सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ‘कर्फ्यू’, आठ जनामा कोरोना संक्रमणको आशंका

फाइल तस्वीर

बाँके । महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थायी क्वारेन्टाइनबाटै नेपाली भागेपछि आत्तिएको बाँके प्रशासनले मंगलबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लगाउने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसको जोखिम बढेसँगै नेपाल फर्किएका आमनागरिकलाई बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको थियो ।

तर, क्याम्पसमा आफूहरू असुरक्षित भएको महसुस गर्दै नेपालीहरू भागेपछि बाँके प्रशासनको टाउकको दुखाई भएको छ । प्रशासनको फितलो सुरक्षाका कारण क्वारेन्टाईनमा राखिएका नागरिक भागेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्लाका सबै सुरक्षा निकायका प्रमुखलाई बोलाई मंगलबार ‘जनता कर्फ्यू’ लगाउने घोषणा गरेका हुन् ।

प्रशासनको फितलो सुरक्षा र प्रमुख जिल्ला अधिकारी खड्काको चरम लापरबाहीका कारण सरकारको निर्णय र निर्देशन बाँकेमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । प्रशासकका हिसाबले पनि यहाँका प्रजिअ खड्काले आफनो अधिकार प्रयोग गर्न नसक्दा दिनप्रतिदिन समस्या र आमनागरिकमा त्रास उत्पन्न भइरहेको छ ।

सरकारले बोर्डर सील गर्न दिएको निर्देशन समेत बाँकेका सिडिओ खड्काले पूर्णरूपमा पालना गर्न सकेको देखिदैन् । संघीय सरकार र स्थानीय तह तथा बाँके प्रशासन र आमनागरिकले बोर्डर पूर्णरूपमा बन्द गर्न अपील गर्दा पनि सिडिओ खड्काले सोमबारसम्म जमुनाह नाका पूर्णरुपमा बन्द गर्न सकेका छैनन् ।

सिडिओ खड्काकै अध्यक्षतामा बसेको बैठकले यसअघि नेपालगन्जलाई लकडाउन गरिसकेको छ । तर, लकडाउनको मापदण्डविपरित प्रमुख जिल्ला अधिकारी आफै जमुनाह नाका खुल्ला गरिरहेका छन् । बजार व्यवसाय पूर्णरूपमा बन्द हुन सकेका छैनन् । बाँके प्रशासन र बाणिज्य कार्यालयले अनुगमन गर्न चासो देखाएको छैन् । बजारमा कालोबजारी छ । उपभोक्ता मारमा छन् । सिडिओ र सम्बन्धीत निकाय कानमा तेल हालेर बसेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काको ‘डिसिजन पावर लेस’कै कारण यहाँ दिनदिनै सरकारी निर्णय उल्लघन भइरहेको छ । सरकारको निर्णय आमनागरिकबाट नभई बाँके प्रशासनबाटै भएको जानकार बताउँछन् । आफ्नै निर्णय कार्यान्वयन गर्न नसकेको कारण बाँके प्रशासन र सिडिओ खड्का नै नियम पालनामा असफल देखिएका छन् ।

उनीहरुको यस्तो लापरबाही र गैरजिम्मेवारी कार्यले बाँके मात्र नभइ सिंगो देश नै कोरोना भाइरसको जोखिममा परेको छ । बाँके प्रशासन तथा सिडिओ खड्काकै लापरबाही र फितलो सुरक्षा व्वस्थापनका कारण महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थायी क्वारेन्टाइनमा पु¥याइएका नेपाली नागरिक सोमबार क्वारेन्टाइनबाटै भागेका छन् । जसका कारण बाँकेबासी निकै त्रसित बनेका छन् ।

कोरोनाको संक्रमणमा रहेको भारतबाट आएका नेपाली क्वारेन्टाइनबाटै भागेपछि नेपालगन्ज कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । आइतबार रातीदेखि बोर्डरमा रहेका करिब ५०० नेपालीलाई सोमबार बिहान नेपालगन्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर राखेको थियो । तर, क्वारेन्टाइनमा रहेका नै भागेपछि यतिबेला बाँके प्रशासन, प्रहरी र उपमहानगरपालिकाकै टाउको दुखाई भएको छ ।

क्वारेन्टाइनबाटै नेपाली भागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । क्वारेन्टाइनमा राखिएका नेपाली नै एकाएक भाग्न थालेपछि कोरोना संक्रमणको जोखिम बढेको उनले बताए । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ५५३ जना र पछि थप केही जनालाई क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये अधिकांश युवाहरु भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

नेपालगन्ज हुँदै कर्णालीका पहाडी जिल्ला जानुपर्ने भएको र दुख पाइयो भन्दै क्वारेन्टाइनमा राखिएकाहरु फरार भएका हुन् । क्याम्पसको पर्खाल नाघेर भाग्दै गर्दा प्रहरीलाई रोक्नसमेत हम्मेहम्मे परेको थियो । यसैबीच, कोरोना भाइरस आशंकित आठ जनालाई सोमबार भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । बाँके डुडुवा गाउँपालिका अन्तरगत नेपाल–भारत सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आएका शंकास्पद आठ जनालाई भेरी अस्पतालमा पठाइएको हो ।

नेपालगन्जदेखि करीब १४ किलोमिटर पूर्व बाँकेको डुडुवा गाँउपालिका–१, होलियाको खडैचा, पिप्रहवा र नयाँबस्ती पोष्टमा राखिएको हेल्थ डेस्कमा परीक्षण गर्दा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएपछि भेरी अस्पताल रिफर गरिएको हो । ‘कोरोना भाइरस आशंका भेटिएपछि थप परीक्षणका लागि आज दिउँसो एम्बुलेन्समार्फत भेरी अस्पतालमा पठाइएको हो,’ डुडुवा गाँउपालिका–२, बेतहनी स्वास्थ्य स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्माले बताए ।

भारतको महाराष्ट्रबाट कमाई गरी नेपाल फर्किएका बाँके डुडुवा गाँउपालिका–१, होलिया नयाँबस्तीका अज्ञाराम यादव, मुकेश बाहुन र शंकर यादव तथा भारतकै मुम्बईबाट नेपाल फर्किएका बाँके डुडुवा गाँउपालिका–२, बेतहनीको नौरीगौढीका रियाज दर्जी, सुधिर बर्मा, सन्तोष गोडिया, इद्रिस दर्जी र इरसानी दर्जी गरि ८ जनामा कोरोना भाइरसंग मिल्दो लक्षण देखिएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको हो । तर, भेरी अस्पतालमा कोरोना भाइरसको ल्याब टेस्ट गर्ने मेसिन भने छैन ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार २१:२१