सूचनाको शक्ति - The Power Of Information

        

चीनबाट अत्यावश्यक मेडिकल सामग्री लिएर आयो विमान

काठमाडौं । कोरोना भाइरसविरुद्धको अभियानका लागि अत्यावश्यक मेडिकल सामग्री चीनबाट नेपाल आइपुगेको छ । चीनका विभिन्न राज्य तथा संगठनले प्रदान गरेका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)सहित अत्यावश्यक सामग्रीको पहिलो लट लिएर विमान चीनको ग्वान्झाउबाट काठमाडौँ आएको हो ।

सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका अत्यावश्यक सामग्रीसहितको विमान आज बिहान अवतरण भएको हो । सो विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका मास्कसहितका सुरक्षात्मक सामग्री पनि ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानबाट १२.६६ टन चिकित्सा सामग्री नेपाल ल्याइएको हो । अरु राज्यले प्रदान गरेका सहयोगहरु पनि आउने क्रम जारी रहने जनाइएको छ । चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो । सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतवार ०८:०९