सूचनाको शक्ति - The Power Of Information

        

दशगजामा भोकभोकै नेपाली, रमिते सिडियो, प्रभावहिन ‘लकडाउन’

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै नेपाल–भारत सीमा नाका बन्द भएपछि भारतबाट मजदुरी गरेर फर्किएका नेपालीहरु जमुनाहा नाकामा अलपत्र अवस्थामा ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै नेपाल–भारत सीमा नाका बन्द भएपछि भारतबाट मजदुरी गरेर फर्किएका नेपालीहरु जमुनाहा नाकामा अलपत्र अवस्थामा ।

बाँके । भारतको गुजरातको एक होटलमा काम गर्ने १४ जना नेपाली बुधबार साँझ ५ बजे नेपाल–भारत सीमा क्षेत्र जमुनाहामा आइपुगे । काम गर्ने होटल बन्द भएपछि होटल मालिकले उनीहरुलाई नेपाल फर्किन भने । ‘होटल मालिकले होटलनै बन्द गरेपछि समस्या भयो,’ होटलमा काम गर्ने वीरेन्द्रनगर–६, सुर्खेतका ३७ बर्षिय बलबहादुर सिंहले भने ।

उनीहरुले गुजरातबाट नेपालसम्म आइपुग्दा सामान्य कष्ट झेले पनि नेपाली नाकामा सोचेंभन्दा बढी दुख पाएको सुनाए । ‘सीमामा पुग्दा अमानवीय व्यवहार भयो,’ उनले आफ्नो पीडा सुनाउँदै भने, ‘घर पुग्न नपाउँदै हाम्रो सरकारले थप पीडा दियो । न हामीलाई छाड्छ, न त क्वारेन्टाइनमै राख्छ । १० घण्टादेखि हामी सडकमै बसिरहेका छौं ।’

उनीसँग दैलेखका १५ जना छन् । जसमा चार बर्षिय र चार महिने दुई बालक छन् । उनीहरुले बुधबार रातभर जमुनाहास्थित दशगजा क्षेत्रको खुला आकाशमा रात विताएका छन् । दशगजा क्षेत्रभन्दा झण्डै दुई किलोमिटर नेपालतर्फ अस्थायी क्वारेन्टाइन छ । तर, उनीहरुलाई क्वारेन्टाइनसम्म राख्ने व्यवस्था यहाँको स्थानीय प्रशासनले गर्न सकेन ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै नेपाल–भारत सीमा नाका बन्द भएपछि जमुनाहामा चार महीने बच्चासहित अलपत्र परेकी दैलेख दुल्लु नगपालिका–११ की विष्णा बिष्ट ।

खुला आकाशमूनि बसेकाहरुको समुहमा एकाविहानै बालक रोइरहेको आवाज आयो । ‘रातभरको चिसो र भोकभोकै आमासँग दुध मागिरहेको बच्चाको आवाज सुनियो,’ इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘बच्चाको आवाज सुनेपछि मन थाम्न सकिन, बच्चाका लागि दुध मगाए र खुवाउन लगाए ।’

चारैतिर सुनसान भएकाले गोजीमा पैसा भए पनि पेट भर्न समस्या भएको अलपत्र परेका नारायण नगरपालिका–९, दैलेखका मानबहादुर थापाले सुनाए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको चाउचाउ र पानीको भरमा भोक मेटाएका छौं । तर, यहाँको सिडियोले हामीलाई न क्वारेन्टाइनमा पठाउनुहुन्छ, त न घर जान दिनुहुन्छ । यो कस्तो न्याय हो ?’

बाँकेका प्रमूख जिल्ला अधिकारीले माथिको आदेश भन्दै भारतबाट आएका उनीहरुलाई खुला आकाशमै रात विताउन बाध्य बनाए । बाँके प्रहरीले उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्‍याउने कोषिश भने नगरेको होइन । तर प्रजिअ खड्काले उनीहरुलाई त्यही रोक्न आदेश दिएपछि प्रहरीको जोडबलले मात्रै उनीहरुको उद्दार सम्भव भएन ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै नेपाल–भारत सीमा नाका बन्द भएपछि अभिभावकसँगै भारतबाट फर्किँदै गर्दा जमुनाहामा अलपत्र परेका दैलेख दुल्लु नगपालिका–११ का चार बर्षिय बालक सुशील बिष्ट ।

