सूचनाको शक्ति - The Power Of Information

        

कोभिड–१९ : इटालीमा एकै दिन ९१९ जनाको मृत्यु

एजेन्सी । इटालीमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको ज्यान गएको हो । कोरोना भाइरसको महामारी फैलिएयता एकैदिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।

युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेका छन् । तर पनि संक्रमितको मृत्यु हुने क्रम भने कम हुन सकेको छैन । लकडाउन अप्रिल तीनपछि पनि लागु हुने शुक्रबार सरकारी अधिकारीले बताएका थिए । कोभिड–१९ कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा ज्यान गुमाउनेको संख्या तीव्र बढेको हो ।

बिहीबार मृत्यु हुनेको संख्या कम भएपछि अब सो क्षेत्रमा अवस्था सुधार हुँदै गएको हो कि भन्ने अपेक्षा गरिएको थियो । तर शुक्रबार अहिलेसम्मकै धेरैको मृत्यु भएपछि चिन्ता थपिएको छ । नयाँ संक्रमण दर भने बिहीबार भन्दा केही कम देखिएको छ । शुक्रबार इटालीमा पाँच हजार ९५९ जनामा नयाँ संक्रमण देखिएको छ । इटालीमा कुल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ । यस्तै देशको दक्षिणी क्षेत्रमा संक्रमण फैलिने चिन्ता पनि थपिएको छ ।

भारतमा ज्यान गुमाउनेको संख्या २० पुग्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिमेकी राष्ट्र भारतमा तीब्र गतिमा बढेको देखिएको छ । हालसम्ममा भारतमा २० जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने ७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि हरेक दिन बढिरहेको छ । भारतमा बिहीबार मात्रै सात जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

छिमेकी राष्ट्रमा तीब्र गतिमा फैलिरहेको कोरोनाको संक्रमणले नेपालमा समेत त्रास बढेको छ । नेपालका लाखौँ मानिसहरु भारतका विभिन्न स्थानमा मजदूरी गर्न जाने गरेका छन् । पछिल्लो समय कोरोनाको त्राससँगै भारतबाट हजारौँ नेपालीहरु घर फर्किएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा नराखिएको हुँदा गाउँगाउँमा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु समेत त्रसित बनेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार ०७:४४