सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका ११० जना क्वारेन्टाइनमा

फाइल तस्वीर

फाइल तस्वीर

सुर्खेत । भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन)मा राखेको छ । त्यस्तै आज फेरि सम्पर्कमा आएका थप आठ पुरुषलाई वीरेन्द्रनगर नगरापलिकाको सहयोगमा जन नमूना मावि सुर्खेतको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु बाँके नेपालगन्जको रुपैडिया र सुदूरपश्चिम कञ्चनपुरको गड्डाचौकी हुँदै सुर्खेत भित्रिएको बताउँदै आज आएकासहित गरेर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११० पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सुर्खेत भित्रिएकामध्ये १०४ पुरुष र ६ महिला रहेको जानकारी दिए । ‘कोरोनाको महामारीलाई ध्यानमा राखेर उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित अशोका होटलमा व्यवस्था गरिएको छ,’ मन्त्री रावलले भने, ‘कर्णाली सरकारको पहलमा उनीहरुलाई सुर्खेतमा व्यवस्था मिलाइएको हो ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसहित अनुगमन गर्न आज वीरेन्द्रनगर खुलामञ्चमा पुग्नुभएका सामाजिक विकासमन्त्री रावलले नेपाली सेनाद्वारा भइरहेको चार सय क्वारेन्टाईन निर्माण अन्तिम चरणमा पुगेको बताए । मन्त्री रावलका अनुसार निगरानी कक्षमा बस्ने सबै नागरिकको लाग्ने खर्च कर्णाली प्रदेश सरकारले बन्दोबस्त गर्नेछ ।

जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रायमाझीले ७८ जना होटल अशोकामा, २४ जनालाई अन्तरनिर्भर समाज सुर्खेतको छात्रावास र आठ जनालाई जननमूना मावि सुर्खेतमा राखिएको जानकारी दिए । त्यसैगरी ‘लकडाउन’को तेस्रो दिन सरकारको निर्देशन अवज्ञा गर्ने ६९ सवारी साधनलाई कारवाही गरिएको र जसमा ४० मोटरसाइकल रहेको उनले बताए ।

कर्णाली प्रदेश सरकारको मङ्गलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले भारतलगायत विभिन्न देशबाट स्वदेश फर्कने क्रममा बाटामा अलपत्र परेका नागरिकको उद्धारका लागि १११० नम्बरको हटलाइन सेवा शुरु गरेपछि आजका दिनसम्म ११० जना यहाँका नागरिकको उद्धार भएको प्रदेश सरकारले जनाएको छ ।

भारतबाट आएका २८ जना क्वारेन्टाइनमा बम

रुकुम पूर्वमा भारतबाट आएका २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतमा कोभिड १९ को संक्रमण रहेको र त्यहाँबाट आएका उनीहरुमा पनि संक्रमण हुन सक्ने भन्दै सम्भावित जोखिम न्यूनीकरण गर्न उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरु रुकुमको सिस्ने गाउँपालिकाका हुन् ।

गाउँपालिकाले २८ जनालाई क्वारेन्टाइनमा राखेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या ३२ रहेको छ । यसअघि जापानवाट आएका एक जना र भारतवाट आएका ४ जानलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई सिस्ने गाउँपालिका वडा ५ मा रहेको रुक्मिणी माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी (प्रहरी निरीक्षक) दिनेश गुरुङले जानकारी दिए ।

साथै जिल्ला अस्पताल रुकुम पूर्व मा ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा ३२ जनालाई जिल्ला अस्पतालको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा राखिएको छ । भने अन्य १६ जनालाई भने होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ । जिल्लामा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुबाट कोही संक्रमित देखिए उपचारका लागि औषधि र बिरामी जाँचमा प्रयोग गरिने आवश्यक सामग्री प्रदेश सरकारसँग समन्वय गरी उपलब्ध गराउन लागिएको जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र वलीले बताए ।

भारतमा कोरोनाको संक्रमण फैलिएपछि त्रासका कारण मजदुरीका लागि भारत गएकाहरु नेपाल फर्किरहेका छन् । जिल्ला अस्पतालमा भने आवश्यक सामग्री नहुँदा उनीहरुको प्रभावकारी स्वास्थ्य परीक्षणमा समेत समस्या आउन थालेको छ । जनशक्ति अभाव र आवश्यक सामग्री नहुँदा समस्या छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार ११:०१