सूचनाको शक्ति - The Power Of Information

        

कोरोना सन्त्रास : विदेशबाट आएका चार जनालाई खोज्दै बाँके प्रहरी

बाँके । फ्रान्सबाट आएकी १९ वर्षीया एक युवतीमा कोरोना भाइरसको संक्रमण देखियो । यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा आएकी ती युवतीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ । हाल ती युवतीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

तर, उनीसँगै आएका अन्य यात्रुहरु भने आ–आफ्नो घर पुगिसकेका छन् । खासगरी सँगै आएका उनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने हो, तर राखिएन । उनीहरु सहजै घर आ–आफ्नो घर पुगे । संक्रमित ती युवतीसँगै बाँकेका चार जना पनि सोही जहाजमा आए, क्वारेन्टाइनमा राखिएन । उनीहरु घर पुगे । अहिले उनीहरुलाई बाँके प्रहरीले खोजी गरिरहेको छ ।

उनीहरुसँग एउटै जहाजमा आएकी किशोरीमा संक्रमणको पुष्टि भएपछि बाँकेका चार जनाको खोजी सुरु गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । कोरोना संक्रमित किशोरी रहेको जहाजमा रहेका सबैलाई क्वारेन्टाइनमा राख्ने नीतिअनुरुप उनीहरुको खोजी भइरहेको प्रवक्ता सिंहले बताए ।

बाँके प्रहरीलाई चारैजनाको नाम र नागरिकता नम्बर पठाएर खोजी गर्न पत्र आएपछि खोजी सुरु गरिएको हो । ‘उनीहरुको ठेगाना खुलाइएको छैन । ठेगाना नखुलेकाले नागरिकता नम्बर भिडाएर ठेगाना पत्ता लगाउने कोशिष भइरहेको छ,’ प्रवक्ता सिंहले भने, ‘उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा हुनुपर्छ, हामी पत्ता लगाएर चेकजाँचका लागि पठाउँछौं ।’

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १२:१८