सूचनाको शक्ति - The Power Of Information

        

उपचारपछि फेरियो देवराजको दैनिकी

बझाङ । जयपृथ्वी नगरपालिका–१ का पाँच बर्षिय देवराज खड्का जन्मिँदै अपाङ्गता भएर जन्मिए । बझाङ्ग सदरमुकाम चैनपुरदेखि पाँच घण्टाको पैदल यात्रापछि पुगिन्छ उनको गाउँ । परिवारमा दाजु र दिदी बुवाआमा गरी ६ जना छन् । साहुको घरमा काम गरेर परिवारको दिनचर्या बित्छ । उनको परिवारमा मानसिक तनाव देखिन्छ ।

परिवारभित्रको यस्तो समस्याले गर्दा टोल छिमेकका सबैले कुरा काट्न थाले । उनकी आमा सितादेवी खड्काले भनिन्, ‘हामीले उपचारका लागि विभिन्न ठाउँमा लिने सोच बनाए पनि आर्थिक अवस्था कमजोर भएका कारण त्यो सम्भव भएन ।’ समयमै उपचार नपाएका देवराजको उमेर बढ्दै जाँदा हिँडडुल गर्न पनि अप्ठ्यारो हुन थाल्यो । उनलाई धेरै पटक घरेलु उपचार गरे पनि निको भएन । समस्या उस्तै रह्यो ।

समुदायका मानिसले अनेक कुरा काट्न थाले । उनका बुवा हाँस्या खड्काले भने, ‘एकदिन चैनपुर पुग्दा प्रगतिशील युवा समाजले यस्तो खालको बच्चाको उपचार गर्छ भन्ने थाहा पाएपछि संस्थामा गएर फारम भरे । छोरालाई प्रगतिशील युवा समाजले छनोट गरेर थप उपचारका लागि काठमाडौं पठाइयो र ६ महिनाको लामो उपचारपछि शारीरीक अवस्थामा सुधार आएर हिँड्डुलमा सहज भयो ।’ उपचार गरिसकेपछि उनको दैनिकी सहजता बनेको छ ।

उनका कुरा काट्ने समुदायका मानिसहरुको दृष्टिकोणमा पनि परिवर्तन आएको छ । ‘दैनिक हिँड्डुल गर्न सहज भएको छ,’ देवराजका बुवा हाँस्याले भने, ‘मेरो छोराको र परिवारको पालनपोषणमा समेत सहज भएको छ ।’ प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले देवराजको समस्या पूर्णरुपमा ठीक भएको बताए । उनले भने, ‘देवराजमात्रै होइन, हामीले संस्थामाफर्त धेरैको उपचारमा सहयोग गरेका छौं ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार ०७:११