सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : पर्यटन क्षेत्र तहसनहस

सुनसान बनेको गाभर भ्याली होमस्टे ।

सुनसान बनेको गाभर भ्याली होमस्टे ।

बाँके । कोरोना भाइरसले उत्पन्न त्रासका कारण बाँकेका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् । बाँकेका पर्यटकीय क्षेत्र गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दीर लगायतका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् । यो पर्यटकका लागि उपयुक्त सिजन हो, यही सिजनमा पर्यटक सुनसान छन् ।

होमस्टे एसोशियसन नेपाल (होसान)का केन्द्रीय सचिव एवं गाभर भ्याली सामुदायीक होमस्टेका सञ्चालक कृष्णलाल चौधरीले भने, ‘कोरोनाले पर्यटन क्षेत्रलाई तहसनहस पारेको छ ।’ अहिले बाँकेको पर्यटन क्षेत्र पुरै ‘लकडाउन’ छ । यसले पर्यटन व्यवसायीहरु आर्थिकरुपमा धरासायी बनेका छन्,’ सचिव चौधरीले भने, ‘बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।’

उनले कोरोनाका कारण पर्यटन क्षेत्र एक महिनादेखि पुरै ‘लकडाउन’ भएको बताए । खासगरी अंग्रेजी महीना अक्टोवर, नोभेम्बर र डिसेम्बरपछि मार्च, अप्रिल र मे महीनालाई नेपालमा पर्यटक आउने सिजन हो । तर सिजन सुरु हुँदै गर्दा नेपालको पर्यटन क्षेत्र कोरोनाले तहसनहस पारेको सचिव चौधरीको भनाई छ ।

‘पर्यटकीय क्षेत्रका होटलहरु पूर्णरुपमा बन्द छन्, मुख्य गेटमा ताला लगाएर बसेका छौं,’ सचिव चौधरीले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल शुन्य छ । यस्तो बेलामा सरकारले पर्यटन क्षेत्रका लागि राहतको प्याकेज ल्याउन जरुरी छ ।’ कोरोना संक्रमणको समस्या कहिलेसम्म रहन्छ भन्ने निश्चित नहुँदा पर्यटन व्यवसायी थप अन्योलमा छन् ।

नेपाल सरकारले नै घोषित नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित गरेपछि पर्यटनमा संकट देखापरेको पर्यटन व्यवसायीहरुले बताएका छन् । होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भास्कर काफ्लेले कोरोनाकै कारण पर्यटन व्यवसाय धरासायी हुँदा करोडौंको नोक्सानी व्यहोर्नुपरेको बताए ।

‘नेपाल सरकारले करोडौं रकम खर्चेर नेपाल घुम्न आउन पर्यटकलाई आह्वान गरिरहेको थियो । विश्वभरका पर्यटकलाई बोलाइरहेको थियो । सरकारको त्यो लगानी ‘बालुवामा पानी खन्याए’जस्तै भएको छ । यो नेपालकै लागि ठूलो दुर्भाग्य हो । यसले सरकारलाई मात्रै होइन पर्यटन व्यवयासीलाई पनि तहसनहस बनाएको छ,’ अध्यक्ष काफ्लेले भने ।

उनले मानसरोवरको सिजन सुरु हुनै लाग्दा देखिएको कोरोनाको कहरले पर्यटन व्यसायीलाई थला पारेको छ । अध्यक्ष काफ्लेले भने, ‘यतिबेला मानसरोवर जाने पर्यटकहरुका लागि होटल बुकिङ्ग खुला हुन्थ्यो । बैशाखदेखि मानसरोवरको यात्रा सुरु हुन्थ्यो । यही अवस्था रह्यो भने यसपाली मानसरोबर जाने पर्यटकको संख्या शुन्य हुने देखिन्छ ।’

गाभर भ्यालीमा रहेको होमस्टेको गेटमै लगाइएको ताला ।

परिस्थिति समान्य नहुँदासम्म पर्यटन तथा होटल व्यवसाय क्षेत्र ठुलो मारमा परेको उनले बताए । ‘राज्यकै अर्थतन्त्रको पहिलो मेरुदण्डका रुपमा रहेको यो क्षेत्र ठप्प छ । पर्यटन तथा होटल व्यवसायीहरुको रोजीरोटी गुमेको छ । यसको क्षति पुरा गर्न पर्यटन तथा होटल क्षेत्रले अबका दिनमा ठूलो मेहेनत गर्नुपर्ने देखिएको छ,’ अध्यक्ष काफ्लेले भने ।

