सूचनाको शक्ति - The Power Of Information

        

कोरोना त्राससँगै बाँकेमा रगत अभाव

बाँके । कोरोना भाइरसका कारण यतिबेला देशपुरै लकडाउन छ । देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ । विशेषगरि संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो ।

संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । उनले इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखेको बताउँदै संस्थागतरुपमा रक्तदान नभएकोले सर्वसुलभरुपमा रगत उपलब्ध गराउन नसकिएको बताए ।

उनका अनुसार जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था छ । ‘धेरै पिन्ट रगत आवश्यक परे दिन सक्ने अवस्था हामीसँग छैन,’ उनले भने, ‘इमरजेन्सीका लागि राखेको रगतले धेरैलाई धान्न सक्ने अवस्था छैन । संस्थागत रक्तदान गर्न हामी अपिल गर्दछौँ ।’

कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै उनले बेलैमा रक्तदान गर्न अपील गरेका छन् । ‘सट्टा भर्ना गर्न नसक्ने बिरामीलाई रगत दिन सक्ने अवस्था छैन,’ उनले भने । उनले तत्कालै संस्थागत रक्तदान नभए समस्या आउन सक्ने औँल्याउँदै समस्या आउनुअघि नै रक्तदान गर्न रक्तदाता र संस्थासँग आग्रह गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार ०९:१४