सूचनाको शक्ति - The Power Of Information

        

भीरबाट लडेर अवस्थीको मृत्यु, महिलाको बेवारिसे शव भेटियो

फाइल तस्वीर

फाइल तस्वीर

बझाङ । घाँस काट्ने क्रममा भीरबाट लडेर बझाङमा एक महिलाको मृत्यु भएको छ । वित्थडचिर गाउँपालिका–८ की ४४ बर्षिया गौमतिदेवी अवस्थीको कोजालिङ लम्पाटा भन्ने ठाउँमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

घाँस काट्न विहान घरबाट निस्केकी उनी दिउँसोसम्म घर नआएपछि खोजी गर्दा भीरबाट २०० मिटर तल खसेको र टाउँकोमा चोट लागेर मृत्यु भएको अवस्थामा भेटिएको उनका छोरा दिपेन्द्र अवस्थीले बताए । उनका चार छोरा र दुई छोरी छन् । बझाङमा काट्ने क्रममा भीरबाट घाँस लडेर बर्षेनि दर्जन बढीले ज्यान गुमाउने गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यसैबीच, व्यवहारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बझाङको केदारस्युँ गाउँपालिका–१ स्थित डोटी र बैतडीको सीमा क्षेत्रमा पर्ने तडा नजिकैको सिगास जाने बाटो बाटोबाट २०० मिटर तल भीरमा रहेको सिउँडीको बोटमा अड्किएको अवस्थामा आज एक महिलाको शव फेला परेको हो । अन्दाजी ५० बर्षिया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

डोटीका स्थानीयहरुले गाईगोरु चराउन गएका बेला उक्त शव देखेका थिए । शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेलगत्तै बझाङ र डोटीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलबाट शवलाई निकालेर जिल्ला अस्पताल सिमखेत लैजाँदै गरेको प्रहरी निरीक्षक इन्सपेक्टर नेत्र बोहराले बताएका छन् । उनले मृतकको सनाखत नभएको र घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार २०:५४