स्रोत मानिस नै हुन् ।

ह्यूमन कोरोना भाइरस (HCoV) को पहिचान सन् १९६० को दशकमै भएको थियो । सन् २००३ पछि पाँच नयाँ प्रकारका मानव कोरोना भाइरसको खोजी भयो । सन् २००३ मै चीनबाट सार्स भाइरसको उत्पत्ति भयो । चीनमा देखिएको नयाँ सार्स भाइरसको पुरानो कोरोना भाइरससंग सम्बन्ध थिएन त्यसैले यसलाई तेस्रो कोरोना परिवार मानियो । सन् २००२–०३ मा सार्स कोरोना भाइरसद्वारा ८ हजार ९८ जना संक्रमित भए जसमध्ये ७७४ संक्रमित व्यक्तिको मृत्यु भयो । मृत्युको कारण पत्ता लगाउन प्रारम्भ गरिएको अनुसन्धान अहिलेसम्म पनि पूरा हुन सकेको छैन । तर चीनमा हुने जंगली पशुको मासुजन्य व्यापारसँग त्यसको सम्बन्ध स्थापित भइसकेको छ । विश्वभरी फैलिएको वर्तमान महामारी कोभिड–१९ को सम्बन्ध पनि चीनको त्यसै पशु बजारसँग गाँसिएको छ । कोभिड–१९ पूर्णरुपमा नयाँ प्रकारको कोरोना भाइरस हो ।

हार्सशू चमेरोदेखि मानिससम्मको सार्स भाइरस गाथा

एक नयाँ अध्ययनका अनुसार नयाँ कोरोना भाइरस चिनियाँ हार्सशू चमेरोमा पाइने भाइरससँग मिल्दोजुल्दो छ । हुन त चीन पछि विश्वमा फैलिएको महामारीका लागि चमेरो नै प्रमुख कारण हो भन्नेबारे स्पष्ट र सत्यापित धारणा निर्धारित भइसकेको छैन । चमेरोबाट उक्त भाइरस पहिला अन्य कुनै जनावरको शरीरमा पुगेको हुनसक्ने अनुमान पनि प्रबल नै रहेको छ । प्रारम्भमा यस भाइरस संक्रमणको खबर सार्वजनिक हुँदा वैज्ञानिकहरुको मतानुसार यो भाइरस कुनै जानवरबाट मानिसमा पुगेको हो । मानिस यस भाइरसको कैरियर होइन तसर्थ मानिस–मानिसबीच संक्रमण नसर्ने बताइएको थियो । तर पछिका दिनमा उक्त भाइरसबाट संक्रमित एक व्यक्तिले १ दशमलब ४ देखि २ दशमलब ५ जना सम्मलाई संक्रमण सार्न सक्ने तथ्य पत्ता लाग्यो ।

१ डिसेम्बर सन् २०१७ मा नेचर जर्नलमा प्रकाशित एक लेखका अनुसार चीनभरी व्यापकरूपमा चलाइएको खोजी अभियानपछि घातक सार्स भाइरसको उत्पत्ति स्थल पत्ता लाग्यो । यस अभियान अंतर्गत चीनको युनान प्रान्तको सुदुर स्थानमा रहेको एउटा गुफामा भाइरस वैज्ञानिकहरुले हार्सशू चमेरोको बसोबास रहेको पाए । यी चमेरोमा सार्स भाइरस पाइयो । शोधकर्ताहरुका अनुसार यिनै चमेरोबाट सार्स भाइरस मानिससम्म पुग्यो र झन्डै ८०० व्यक्तिको मृत्युको कारण बन्यो । शोधकर्ताले यो भाइरस चमेरोको यस्तै कुनै बस्तीबाट प्रसारित भएको हुनसक्ने अनुमान गरे । शोधकर्ताले त्यसै बेला भविष्यमा फेरी पनि यस्तै कुनै किसिमका भाइरसले महामारी फैलाऊंन सक्ने चेतावनी दिएका थिए ।