प्रहरी स्रोतका अनुसार उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्‍याउनकै लागि बुधबार राती १० बजेतिर गाडी पनि बोलाइएको थियो । ‘सिडियो सा’बले माथिको आदेश नआउँदासम्म सीमामै रोक्न आदेश दिएपछि हामीले दुई किलोमिटर टाढा रहेको क्वारेन्टाइनसम्म पु¥याउन सकेनौं । जेनतेन उनीहरुका लागि खानाको व्यवस्था मिलायौं,’ प्रहरी स्रोतले भन्यो ।

सीमामा अलपत्र पर्नेहरु वीरेन्द्रनगर–६, सुर्खेतका बलबहादुर सिंह र दुई बच्चासहित १५ जना दैलेखका छन् । जसमा नारायण नगरपालिका–९ का चार जना र दुल्लु नगरपालिका–११ का नौं जना र महाबु गाउँपालिकाका दुई जना रहेका छन् । उनीहरुलाई बिहीबार विहान नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाजा नास्ता खुवाएको छ । यसले उनीहरुलाई केही राहत भएको छ ।

भारतबाट आएकाहरु नेपाल–भारत सीमा क्षेत्र जमुनाहामा अलपत्र परेका नेपालीहरुको नामावली

त्यसो त सरकारले घोषणा गरेको ‘लकडाउन’ गर्ने निर्णयलाई बाँकेका सिडियो खड्काले प्रभावकारीरुपमा पालना गराउन सकेका छैनन् । बाँके प्रशासनको चरम उदासिनता, लापरबाही र कमजोर प्रशासनीक क्षमताका कारण नेपालगन्जबासीले ‘लकडाउन’को निर्णयलाई हरेक दिन साँझ ५ बजेपछि उल्लङ्घन गर्दै आएका छन् ।

तर, बाँकेस्थित सुरक्षा संयन्त्रले साँझ ५ बजेपछि पनि बाँकेलाई ‘लकडाउन’ गर्ने कुनैबारे चासो नदेखाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । बाँकेका सरकारकै निर्णय कार्यान्वयन गराउन नसकेर बाँकेका सिडियो ‘निरिह’जस्तै बनेका छन् । साँझ ५ बजेपछि नेपालगन्जका मुख्य बजारमा स्थानीयशरुको भीड ओहोरदोहोर गर्छ । स्थानीय प्रशासन मुकदर्शक बनेर रमिता हेर्छ ।

बाँके प्रशासन सरकारको निर्णय पालन गर्ने र गराउने काममा कमजोर देखिएको छ । यस विषयमा बाँकेका सिडियो आफै निरिह बन्दै गएका छन् । बजारभरि सर्वसाधरणको भीड भइरहँदा कोरोना संक्रमणको अत्याधिक जोखिम बढेको छ । लकडाउन अटेरी गर्नेहरुलाई घरभित्र बसाल्न कर्फ्यू लगाउनुको विकल्प नभएको धेरैको भनाई छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै नेपाल–भारत सीमा नाका बन्द भएपछि जमुनाहा नाकामा अलपत्र परेका नेपालीलाई चाउचाउ वितरण गर्दै सशस्त्र प्रहरी ।

‘जनता आफैँ नै अनुशासित भएर संक्रमण रोक्न स्वःस्फूर्तरूपमा तयार होउन भन्ने हाम्रो चाहाना हो,’ बाँकेका सिडियो खड्काले भने, ‘कसैले समाजमै रोग फैलनसक्ने गरी गैरजिम्मेवार व्यवहार गरेमा राज्य बल प्रयोग गर्न बाध्य हुनुको विकल्प छैन । आजको अवस्थालाई हेरेर हामी थप निर्णयमा पुग्छौं ।’ उनले आजको अवस्था हेरेर कर्फ्यू लगाउने सक्नेतर्फ संकेत गरे ।

सिडिओ खड्काले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको जोखिमबाट बाँकेलाई बचाउन कुनै पनि कसर बाँकी नराख्ने बताउँदै आए पनि व्यवहारतः कोरोना संक्रमणको खतराप्रति नजरअन्दाजसम्म नगरेको कतिपयको भनाई छ । तर, सिडिओ खड्काले भने आज पनि नागरिकले लकडाउन तोडे कर्फ्यू नै लगाउने तयारीमा आफूहरु पुगेको जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार ११:४५