सूचनाको शक्ति - The Power Of Information

        

‘लकडाउन’ अवज्ञाविरुद्ध बाँकेमा कडा रणनीति, निषेधाज्ञाको सम्भावना

बाँके । कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिममा रहेको बाँकेमा स्थानीय प्रशासनले नयाँ रणनीतिका साथ प्रबन्ध मिलाएको छ । देशभर ‘लकडाउन’ भइरहेको अवस्थामा बाँकेमा प्रभावकारी नभएपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले नयाँ रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

बाँकेमा कोरोना संक्रमण हुन नदिन नयाँ रणनीतिका साथ अघि बढेको जिल्ला सुरक्षा समितिले ‘लकडाउन’ अवज्ञाविरुद्ध कडा रणनीति लिएको छ । ‘आज (शुक्रबार)सम्मको अवस्थालाई हेरेर बाँकेमा निषेधाज्ञा जारी गर्न सक्ने गरी रणनीति बनाएको छ,’ जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने ।

बैठकमा बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले रोगले मान्छे, पद, जात, धर्म केही पनि नचिन्ने भएकाले सबै गम्भीर हुनपर्ने बताए । नेपाल प्रहरीले सुरक्षा चेकजाँचलाई कडाई गरिएको बताउँदै भने नगरबासीलाई आ–आफ्नो घरमै सुरक्षति भएर बस्न आह्वान गरिरहे पनि अटेरी गरिरहेकाले अब कडा रणनीति बनाएर प्रहरी कडारुपमा प्रस्तुत हुने बताए ।

बैठकमा नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव काशीराम शर्मा र सद्भाव दैनिकका कार्यकारी सम्पादक कमल न्यौपानेले कोरोना भाइरस संक्रमणको खतरालाई औल्याउँदै आ–आफ्नो राय प्रस्तुत गरेका थिए । पत्रकारद्वय शर्मा र न्यौपानेले ‘लकडाउन’ पूर्ण पालना नभएको भन्दै त्यसबाट उत्पन्न हुने परिस्थितिलाई मध्यनजर गरेर सुरक्षा समितिलाई रणनीति तयार गर्न आग्रह गरेका थिए ।

न्यौपानेले सामान्य अधिकार हनन् हुन्छ कि भन्ने विषय गौण भएको बताउँदै भने, ‘अहिले व्यक्तिगत अधिकारका कुरा गर्ने बेला होइन, हामी पहिले कोरोना संक्रमण हुन नदिएर सुरक्षित बनौं, अनि हाम्रा अधिकारका विषयमा परिस्थिति सामान्य भएपछि बहस गरौंला । बरु अधिकारका कुरा गर्नेहरुले कोरोना भाइरसविरुद्ध मानिसले बाँच्न पाउने अधिकारका विषयमा मुद्दा हाले हुन्छ ।’

पत्रकार महासंघ बाँकेका सहसचिव शर्माले भने, ‘बाँकेमा ‘लकडाउन’ पूर्ण पालना भएको छैन, यसमा सबै गम्भीर बनेर नयाँ रणनीति बनाउनुपर्छ । यस्तो समयमा नागरिकका सामान्य अधिकारहरु कुन्ठित हुन सक्छन् । तर, कोरोना भाइरस संक्रमण हुन नदिने अधिकारलाई पनि सबैले ख्याल गर्नुपर्छ । यसमा सामान्यरुपमा मानवअधिकारका कुराहरु कुण्ठित हुन सक्छन् । यो कसैले आपत्ती गर्नुपर्ने विषय नै होइन ।’

बैठकमा प्रजिअ खड्काले कोरोना संक्रमण हुन नदिन सबै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ राखिएको बताए । तीनवटै सुरक्षा निकायहरु उच्च सतर्कताका साथै परिस्थितिलाई काबुमा राख्न ‘हाइअलर्ट’ अवस्थामा रहेका छन् । यसका लागि सबैखाले रणनीति तय गरिएको सुरक्षा स्रोतले जनाएको छ । तय गरिएका सुरक्षा रणनीतिहरु आवश्यकताका आधारमा कार्यान्वयनमा लैजाने जनाइएको छ ।

नेपाली सेनाको भैरवप्रसाद गण राँझाका गणपति नकुल थापाले कोरोना संक्रमण हुन नदिन नेपाली सेना ‘हाइअलर्ट’मा रहेको बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताए । बैठकमा कोरोनाका विरुद्धमा एकजुट हुनका लागि सबैलाई अपिल समेत गरिएको छ ।

त्यस्तै प्रजिअ खड्काका अनुसार सुरक्षा समितिको बैठकले यसअघि ‘लकडाउन’को पूर्ण पालना भए/नभए विषयमा शनिबार विहान समिक्षा गरेर त्यसपछि निषेधाज्ञा लगाउने/नलगाउने विषयमा अन्तिम निर्णय गर्नेछ । शुक्रबार नेपालगन्जका त्रिभूवन चोक, सदरलाइन, त्रिवेणी मोड, फुलटेक्रा, एमपी स्कूल रोड, घरबारी टोल, रानीतलाउ लगायतका क्षेत्रमा ‘लकडाउन’को पूर्ण पालना नहुँदा थप चुनौति देखिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार २१:५५