सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाले विश्वभर २० हजारको मृत्यु, संक्रमित मुलुकको तेस्रो नम्बरमा अमेरिका

बाँके । विश्वभर कोरोना भाइरसका कारण विश्वभर २० हजार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको रिपोर्टमा २० हजार जनाको मृत्यु भएको उल्लेख छ । विश्वका १० देशमा कोरोनाभाइरसको असर बढी परेको छ । त्यसमध्ये पहिलोमा इटली रहेको छ भने दोस्रोमा चीन रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ ।

इटलीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ भने चीनमा ३१ सय ६० जनाको मृत्यु भएको छ । स्पेनमा २८ सय ८ जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा १९ सय ३४ जना, फ्रान्समा ११ सय जना, अमेरिकामा ७७५ जना, बेलायतमा ४२२ जनाको मृत्यु भएको छ । त्यसैगरी नेदरल्यान्ड्समा २७६ जना, जर्मनीमा १५७ जना र बेल्जियममा १२२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विश्वभर कम्तीमा पनि चारलाख जनालाई यो संक्रमण देखिएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अहिलेसम्म चार लाख २० हजार जना कोरोना संक्रमित छन् । कोरोना संक्रमित भने सबैभन्दा बढी चीनमा रहेका छन् । जहाँ ८१ हजार ५९१ जनाको संक्रमित छन् । इटलीमा ६९ हजार १७६ जना संक्रमित छन् भने अमेरिकामा ५३ हजार ७४० जना संक्रमित छन् ।

कोरोना संक्रमित मुलुकको तेस्रो नम्बरमा अमेरिका

चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको पछिल्लो सिकार अमेरिका बन्न पुगेको छ । हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचीको तेस्रो नम्बरमा अमेरिका परेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या हाल ४८ हजार ७७८ पुगेको छ । वर्ल्ड मिटरका अनुसार अमेरिकामा एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने ५ हजार ४४ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाबाट अमेरिकामा ६०१ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । विज्ञहरुले युरोपपछि कोरोना इपिसेन्टर अमेरिका बन्ने चेतावनी दिएका छन् । कोरोना प्रभावितको सूचीको पहिलो नम्बरमा रहेको चीनमा ८१ हजार १७१ संक्रमित भएको र तीन हजार २७७ को मृत्यु भएको छ । त्यसैगरी दोस्रो नम्बरमा रहेको इटालीमा ६३ हजार ९२७ संक्रमित छन् भने ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यसैगरी अमेरिकापछि रहेको स्पेनमा ३९ हजार ६७६ संक्रमित रहेकोमा दुई हजार ८७७ को मृत्यु भइसकेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या कम भएपनि संक्रमणको दर भने तीव्र रहेको छ । अमेरिकाको न्युयोर्कमात्र कोरोना संक्रमितको संख्या २५ हजार पुगेको छ । अमेरिकाको ५० वटै राज्यको कुल जनसंख्याको ४३ प्रतिशतलाई घरमै बस्न आदेश जारी गरिएको छ ।

इटलीमा एकैदिन ७४३ जनाको मृत्यु

कोरोना भाइरसका कारण इटलीमा मंगलबारमात्रै ७४३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सोमबारभन्दा मंगलबार १४१ जना बढीको मृत्यु भएको छ । इटलीमा कोरानोले अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ । शनिबार ७९३ जनाको मृत्यु भएको थियो भने आइतबार ६५१ जना, सोमबार ६०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिले विश्वमा सबैभन्दा बढी इटलीमा नै कोरोनाले असर गरेको छ । संक्रमण रोक्नका लागि लामो समय लकडाउन गरिएको भए पनि महामारी नियन्त्रणमा आएको छैन ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार ०८:२०