अध्यक्ष काफ्लेका अनुसार कोरोनाले पर्यटन क्षेत्रमा छटपटी बढेको छ । ‘होटलमा पाहुना अभाव हुँदा कमाई शुन्यमा झरेको छ । बैंकको ऋण र किस्ता तिर्न होटल व्यवसायीलाई समस्या परेको छ । कर्मचारी र मजदुरलाई तलब खुवाउन गाह्रो परेको छ । भाडामा सञ्चालित होटलहरुले घरधनीलाई भाडा तिर्न समस्या परेको छ,’ उहाँले भने ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार कोरोना संक्रमणपछि १५ दिनदेखि पर्यटकका लागि निकुञ्ज पूर्णरुपमा बन्द गरिएको छ । कोरोना सुरु भएसँगै निकुञ्जमा पर्यटक आगमन शुन्य छ । उनले भने, ‘यो पर्यटकहरुका लागि उपयुक्त सिजन हो । यहीबेला कोरोनाको संक्रमण फैलिएपछि राजस्वमा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ ।’

‘लकडाउन’कै समयमा निकुञ्ज क्षेत्रमा चोरी सिकारी बढ्ने चुनौति थपिएको बताउँदै नियमित गस्तीलाई तीव्र बनाइएको जानकारी दिए । ‘अहिले पर्यटक आगमन नहुँदा चोरी सिकारीको चुनौति बढ्को छ । हामीले कार्यालयका नियमित कामसँगै दैनिक तीन/चार पटक निकुञ्जमा गस्ती गरिरहेका छौं,’ प्रमूख संरक्षण अधिकृत भट्टराईले भने ।

उनका अनुसार अहिले सेवाग्राहीलाई दिनुपर्ने अत्यावश्यकीय सेवाबाहेकका अन्य कामहरु पूर्णरुपमा बन्द गरिएको छ । पछिल्लो क्रममा भारतमा समेत कोरोना भाइरसको संक्रमण भेटिएपछि यहाँको पर्यटन क्षेत्रमा थप त्रास बढेको व्यवयासीहरु बताउँछन् । यहाँ धेरै पर्यटक भारतबाट आउने गरेकोमा अहिले पुरै रोकिएको छ ।

यस्तो अवस्थामा पर्यटक आउँदा त्रास र नआउँदा झन् समस्या देखिएको छ । कोरोना भाइरसकै कारण बाँकेको प्रसीद्ध र ठूलो शक्तिपीठ पूर्णरुपमा बन्द गरिएको छ । एक सातादेखि मन्दीरका सबै ढोकामा ताला लागेको छ । अहिले पुजाआजाका लागि आउने भक्तजनहरुलाई देख्दा पनि डराउनुपर्ने अवस्था रहेको बागेश्वरी मन्दीरका मुल महन्त चन्द्रनाथ योगीले बताए ।

सुनसान रहेको गाभर भ्याली होमस्टे ।

घरबाटै नमाज

कोरोना महामारीबाट धर्म र संस्कारमा समेत आवश्यक परिवर्तन ल्याउनुपर्ने देखिएको छ । होली पर्वबाट शुरु भएको यो परिवर्तन अहिले धार्मिकस्थलमा नजान आव्हान गर्नुपर्ने अवस्थामा आइपुगेको हो । धार्मिकरुपमा अति संवेदनशील मानिएको इश्लामिक धर्माबलम्बीको नमाजलाई पनि समूहमा नजान औपचारिक आव्हान गरिएको छ ।

नेपालगन्जकै सबैभन्दा ठुलो जामा मस्जिदले घरमै जुमा (शुक्रबार) नमाज पढ्न आग्रह गरेको छ । जामा मस्जिदका महासचिव इरफान सिद्दीकीले जुमाको अघिल्लो दिन (बिहीबार) नै औपचारिक वक्तव्यमार्फम महामारीबाट जोगिनका लागि नेपाल सरकारले एक हप्ताअघि जारी गरेको अपील मान्न ध्यानाकर्षण गराएका छन् ।

‘शुक्रबार नमाज घरहरूमा पढ्नु सरकारलाई सहयोग गर्नु,’ महासचिव सिद्दीकीले जारी गरेको वक्तव्यमा भनिएको छ । लकडाउनको अवस्थामा आफुहरुले घरमै नियमित नमाज पढ्न थालेको धार्मिक अगुवाहरुले बताएका छन् । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको भन्दै महामारी फैलन नदिन सरकारले मन्दिर, मस्जीद, चर्च लगायतका धार्मिक केन्द्रमा भीडभाड नगर्न आव्हान गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार ११:२१