सूचनाको शक्ति - The Power Of Information

        

कोरोना नियन्त्रणमा डब्ल्युएचओको कदम : सुरु भयो चार औषधिको महापरीक्षण

एजेन्सी । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले संसारभरका देशलाई महापरीक्षणका लागि आग्रह गरेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी चार औषधिको महापरीक्षणका लागि आग्रह गरेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको परीक्षण सुरु भएको हो ।

ती औषधि कुन कुन हुन् ?

विश्व स्वास्थ्य संगठन ले यी चार औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी चार औषधिबाटै कोरोना भाइरसलाई हराउन सक्ने विश्वास डब्ल्युएचओको छ । यी चार औषधिसँगै संसारभरका वैज्ञानिक तथा चिकित्सकहरुले अन्य औषधिमा पनि अनुसन्धान जारी राखेका छन् । सार्स र मर्सका बेलामा तयार गरेका औषधिको पनि संसारभर प्रयोग गर्न अनुमति मिलेको थिएन । डब्ल्युएचओले जनाएका यी चार औषधिले संक्रमितलाई, उपचारमा संलग्न चिकित्सकलाई र रोगीका परिवारलाई सहयोगी बन्नसक्ने अपेक्षा गरिएको छ ।

१. रेमडेसिवीर – यो औषधि जिलिड साइन्सेजले इबोलाको उपचारका लागि बनाएको औषधि हो । यसले कुनै पनि भाइरसको आरएनएलाई फोड्छ । यसले भाइरसलाई मानिसको शरीरमा पुगेर नयाँ भाइरस बनाउन रोक्छ । अमेरिकाको सबैभन्दा पहिलो कोरोना संक्रमित व्यक्तिमा रेमडेसिवीर नामक औषधि चलाइएको थियो । गम्भीर आवस्थाको बिरामीमा यो औषधि चलाइएपछि उसलाई एक दिनमै केही आराम भयो । यो सम्बन्धि रिपोर्ट द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको छ ।

२. क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन – यो औषधिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वकालत गरेका थिए । उनले यो औषधिलाई गेम चेन्जर भनेका थिए । तर डब्ल्युएचओको वैज्ञानिक समितिले यो औषधि खारेज गरेको थियो । १३ मार्च २०२०मा जेनेभामा भएको डब्ल्युएचओको वैज्ञानिक समितिको बैठकले यो औषधि महापरीक्षणका लागि पठाउने निर्णय भने गरेको छ । यो औषधिको विषयमा संसारभरबाट माग आएपछि महापरीक्षणका लागि पठाइएको हो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने भाग नष्ट हुने र भाइरस आक्रमणका लागि आसफल तथा कमजोर हुन्छ ।

३. रिटोनावीर लोपिनावीर – सन् २००० मा यसको प्रयोग अमेरिकामा गरिएको थियो । एचआइभी रोक्नका लागि यसको प्रयोग गरिएको थियो । यो शरीरमा तिब्ररुपमा घुल्छ । हल्का संक्रमणका लागि रिटोनावीरको प्रयोग गरिन्छ । धेरै संक्रमण भएमा भने लोपिनावीरको प्रयोग गरिन्छ । यो औषधिले शरीरमा भाइरसको आक्रमण हुने ठाउँमा पुगेर भाइरस र मानिसको कोशिकालाई छुट्टाउने काम गर्छ । यो औषधि चीनको वुहानमा प्रयोग गरिएको थियो । १९९ बिरामीलाई दैनिक दुई पटक दुई दुई गोली दिइएको थियो । तर केही बिरामी मरेका पनि छन् । द न्यु इंग्ल्याण्ड जर्नल आफ मेडिसिनमा प्रकाशित लेखमा औषधिको सकरात्मक असरको विषयमा लेखिएको छ ।

४. रिटोनावीर, लोपिनावीर र इन्टरफेरान भिटाको मिश्रण – यो औषधि साउदी अरेबियाले मिडिलइष्ट रेस्पिरेटरी सिन्ड्रमको समयमा संक्रमित बिरामीमा प्रयोग गरिएको थियो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने टिस्युलाई नोक्सान पुर्याउँछ । त्यसको असरस्वरुप भाइरसको प्रभाव कम हुँदै जान्छ । डब्ल्युएचओका अनुसार चीन, अमेरिका, फ्रान्स, स्पेन, अर्जे्न्टिना, इरान, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायतका देश अहिले महापरीक्षणमा जुटिरहेका छन् । आशा गरिएको छ कि अबको एक महिनामा कुनै नतिजामा पुग्न सकिन्छ । अहिले सबै समयमा खराब समाचार मात्र आएको र अब भने जुुनसुकै समयमा सकरात्मक समाचार आउन सक्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १२:२७