
बाँके । काठमाडौंबाट नेपालगन्जका लागि उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज दुर्घटनामा परेको छ । कल साइन ९ एन एकेयू भएको टुवीनअटर जहाज नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो ।
जहाज विहान ११ः३५ बजे धावन मार्गबाट चिप्लिएर ७३ मिटर बाहिर झाडीमा पुगेको थियो । कोरोना आशंकीत विरामीहरुको स्वाब लिन आइरहेको जहाज नेपालगन्ज विमान स्थलमा अवतरणका क्रममा तीव्र हावा चलिरहेका कारण दुर्घटनामा परेको जनाइएको छ । जहाजमा चालक दलका तीन सदस्य र दुई डाक्टर गरी पाँच जना सवार थिए ।
जहाजमा पाइलट केबी लिम्बु, को–पाइलट महेश पाण्डे, एयरहोस्टेस किरण आचार्य, डाक्टर प्रवेश पन्त र डा.सन्देश देवकोटा रहेको नेपाल एयरलाइन्स नेपालगन्जका स्टेशन प्रमुख प्रशान्त विकले बताए । स्टेशन प्रमुख विकका अनुसार जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट घस्रिएर घाँसे मैदानमा पुगेको थियो । जहाजभित्र रहेका सवैको उद्दार गरिएको र सवै सकुशल रहेका छन् ।
जहाज अवतरणका क्रममा धावनमार्ग नजिकै पुग्ने बेला आकाशमै अनियन्त्रितजस्तो देखिएको स्थानीयहरुले बताए । विमान दुर्घटना भएकाले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजमा संकलन गरिएको स्वाब पनि कोरोना चेकजाँचका लागि अब काठमाडौं समस्या हुने देखिएको छ । नेपाल लकडाउनका कारण विमान र यातायात सवै बन्द भएकाले नेपाल सरकारको निर्णय अनुसार कोरोना आशंकीत विरामीहरुको स्वाब लिन नेपाल एयरलाइन्सको नेपालगन्ज आएको थियो ।



सत्यपाटी ।