सूचनाको शक्ति - The Power Of Information

        

‘लकडाउन’ फितलो देखिएपछि बाँकेका सिडियो भन्छन्, ‘अब कर्फ्यूको विकल्प छैन’

कोरोना संक्रमणको सन्त्रास

लकडाउन उल्लङ्घन गर्दै बुधबार ५ बजेपछि त्रिभुवन चोकमा ओहोरदोहोर गर्दै नेपालगन्जबासी ।

लकडाउन उल्लङ्घन गर्दै बुधबार ५ बजेपछि त्रिभुवन चोकमा ओहोरदोहोर गर्दै नेपालगन्जबासी ।

बाँके । न उनीहरुको अत्यावश्यक काम नै थियो, न उनीहरु सञ्चारकर्मी, न त सुरक्षाकर्मी, न स्वास्थ्यकर्मी नै । बुधबार बेलुका ५ः२० बजे नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, रानी तलाउ, अस्पताल रोड, विपी चोक लगायतका मुख्य ब्यापारिक क्षेत्रमा यस्तै यस्तै सयौं मान्छेको भीडभाड देखिएको थियो । त्यो भीड अहिले पनि यथावत छ । उनीहरु कुनै काममा हतारिएका वा कुनै समस्याले सडकमा उत्रिएका थिएनन् ।

न त उनीहरुका हातमा उपभोग्य बस्तु वा सामान नै थियो न त त्यसका लागि जादै थिए । केवल सडकमा निष्फिक्रीरुपमा आफ्नै उन्मादमा रुमलिरहेका थिए । सरकारले कोरोना भाइरसबाट बच्न देशभर लकडाउन गरिरहेको छ । लकडाउनको आज दोस्रो दिन । बाँकेको नेपालगन्जमा पनि बाँके प्रशासनले लकडाउनका साथै जनता कर्फ्यू कायमै राखेको छ । तर, यसको कुनै प्रभाव नगरि पाँच बजेपछि नेपालगन्जिया सडका उत्रिएका छन् ।

आइतबार मात्रै फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती कोरोना पोजेटिभ भेटिएको ३ दिन भित्र अर्को कोरोना भाइरस संक्रमित भेटिरहदाँ सरकारले लगाएको देशब्यापी लकडाउनलाई नै लत्याउदै नेपालगन्जबासी निष्फिक्री घुमिरहेका छन् । जनता आफैँ नै अनुशासित भएर संक्रमण रोक्न स्वःस्फूर्तरूपमा तयार होऊन भन्ने हाम्रो चाहाना रहेको थियो बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘कसैले समाजमै रोग फैलनसक्ने गरी गैरजिम्मेवार व्यवहार गरेमा राज्य बल प्रयोग गर्न बाध्य हुनुको विकल्प देखिएन ।

भोली विहीबार विहानको अवस्थालाई हेरेर यदि सरकारको लकडाउन यसैगरी उल्लङघन हुँदै गए भोलीदेखि बाँकेमा कर्फ्यू लगाउने तयारीमा प्रशासन रहेको छ । सिडिओ खड्काले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको जोखिमबाट बाँकेलाई बचाउन कुनैपनि कसर बाँकी नराख्ने बताए । उनले यसका लागि बुधबार साँझ नै बाँके प्रहरी प्रमुखलगायत सुरक्षा संयन्त्रका सवै निकायलाई आफूले निर्देशन दिइसकेको बताए । उनले भने, ‘मान्छे हुन्, गोली हान्नु भएन, सम्झाउदा मान्दैनन्, अब कर्फ्यूको विकल्प छैन ।’

उनले भने, ‘राम्रोसँग सूचना गर्दा नेपालगन्जबासीले त्यसको प्रवाह नगरेर उनीहरुले संक्रमणको यो कठिन घडीमा राजनीतिक दलहरुले गरेको बन्दजस्तै लकडाउनलाई सोचेँ, यो त्यस्तो होइन ।’ सिडिओ खड्काका अनुसार कर्फ्यू लगाइएमा अहिले जसरी अत्यावश्यक सामानका लागि घरबाहिर आउन पाइएको छ, पछि त्यो पनि पाइँदैन । उनले बुधबार साँझ बजारमा मान्छेको लहर देखेपछि जिल्लास्थित सुरक्षा संयन्त्रसँग छलफल गरि विहीबार पनि नागरिकले यसैगरि लकडाउन तोडे कर्फ्यू नै लगाउने तयारीमा आफूहरु पुगेको जानकारी दिए ।

लोकतान्त्रिक शासन प्रणाली भएको नेपालमा लकडाउनका अवधिमा अहिलेसम्म बल प्रयोग नगरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताउँछन् । उनका अनुसार नागरिकले नै संयम अपनाएर आ–आफ्नो दायित्व पूरा गर्नुपर्छ । ‘यो हामीले अपेक्षा गरेका हौं तर, बाँकेमा नागरिक संवेदनशील भएको देखिएन,’ उनले भने, ‘अब जिल्लास्तरीय सुरक्षा समितिले नेपालगन्जको यो दादागीरी तोडी सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनका लागि थप रणनीति बनाउँदैछ ।’

बहुसंख्यकको जीवनको रक्षाका लागि बिज्याइँ गर्नेहरूलाई कानूनबमोजिम नियन्त्रण गर्ने अधिकार जनताले नै राज्यलाई दिएका छन् । अब बाँके प्रशासनले यति अधिकार प्रयोग गर्ने अवस्था देखिएको कानुन व्यवसायीहरुको भनाई छ । कानून व्यवसायीहरुका अनुसार नेपालमा पनि सरकारलाई जनहितका लागि आवश्यक परेमा बल प्रयोग गर्ने प्रावधान भएका कानूनहरू छन् । यसैले सरकारले केही दिनका लागि लकडाउनलाई प्रभावकारी बनाउन आवश्यक परे बल प्रयोग गर्न सक्नुपर्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार २०:०२