सन् २००२ को उत्तरार्धमा निमोनियाजस्तो एउटा रहस्यमयी रोग दक्षिण–पूर्वी चीनको फोसानको ग्वाङडोङमा देखिन थाल्यो । त्यो संक्रमणलाई सार्स नाम दिइयो त्यतिबेला पनि यस संक्रमणले अन्तर्राष्ट्रिय संकटको रूप लिएको थियो । सन् २००३ सम्म आउदा यो संसारभरि नै फैलियो जसबाट हज्जारौं व्यक्ति संक्रमित भएका थिए । त्यतिबेला नै वैज्ञानिकले यसका लागि जिम्मेवार कोरोना भाइरसको खोजी गरे र त्यसैसँग ‘जेनेटिकली’ मेल खाने भाइरस गुआंगडोंग प्रान्तको पशु बजारमा बिक्ने एउटा जनावर (Paguma larvata) मा पनि भेटे । वैज्ञानिकले निरन्तर कोरोना भाइरस वाहकको खोजी गर्दै आएका छन् । यसपटक कोरोना भाइरस संक्रमण मानिससम्म पुग्नुमा पेंगोलिनो पनि जिम्मेवार रहेको अनुमान गरिएको छ । कैयन चिनियाँ वैज्ञानिकले झन्डै हजार प्रकारका जनावरमाथि विभिन्न परीक्षण गरेर पेंगोलिनोबारे यस्तो निष्कर्ष निकालेका हुन ।

सन् २००३ को महामारीपछि गरिएको सर्वेक्षण अनुसार सार्स सम्बन्धित कोरोना भाइरस चीनको हार्सशू चमेरो (राइनोफस–२) मा अत्यधिक मात्रामा हुने गर्छन । चमेरोबाट नै यो भाइरस Paguma larvata भन्ने जीवको माध्यमले मानिससम्म पुगेको निष्कर्ष निकालिएको थियो । तर यस निष्कर्षमा संदेह गर्ने छिद्र के थियो भने यस भाइरसमा हुने एउटा प्रमुख जीन जसले यस भाइरसलाइ ‘होस्ट कोशिका’मा संक्रमण फैलाई आफ्नो ‘रिप्लीकेसन’ गर्ने अनुमति वा आदेश दिन्छ त्यों जीन मानिसमा पाइएका सार्स भाइरस र चमेरोमा पाइने सार्स भाइरसमा बेग्ला बेग्लै थियो । यसपछि यी चमेरो खोजीका लागि व्यापक अभियान चलाइयो । यस अभियानको सबैभन्दा जटिल पक्ष सुदुर स्थान र त्यहाका गुफा पहिचान गर्नु रहेको थियो ।

दक्षिण–पश्चिम चीनको युन्नानमा एउटा गुफामा यस्ता चमेरो जसको सार्स भाइरस मानव संस्करणका सार्स भाइरससंग मेल खाईरहेका थिए, ती चमेरो भेटिए पछि त्यहाँ अनुसन्धानकर्ताले पाँच वर्ष बिताए र त्यहाँका चमेरोमाथि सूक्ष्म निगरानी गरे । अनुसन्धानकर्ताहरुका लागि अचम्मको कुरा के थियो भने युन्नान प्रान्तका कोही पनि व्यक्तिलाई प्रभावित नगरिकन हज्जारौं किलोमिटर टाढा बस्ने मानिससम्म चमेरोबाट यो सार्स भाइरस कसरी आइपुग्यो ? उनीहरुले ‘कमनसेन्स’को भरमा अनुमान लाए सायद यस्तै चमेरोको कुनै अन्य समूह मानव बस्ती नजिक पनि रहेको हुनसक्छ । अनुसन्धानकर्ताले त्यसैबेला यस भाइरसले भविष्यमा गएर फेरी कुनै ठूलै संकट निम्त्याउन सक्ने चेतावनी पनि दिएका थिए । (लेखक नयाँ दिल्लीबाट सञ्चालित हुने अपइन्डिया अनलाइनसँग आबद्ध छन् ।)

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतवार ०८:४६