सूचनाको शक्ति - The Power Of Information

        

डब्लुएचओका उच्च अधिकारीसँग अन्तर्वार्ता : कोरोना भाइरसको संक्रमण अन्त्य होला ?

डा.ब्रुस यल्वर्ड

डा.ब्रुस यल्वर्ड

डा.ब्रुस यल्वर्डसँग पोलियो, इबोला र अरु संक्रामक रोगविरुद्ध सक्रिय भएको अनुभव छ, र उनको ध्यान विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा केन्द्रित भएको छ । डा.ब्रुस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशकका वरिष्ठ सल्लाहकार हुन् ।

कोरोना भाइरसको महामारीविरुद्धको विश्वव्यापी अभियानमा उनीसहितको टोली शीर्ष तहमा छन् । पेशाले चिकित्सक रहेका उनीसहितको डब्लुएचओको मिसनले गएको फेब्रुअरीमा चीनमा कोरोना भाइरसविरुद्धको अभियानको प्रभावकारिताबारे अध्ययन गरेको थियो । चीनले कोरोनाविरुद्ध गरेको प्रयासको उनीहरुले स्थलगत निरीक्षण गरे ।

अहिले डा.ब्रुसले विश्वका सरकार र विश्वभर कोरोना भाइरसविरुद्ध खटिएका डब्लुएचओको टिमसँग सम्पर्क तथा आफ्नो अनुभव साटिरहेका छन् । टाइम म्यागजिनले डा.ब्रुससँग टेलिकन्फ्रेन्स मार्फत विस्तृत अन्तर्वार्ता गरेको छ । जेनेभामा रहेको कार्यालयबाट दिएको अन्तर्वातामा उनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि गर्नुपर्ने काम तथा भविष्यका बारेमा कुरा गरेका छन् ।

कोभिड–१९ को संक्रमण फैलिने क्रम जारी नै रहन्छ ?

हामीले अहिले यहाँ (संक्रमण फैलिरहेका र संक्रमण नपुगेका ठाउँ)बाट भविष्यमा के हुनसक्छ भन्ने छनक पाउन सक्छौँ । तर कोरोना भाइरसको सुरुवात भएको क्षेत्रलाई पनि हेरिनुपर्छ । यदी हामीले पछि फर्केर चीनलाई हेर्ने हो भने स्पष्ट हुन्छ ।

चीनले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि जनवरीदेखि आफ्नो सम्पूर्ण प्रयास लगायो र अहिले मार्चको मध्यमा आइपुग्दा नयाँ संक्रमण लगभग नियन्त्रणमा आएको छ । मार्चको अन्त्यसम्म अर्थात तीन महिनाको अवधिमा चीन कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने सम्भावना देखिन्छ ।

तर युरोप, उत्तर अमेरिका, मध्यपूर्वसहितका विश्वका विभिन्न क्षेत्रलाई हेर्ने हो भने हामी संक्रमण तीव्र गतिमा फैलिरहेको देख्छौँ, भाइरस अति तीव्र गतिमा फैलिरहेको छ । कोरोना भाइरसको प्रभाव अति भयावह देखिएको इटालीमा पनि संक्रमण रोकिने अवस्था कम्तिमा अहिलेका लागि देखिएको छैन ।

यी देशमा कोरोना भाइरससँगको युद्ध महिनौँ लम्बिने देखिन्छ । तर विश्वको अर्को क्षेत्र अफ्रिका तथा भारतीय उपमहाद्विपमा हेर्ने हो भने ती क्षेत्रमा कोरोनाको संक्रमण बल्ल सुरु हुन थालेको छ । यी क्षेत्रमा अति कम मात्रै केसहरु देखिएका छन्, यी क्षेत्रमा पनि संक्रमण तीव्र गतिमा फैलिन सक्ने देखिन्छ ।

अबको ६ महिनापछि कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्था कस्तो हुन्छ जस्तो लाग्छ तपाईँलाई ?

मलाई आशा छ कि हामी यो संकटबाट माथि उठ्ने छौँ । तर पनि यो रोग विभिन्न क्षेत्रमा कायम भने रहनेछ । र पनि विश्वको अधिकांश भागमा फैलिएको यो रोगको संकटबाट हामी माथि उठ्ने छौँ । तर फ्लूको संक्रमण हुने मौसम नजिकिएकाले चुनौति भने छ ।

भविष्यमा थप नजर लगाउँदा, तपाईँको अपेक्षा के छ ? कोभिड–१९ विश्वबाट निर्मुल होला ?

