सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज क्वारेन्टाइनबाट भागेकाबारे बेखबर प्रशासन, बाँकेमा धेरै ‘रिस्क’

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । नेपालगन्ज नाका हुँदै भारतदेखि आएका साढे ५०० नेपाली बुधबार क्वारेन्टानबाट भागे । फितलो प्रशासनका कारण उनीलाई व्यवस्थित गर्न नसक्दा भागेका हुन् । तर, यसको स्वीकारोक्ति न त प्रहरी गर्छ न जिल्ला प्रशासन नै । क्वारेन्टाइनमा दैलेख, जागरकोट, बांके, बर्दिया, सुर्खेत, दाङ लगायत जिल्लाबाट आएका झन्डै साढे ५०० नेपाली थिए ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाका अनुसार भागेकाहरुलाई अहिलेसम्म प्रशासनले खोजी नगरेको बताइन् । क्वारेन्टाइनमा बांके जिल्लालाई राखेर अरु जिल्लाकालाई सम्बन्धित ठाउँमा जिम्मा लागउने भन्ने थियो । मान्छे आत्तिएर आफू नभएको बेला भागेर गएको उनले सुनाइन् । उनले झन्डै ३०० जना भाग्दै गरेकालाई फिर्ता गराएर खाना खुवाइ व्यवस्थित तरिकाले घर फिर्ता गरिदिएको दाबी गर्छिन् ।

जिल्ला प्रशासन प्रमुख कुमार बहादुर खड्काले भागेर गएकाको खोजी गर्नु भन्दा पनि सम्बन्धित जिल्लामा फोन गरेर क्वारेन्टाइनमा राख्न अनुरोध गरेको बताए । नेपालगन्जको क्वारेन्टाइनमा अहिले कोहि पनि छैनन् । भारतदेखि आएका बाँके जिल्लाकै मान्छे कति जना थिए ? त्यसको कुनै जानकारी प्रशासनलाई छैन । र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने विषयमा यहाँको प्रशासन मौन छ ।

होम क्वारेन्टाइन ठिक भएको भन्दै प्रशासनले खोजी नगरेको उपमेयर थापाले सुनाइन् । ‘खोजी गर्ने काम प्रशासनको हो । हामीले पटकपटक भन्दा पनि सिडियो साबले होम क्वारेन्टाइन राख्ने भनेर छोडिरहनुभएको छ,’ उनले भनिन्, ‘घटना भएपछि वडाका जनप्रतिनिधिलाई समेत बोलाउँदा कसैले चासो देखाएनन, बाँकेमा धेरै रिस्क छ ।’ बाँकेका एसपी वीरबहादुर ओलीले यस विषयमा आफूलाई केहि जानकारी नभएको भन्दै गैरजिम्मेवारी जवाफ दिए ।

त्यस्तै, भारतको रुपैडिया नाकामा अलपत्र परेका ८० जना नेपालीलाई नेपालगन्ज नाका हुँदै घर फिर्ता गरिएको छ । सीमामा ज्वरो जाँच गराएर सबैलाई सम्बन्धित जिल्लामा पठाइएको भएपनि क्वारेन्टाइनमा राखेर सुरक्षा अपनाउनु पर्ने काम प्रशासनले गरेन । ‘सेल्फ क्वारेन्टाइन नै उपयुक्त छ,’ सिडियो खड्का भन्छन्, ‘त्यसैले हामीले क्वारेन्टाइनमा नराखी घरमै पठाउन उचित ठान्यौं ।’

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १८:४०