सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज ‘लकडाउन’, निरिह ‘सिडिओ’

लकडाउन उल्लङ्घन गर्दै बुधबार ५ बजेपछि त्रिभुवन चोकमा ओहोरदोहोर गर्दै नेपालगन्जबासी ।

बाँके । सरकारले घोषणा गरेको लकडाउन नेपालगन्जबासीले पूर्णरुपमा उल्लंघन गरेका छन् । बाँके प्रशासनको चरम उदासिनता, लापरबाही र कमजोर प्रशासनीक क्षमताका कारण नेपालगन्जबासीले सरकारको घोषणा र बाँके प्रशासनको जनता कर्फ्र्यूलाई हरेक दिन साँझ ५ बजेपछि उल्लङ्घन गर्दै आएका छन् ।

तर, बाँकेस्थित सुरक्षा संयन्त्र साँझ ५ बजेपछि पनि बाँकेलाई लकडाउन गर्ने कुनै तयारीमा देखिँदैन । मंगलबार र बुधबार साँझ ५ बजेपछि नेपालगन्जका सुर्खेतरोड, त्रिभुवन चोक, सदरलाइन, अस्पतालरोड, रानीतलाउ, न्यूरोड, बसपार्क लगायतका स्थानहरुमा स्थानीयहरुको भीड ओहोरदोहोर गर्छ ।

उनीहरु निर्धक्कका साथ सडकमा गफिन्छन् । तर, सुरक्षार्थ वा सरकारको लकडाउन कार्यान्वयनमा खटिएको प्रहरी लकडाउनको अवस्थामा उनीहरुलाई घरभित्र पठाउनुको सट्टा उनीहरुसँगै गफिन ब्यस्त हुन्छ । यसले पनि बाँके प्रशासन सरकारको निर्णय पालन गर्ने र गराउने काममा कमजोर देखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का पनि यस विषयमा निरिह बन्दै गएका छन् । बजारभरि सर्वसाधरणको भीड भइरहँदा कोरोना संक्रमणको अत्याधिक जोखिम बढेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा जनता कर्फ्र्यू र लकडाउन घोषणा गरेर हुनेवाला छैन ।

बाँके प्रशासनले बाँकेमा कोरोनाको जोखिम रोकथाम गर्ने नै हो भने यहाँका नागरिकलाई कैदी बन्दि जस्तै घरभित्र थुनेर राख्न ‘कर्फ्यू’ लगाउनुको विकल्प देखिदैन । लकडाउन अटेरी गरेर सडकमा उत्रिने नेपालगन्जबासीलाई घरभित्र बसाल्न र कोरोना रोकथाम गर्न कर्फ्यू लगाउनुको विकल्प नभएको धेरैको भनाई छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १९:१२