दिउँसोको एक बज्नै लागेको छ । मैले सञ्चो महसुस नगरेको लगातार चार दिन भयो । साथीहरूको सहयोग पाउनलाई पनि अलि गाह्रो । कोरोनाको समयमा यदि सामान्य रुघाखोकी मात्रै हो भने पनि द्वन्द्धकालका माओवादी झैं आभाष हुन्छ मलाई । अझ कलेज ठप्प पारेर हामीलाई त बिरामीको उपचारमै लगाइएको छ । खोक्दै र सिँगान बगाउँदै काममा जाने कुरा भएन । काममा फोन गरेर भनेँ, म सन्चो नभएसम्म काममा आउँदिन । मैले भगवानसँग प्रार्थना गरेँ यो कोरोना चाहिँ नभइदियोस् ।
किनकि म अब दुई हप्ता घर बस्नुर्पयो भने ३८.५ घण्टा हप्ताले दुई हप्तामा ७७ घण्टा हुन आउँछ । यो भनेको ठाडै मेरो फाइनल परीक्षामा माइनस भएर बस्दिनसक्छ । नढाँटी भन्नुपर्दा यही एउटा कुराको डरले ९०० युरोको टिकट स्थगित गरेर मैले यतिबेला नेपाल नजाने निर्णय लिएको थिएँ । बिरामी भएपछि मनोबल घट्दै गयो । बरु नेपाल नै हुन पाएको भए हुन्थ्यो म यसै पनि क्वारेन्टाइनमा बस्नुपर्छ भने नेपाल गएरै बस्थेँ नि । यहाँ पानी तताएर खाने जाँगर समेत मरिसकेको छ ।
युरोप अमेरिकामा कोरोना फैलिएसँगै मिनेट मिनेटमा सञ्चार माध्यममा नयाँ नयाँ समाचारहरू आइरहेका छन् । हिजो एक दिन कम्प्युटर नचलाउने निर्णय गरेँ । नपढ्ने, नलेख्ने, आँखा चिम्लिएर पल्टिमात्र रहने मेरो एकल इजलासले पारित पनि र्गयो । अदुवा कुटेर मरिच ल्वाङ्ग हालेर कालो चिया बनाएँ । थर्मोमिटर साथमै छ । एकएक घण्टामा ज्वरो नाप्नुपर्ने डाक्टरको निर्देशन छ । तापक्रम लिइरहेँ, चिया पिउँदै । पकाएर खाने जाँगर मलाई फिटिक्कै लागेको छैन । म पल्टिमात्र रहेँ । साँझपख झन् झन् गाह्रो हुँदै गयो । टाउकोमा चिसो हात लग्छु भनेर निधार छाम्दा समेत छाला दुख्ने भइसकेको छ ।
घाँटी अब घाँटी जस्तो रहेन, नेपालको पञ्चेबाजा झैं भयो । कहिले आवाज निस्किएको थियो अत्तोपत्तो छैन, बोल्ने मान्छे पनि त कोही छैन । धन्न मलाई अति नै गाह्रो भयो के गर्नुपर्छ भन्ने कुराको मलाई ख्याल छ । र, ट्याक्सी बोलाएँ । हस्पिटल पुगेर पहिला फोन गरेँ र भनेँ ( म यहीँको विद्यार्थी हुँ । म युरोलोजीमा काम गर्छु, मलाई बुधवार साँझदेखि यस्ता लक्षणहरू देखिएका छन् । म विदामा कतै गएको छैन । म कोरोना हुन सक्ने कोही मान्छेको सम्पर्कमा गएको मलाई याद छैन र म कोठामा पनि एक्लै बस्छु ।
के म भित्र आउन सक्छु ?
