सूचनाको शक्ति - The Power Of Information

        

क्वारेन्टाइनमा पुर्‍याएका नेपाली भागेपछि… (फोटो र भिडियासहित)

बाँके । बाँकेमा पनि कोरोना भाइरसको संक्रमण हुुन नदिन उच्च सतर्कता अपनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले नगर क्षेत्र पूर्णरुपमा ‘लकडाउन’ गरिएको छ । ‘लकडाउन’पछि नेपालगन्ज र कोहलपुर क्षेत्रभित्रका सम्पूर्ण पसल, उद्योग ब्यवसाय बन्द गरिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासँगै बाँकेका अन्य ६ वटा स्थानीय तहमा पनि उच्च सतर्कता अपनाइएको छ । जिल्लाका आठ वटै स्थानीय तहले नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिरहेका छन् । स्थानीय सरकारको आग्रह अनुसार अधिकांश बाँकेबासी ‘होम क्वारेन्टाइन’मा बसेका छन् ।

बजार क्षेत्रमा नागरिकको चहलपहल न्यून छ । भीडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालयले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवाहरु बन्द गरेका छन् । मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरुमा उच्च निगरानीसहित सेवा प्रवाह भइरहेको छ । लामो दुरीका सवारीसाधन बन्द गरिएको छ ।

स्थानीय सरकारले नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरिरहेका बेला भारतबाट आउने नेपाली नागरिक चुनौतिका रुपमा देखिएका छन् । भारतबाट नेपाल भित्रिने नेपालीहरुलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पनमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित नगर बसहरुले भारतबाट आउने नेपालीलाई जमुनाहा नाकाबाट ओसारिरहेका छन् । तर, क्वारेन्टाइनमा पर्याइएकाहरु भाग्न थालेपछि बाँकेबासी निकै त्रसित बनेका छन् भने कोरोना संक्रमणको जोखिम उच्चरुपमा बढेको छ ।

भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनबाट भाग्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमा नाका बन्द भएपछि आइतबार राती सीमावर्ती भारतीय बजार रुपैडिहा आइपुगेका ५०० बढि नेपाली नागरिकलाई उपमहानगरपालिकाले आज सोमवार क्वारेन्टाइनमा राखेको थियो । तर उनीहरु एकाएक भाग्न थालेपछि कोरोना संक्रमणको जोखिम बढेको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ५५३ जना र पछि थप केही जनालाई क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये अधिकांश युवाहरु भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । नेपालगन्ज हुँदै कर्णालीका पहाडी जिल्ला जानुपर्ने भएको र दुख पाइयो भन्दै क्वारेन्टाइनमा राखिएकाहरु फरार भएका हुन् ।

भारतमा मजदुरी गरेर नेपाल फर्किएका नेपालीलाई महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखेर सम्पूर्ण चेकजाँच पुरा गरी गाडीको ब्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पुर्‍याउने निर्णय भएसँगै उनीहरुको स्वास्थ्य जाँच गर्नका लागि महेन्द्र क्याम्पस परिसरमा लगिएको थियो ।

उनीहरुलाई पठाउने तयारी गरिरहेकै क्रममा क्याम्पसको पर्खाल नाघेर भाग्दै गर्दा प्रहरीलाई रोक्नसमेत हम्मेहम्मे परेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवं प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले बताए । नेपाल सरकारले यसको संक्रमण हुन नदिन आजदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिसकेको छ ।

जनप्रतिनिधिहरु घरघरमै पुगेर मास्क र सेनेटाइजर वितरण गरिरहेका छन् । ‘कोरोनाको संक्रमण हुन नदिन नागरिकहरु सचेत बन्नुभएको छ,’ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमूख डा.धवलसम्शेर राणाले भने । कोरोनाविरुद्ध प्रभावकारी अभियान सञ्चालन भइरहे पनि स्रोत साधनको अभावमा व्यवस्थापनमा केही समस्या देखिएको बताए ।

 

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १६:४१