सूचनाको शक्ति - The Power Of Information

        

अस्तव्यस्त ‘क्वारेन्टाइन’, भोकभोकै आशंकित

बाँके । क्वारेन्टाइन स्थल मानवीय आधारभूत आवश्यकता पूरा हुन सक्ने हुनुपर्छ । बस्तीभन्दा अलि टाढा हुनुपर्छ । यातायातको सुविधा हुनुपर्छ । सञ्चार र खानेपानीको सुविधा हुनुपर्छ । सरसरफाइ हुनुपर्छ । कसैलाई संक्रमणको लक्षण देखियो भने तुरुन्तै अस्पताल लान सक्ने गरी एम्बुलेन्स लगायतको आवश्यक सुविधा हुनुपर्छ । बसेका मान्छेहरूलाई सकारात्मक काउन्सिलिङ हुनुपर्छ ।

तर, बाँकेको नेपालगन्जमा रहेको अस्थायी क्वारेन्टाइनमा यी कुनैपनि प्रावधान पुरा गरिएका छैनन् । महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थायी कवारेन्टाइनमा समस्या नै समस्याबाट ग्रसित बनेको छ । उक्त क्वारेन्टाइनमा खानेपानीको समेत उचित व्यवस्थापन छैन । क्वारेन्टाइनमा बुधबार बेलुकादेखि तीन जना नागरिकलाई राखिएको छ । उनीहरु साँझैदेखि भोकभोकै छन् । फ्रान्सबाट आएर लुकेर बसेका भनिएका चार जनामध्ये तीन जनालाई बाँके प्रहरी प्रमुख एव. प्रहरी उपरीक्षक बीरबहादुर ओलीको सक्रियतामा खोजी बुधबार बेलुका नै क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनीहरूलाई त्यहाँ राखिए पनि बिहीबार विहान नौ बजेसम्म उक्त क्वारेनटाइनमा खानेपानीको समेत व्यवस्था हुन सकेको थिएन । क्वारेन्टाइनमा खानेपानीको समेत अभाव भएपछि ती नागरिकले आफूहरू पानीबिनै यहाँ बस्न नसक्ने बताएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले ती तीन जनालाई क्वारेन्टाइनमा राख्न आदेश दिएका थिए । तर, उनले क्वारेन्टाइनमा राखिएकाहरुका लागि आवश्यक खाद्य बस्तु र औषधी उपचारको अहिले पनि कुनै व्यवस्था गर्न सकेका छैनन् ।

यसले क्वारेन्टाइनमै रहेकाहरूको अवस्था दयनीय बनिरहेको छ । उनीहरू थप जोखिममा देखिएका छन् । क्वारेन्टाइनमा उनीहरुको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी तीन तहको व्यवस्था गरिएको क्वारेन्टाइनको सुरक्षा कमाण्ड सम्हालेका सेनाका क्याप्टेन बिकास लिम्बुले बताए । उनले भने, ‘हामीले सुरक्षाको प्रबन्ध मिलाएका छौ । अरू थाहा भएन ।’ क्वारेन्टाइनमा खटिएका नेपालगन्ज उपमहानगरपालिका अन्तरगत स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार क्वारेन्टाइनमा मान्छे ल्याएर राखिएको छ । तर, उनीहरूका लागि खानेपानीदेखि चियासम्मको पनि व्यवस्था हुन सकेको छैन् ।

क्वारेन्टाइनमा रहेका तीन जनाले बिहीबार विहान नौ बजेसम्म पानीसमेत खान नपाएको उनीहरु बताउँछन् । तर, बाँके सिडिओदेखि उपमहानगरपालिका यस बिषयमा अहिले पनि उदासिनै देखिएको छ । सीमा नाकामा पुगेर ठूलाठूला स्वरमा गफिने सिडिओ र जनप्रतिनिधिहरु उनीहरुलाई पानीसमेत उपलब्ध गराउने बिषयमा गम्भीर हुन सकेका छैनन् । क्वारेन्टाइनमा रहेकाहरूका लागि खानेपानी, साबुन लगायतका अत्यावश्यक बस्तुहरूका साथै खानाको समेत व्यवस्थापन हुन सकेको छैन् । यसैले उनीहरू कोरोनाको संक्रमण भन्दा पनि क्वारेन्टाइनको अस्तव्यस्तलाले झनै जोखिममा देखिएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १०:२४