मैले हस्पिटल भित्र प्रवेशका लागि अनुमति मागेँ । तर, त्यहाँ चिनेको मान्छेले पनि नचिनेको झैं गर्छन्, ठ्याक्कै नचिनेको झैं । मैले त्यहाँको दशथरी झमेलाबाट बच्न मेरो कार्ड देखाएँ । त्यहाँ अरु कोही बिरामी पनि थिएनन् । मेरो पालो आइहाल्यो । तिमीलाई इन्फ्लुएन्जा भएको हुनसक्छ, सकेसम्म सन्चो नहुन्जेल काममा नआउ । सन्चो भएपछि तिमीले काम गर्न आउँदा हुन्छ । म बाहिर निस्किएँ । चित्त अझै बुझेको छैन ।
मैले इमर्जेन्सी कक्षमा फेरि फोन गरेँ र ढोका बाहिर उभिइरहेँ । र, भनेँ डाक्टरहरूले मलाई यसो भनेका छन् तर मलाई यदि इन्फ्युएन्जा नभएर कोरोना भएको रहेछ भने के गर्ने? उताबाट एकछिन ढोकामा कुर्न निर्देशन आयो । सामान्यतया इमर्जेन्सीको कक्षमा बिरामीको चाप हुन्छ, आफ्नै आँखाले प्रत्यक्ष देखिन्छ । प्रत्येक दिन धेरै झिँजो लाउँदिन भन्ने भन्ने पनि मन छ । एक घण्टा पछि फेरि घण्टी बजाएँ । ‘ए तिमिसँग चाबी छ भने खोलेर आउन मलाई भ्याइनभ्याइ छ ।’ मैले कालो सलले मुख छोपेको छु । बिरामीहरू वाल्ल परेर मलाई हेरिरहे ।
मैले भने, ‘नडराउनुहोस् मलाई केहि पनि भएको छैन । मुख ढाकेको मात्र छु ।’ यो कस्तो वाहियात सुनिन्छ । कसलाई पत्यार लाग्छ ? म त्यहाँ उभिएर कुरा गरेँ । मेरो टेष्ट कुनै हालतमा नि नगर्ने, सन्चो भएपछि काममा आउँदा हुन्छ भनेपछि म ट्याक्सी लिएर घर फर्किएँ । सन्चो महसुस मलाई अझै भएको छैन । खोकी त बन्द भयो तर त्रास बन्द भएको छैन । म सरसफाइमा अतिरिक्त ध्यान दिने मान्छे हुँ । अनि अति धेरै नाकनिके पनि । खानामा मेथी, ज्वानो, लहरा बहरा पातहरू म पन्छाई पन्छाई खान्छु । खाना खाँदा छिमेकमा कसैले हाच्छ्युँ गरे वा सिगान पुछे, म खाना छाडिहाल्छु ।
घरकै सदस्यले समेत खाना खाँदा आवाज आए म खाना छोड्दिन्थेँ । चिया पिउँदा, सुपहरू खाँदा, आइसक्रिम खाँदा ठूलो ठूलो आवाज निकाले मेरो मन भित्रै निचोरिएर आउँछ र म रीस सम्हाल्नै सक्दिन । मेरो दिदी मलाई रीस उठाउनलाई मेरो नजिक रहेर ठूलो ठूलो स्वरमा चिया पिउँथी । म यहाँ पनि नाकनिके, नेपालमाजस्तै । म सधैँ खाने रेष्टुरेन्टभन्दा बाहिर गएर कहिल्यै खाँदिन । वियर, वाइन खान त के मेरो खानाको वरिपरि पनि देख्न सक्दिन । मेरो अन्टी, ठूलोममीहरू मलाई हजुरआमा भन्नुहुन्छ । म ठ्याक्कै हजुरआमा जस्तै छु । म यस्ता कुराहरू यति छिटै अपनाउन सक्दिन । किनकि मैले कहिल्यै खाएको छैन ।
यसको स्वाद कस्तो हुन्छ पनि मलाई थाहा छैन । घिरौंला, भन्टा, सिमी, बोडी जस्ता तरकारीको स्वाद कस्तो हुन्छ मलाई थाहा छैन र मेरो भान्सामा पनि पाक्दैन । मेरो हजुरआमा भन्नुहुन्थ्यो – नाकनिकेको भागमा चिप्लेकिरा । यो कोरोनाको समयमा इन्फ्युएन्जाले समाउनु पनि एउटा मज्जा रहेछ । सन्चो नहुँदा धेरै सम्झना हजुरआमाको र ममीको आयो । यस्तै, ज्वरो मलाई ४ क्लास पढ्दा आएको थियो । यत्तिनै गल्ने गरी । यत्तिनै ढल्ने गरी । हरेक घण्टा मलाई यति त मैले कहिल्यै गलेको थिइँन भन्ने मात्र आभाष हुन्छ । तर, उठेर केही गर्ने जाँगर शून्य । मलाई सन्चो नहुन्जेल कोरोना सम्बन्धी न्युज नहेर्ने प्रण गरेको छु ।
सबैजना स्वस्थ रहनु होला । म जस्तो नाकनिक नगरी पौष्टिक आहार खानुहोला । यस्तो समयमा घरपरिवारसँग हुन पाउनु भनेको पनि ठूलो बरदान हो । रुघाखोकीदेखि ज्वरो लगायत श्वासप्रश्वासको समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गएर देखाउनुहोला । ज्वरो आफैँमा रोग होइन । तिम्रो शरीरमा केही ठिक छैन भनेर आउने चिठी जस्तै हो ज्वरो । सरसफाइ र खानपिनमा ध्यान दिनुहोस् । म जस्तो अल्छी नगर्नुहोस् । यो समय केही उचित कार्य गर्न खर्चनुहोस् । भिडभाडलाई बहिष्कार गर्नुस् । घरै बसौं अत्यावश्यक सामानहरूको कालो बजारीमा रोक लगाऔं । मिलेर बाँचौं । मिलेर बचाऔं । जय देश ! जय नेपाल !
एलिजा हुमागाई ।