सूचनाको शक्ति - The Power Of Information

        

आठ चरणमा यसरी जाँचिन्छ कोरोना

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १८८ देशमा फैलिसकेको छ । भाइरसको संक्रमणका कारण विश्वका १४ हजार ७४६ व्यक्तिको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने एक जना उपचारपछि घर फर्केका छन् ।

सरकारले कोरोना भारइसबाट बच्नका लागि उच्च सर्तकता अपनाइरहेको छ । तर पनि मानिसहरु दिन प्रतिदिन त्रसित भइरहेका छन् । सामान्य रुघाखोकी लाग्नेबित्तिकै कोरोना भाइरसको संक्रमण हो कि भन्दै अस्ताल पुग्नेहरु संख्या बढिरहेको चिकित्सकले बताएका छन् । चिकित्सकले भने विदेशबाट नेपाल अएका वा उनीहरुको सम्पर्कमा आएका व्यक्तिमा कोरोनाको लक्षण देखापरेको खण्डमा मात्रै नमूना संकलन गरी परीक्षण गर्ने गरेका छन् ।

उसो त संक्रमित देश वा ठाउँबाट नेपाल आएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखा पर्दा कतिपयलाई परीक्षणका लागि कहाँ जाने ? परीक्षणका लागि के गर्ने ? कोरोना संक्रमित भए नभएको कसरी थाहा पाउनेजस्ता सामान्य कुराको जानकारी नहुन सक्छ । यी विषयमा संक्रमित ठाउँबाट नेपाल आएका व्यक्ति सबैभन्दा धेरै जानकार हुन जरुरी छ । नेपालमा कोरोना भाइरस संक्रमणको नमूना परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गरिरहेको छ ।

धेरैलाई लाग्न सक्छ, उपत्यका बाहिर संक्रमणको लक्षण देखिएका शंकास्पद व्यक्ति परीक्षणका लागि के गर्ने ? के उपत्यका बाहिरका व्यक्ति परीक्षणका लागि काठमाडौँ पुग्नैपर्छ ? कोरोनाको लक्षण देखापरेका उपत्यका बाहिरका कुनै पनि शंकास्पद व्यक्ति परीक्षणका लागि काठमाडौँ पुग्न नपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा बताउँछिन् । उनले भनिन्, ‘उपत्यका बाहिरबाट परीक्षणकै लागि प्रयोगशाला पुग्नुपर्दैन । त्यहाँका स्वास्थ्यकर्मीले ‘थ्रोट स्वाब’ संकलन गरेर प्रयोगशालामा पठाउने गरेका छन् । यसका लागि प्रत्येक जिल्लामा कुरियर कम्पनी सक्रिय भएर काम गरिरहेको छ ।’

तपाईँ कुनै पनि संक्रमित देश वा ठाउँबाट नेपाल आउनुभएको छ ? यदि तपाईँमा कोरोना भाइरसका लक्षण देखापरेका छन् तर तपाईँलाई चेकजाँचका लागि कहाँ जाने कसरी गर्ने भन्ने बारेमा थाहा छैन भने यसो गर्नुहोस् । लक्षण देखा पर्नेबित्तिकै नजिकैको स्वास्थ्य संस्था तथा अस्पताल पुगी स्वास्थ्यकर्मी तथा चिकित्सकसँग परामर्श लिनुपर्छ । शंकास्पद भएको खण्डमा तपाईँ अस्पतालमै भर्ना हुनुपर्छ । त्यहाँ स्वास्थ्यकर्मीले तपाईको ‘थ्रोट स्वाब’ संकलन गर्ने छन् ।

संकलन गरिएको नमूनालाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइन्छ । नमूना परीक्षणका लागि २४ घण्टा लाग्ने भएका कारण त्यतिन्जेल तपाईँ अस्पतालमै बस्नुपर्ने हुन्छ । नमूना परीक्षणको २४ घण्टापछि रिपोर्ट सार्वजनिक गरिन्छ । रिपोर्ट पोजेटिभ आएमा तपाईँ थप उपचारका लागि अझै केही दिन आइसोलेसनमा बस्नुपर्छ । यदि रिपोर्ट नेगेटिभ आए घरमै तपाईँलाई घर पठाइन्छ । यसपश्चात घरमै बसेर आराम गर्न सकिन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १४:३९