हामीले यो रोगको बिस्तारित संक्रमणको लहर देख्ने छौँ विश्वभर । दक्षिणीध्रुबमा केही फरक कुरा नभएसम्म । त्यसबेलाको प्रश्न हुनेछ, अब के हुनेछ ? के यो रोग पूर्णरुपमा हराउनेछ ? वा चक्रियरुपमा संक्रमण फैलिन्छ ? वा महामारीभन्दा कम तहको संक्रमणको सामना गरिरहनु पर्छ ? धेरै मानिसलाई लाग्छ कि यो पूर्णरुपमा हराउने छैन । सहजरुपमा संक्रमण हुने भएकाले संक्रमणको अझ बिस्तारित लहर वा कम मात्रामा संक्रमण कायम रहने सम्भावना देखिन्छ ।

यी सबै कुरा हामीले देश, समुदायस्तरमा कस्ता प्रयास अपनाउँछौँ भन्ने कुराले निर्धारण गर्छ । हामीले यी हरेक केसको परीक्षण गर्न सक्यौँ र आइसोलेसनमा राख्न सकियो भने संक्रमण रोक्न सकिनेछ । तर लकडाउन वा सटडाउनमा मात्रै भर परियो र हरेक केस पहिचान गरिएन भने कोरोना भाइरसको संक्रमण बारम्बार लहरका रुपमा आउने छ । त्यसैले स्पष्टरुपमा भन्दा भविष्य हाम्रो प्रयासले निर्धारित गर्नेछ ।

के कोरोना भाइरसको संक्रमणको महामारी अवश्यम्भावी थियो वा यसलाई रोक्न सकिन्थ्यो ?

म व्यर्थैमा समय बितायौँ भन्न चाहन्नँ । तर हामीले समयलाई उच्चतम रुपमा प्रयोग गर्न सकेनौँ । अहिले हामीले लकडाउन या सटडाउन गरेर समय किनेका छौँ, तर यसले भाइरसको संक्रमलाई रोक्दैन, दबाउँछ मात्रै, कम गर्छ । अब हामीले गरिरहेको प्रयास समयको सही प्रयोग गरेर परीक्षणलाई उपयुक्त स्थानमा ल्याउने हो । जसबाट हरेक केसलाई पहिचान गर्नुनै भाइरसको संक्रमण रोक्ने आधारभूत शर्त हो । तर अहिलेको ठूलो प्रश्न, के देशहरुले यो समयको सही प्रयोग गरिरहेका छन् सटडाउनको यो समयमा ? भन्ने हो ।

चीनमा फेरि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना छ ?

पक्कै पनि, चीन चिन्तित छ । हामीले चीनको भ्रमण गर्दा त्यहाँका गभर्नर, मेयरसहितका अधिकारीहरु चिन्तित देखिन्छन् । धेरै स्थानमा संक्रमण अति कम भएको अवस्थामा पनि उनीहरुमा चिन्ता देखिन्छ । अब के गर्नुहुन्छ त ? भन्दा उनीहरु हामीले शैय्याहरु थप्छौँ, भेन्टिलेटरहरु किन्छौँ, हामी तयारी थाल्छौँ भन्ने गरेका छन् । उनीहरुले भाइरस निर्मुल हुन्छ भन्ने सोचेका छैनन्, तर जीवन सञ्चालन भने रोकिने छैन भन्ने विश्वास उनीहरुमा छ ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या धेरै हुनेको कारण के होला ?

यसका धेरै कारणहरु छन् । यदी इटाली हेर्ने हो भने जापानपछि यहाँ विश्वमा सबैभन्दा धेरै वृद्ध मानिस छन् । वृद्ध मानिसमा संक्रमणको जोखिमसँगै त्यसका कारण मृत्यु हुने सम्भावना पनि बढी हुन्छ ।

कुन–कुन देशहरु सबैभन्दा जोखिममा छन् ?

सबै देशहरु संक्रमणको जोखिममा छन् । तर कम आय भएका देशहरुमा संक्रमण फैलियो भने के हुन्छ भन्ने सबैभन्दा ठूलो प्रश्न हो । अफ्रिका तथा एसियाका कम आय भएका देशहरु जहाँ पर्याप्त स्वास्थ्य सामग्री वा सेवा छैनन्, ती देशमा जोखिम उच्च छ ।

डब्लुएचओले देशहरुलाई परीक्षणमा जोड दिन आग्रह गरिरहेको छ, के यस्ता देशहरु छन् जसले पर्याप्त परीक्षण गरेका छैनन् ?

यसको सहज उत्तर अर्को तरिकाबाट दिन सकिन्छ, के कुनै देशले पर्याप्त काम गरेका छन् परीक्षणका लागि ? निकै सीमित देशहरु छनन्, चीन, दक्षिण कोरिया र सिंगापुर ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १४:२७