सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा सात लाखको आकस्मिक कोष, २० बेडको क्वरेन्टाइन

बाँके । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि बाँके डुडुवा गाउँपालिकाले आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले कोरोनाबाट उत्पन्न जटिल समस्याको व्यवस्थापन तथा कार्यान्वयनका लागि रु.७ लाखको आकस्मिक कोष बनाउने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले कोष बृद्धिका गर्न थप रकम जम्मा गर्नका लागि सबैमा आवहान समेत गर्ने निर्णय गरेको छ । गाउँपालिका अन्र्तगत रहेका सम्पुर्ण कर्मचारीहरुले तीनदिन बराबरको पारिश्रमिक उक्त कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।

उनका अनुसार गाउँपालिका अन्तरगत विभिन्न शाखामा कार्यरत करिब २५० बढी कर्मचारीहरुले आफुले पाउने पारिश्रमिकबाट ३ दिनको पारिश्रमिक जम्मा गर्नेछन् । यस्तो जटिल संकटको अवस्थामा मानवीय सहयोगका लागि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो । यस्तै बैठकले गाउँपालिकामा ३० बेडको क्वारेन्टाइन बनाउन शुरु गरेको छ ।

गाउँपालिकाको वडा नम्बर २ बेतहनी स्वास्थ्य चौकी र वार्ड नंं ४ स्थित आधारभुत विद्यालय शाहपुर्वामा १०–१० वटा बेडको क्वारेन्टाइन केन्द्र बनाउने निर्णय भएको अध्यक्ष चौधरीले बताए । उनका अनुसार गाउँपालिका सिमासंग जोडिएकाले भारतबाट समेत मानिसहरु आउने भएकाले र सरकारको निति अनुसार क्वारेन्टाइन बनाउन थालिएको छ ।

अहिले तत्काल दुई वटा स्थानमा १० शैयाको क्वारेन्टाइन बनाउने र पछि आवश्यकता अनुसार वार्ड नंं ६ मा समेत १० बेडको क्वारेन्टाइन बनाउने लक्ष्य रहेको अध्यक्ष चौधरीले बताए । अहिले गाउँपालिकामा स्वास्थ्य सरसफाई तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको कार्य भइरहेको छ ।

गाउँपालिकाले हरेक नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी प्रत्येक घरधुरीलाई साबुन र मास्कको व्यवस्थापनको समेत तयारी गरेको छ । मानिसहरुलाई अत्यावश्यक अवस्था बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको र जनताले लकडाउनको पालना गरिरहेको पालिका अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १४:१०